चियाको संकटको समाधान गर्न माग

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली चियाको निर्यातमा देखिएको अवरोधका कारण देशभरका चिया उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । पार्टीले भारतीय पक्षले लागू गरेको गुणस्तर परीक्षणसम्बन्धी जटिल प्रक्रियाका कारण नेपाली चिया निर्यात प्रभावित भएको र सरकारले त्यसको समाधानका लागि प्रभावकारी पहल गर्न नसकेको आरोप लगाएको छ ।
पार्टीका अनुसार भारतले तथाकथित …स्ट्यान्डर्ड अपरेटिभ प्रोसिड्युर -एसओपी)Ú को नाममा नेपाली चियामाथि थप परीक्षण र जाँच प्रक्रिया लागू गरेको छ । उक्त प्रक्रियाका कारण निर्यात गरिएका चियाको नतिजा आउन लामो समय लाग्ने, अस्वीकृत भएमा सम्पूर्ण क्षति उद्योगीले नै बेहोर्नुपर्ने तथा भण्डारणको समस्या समेत उत्पन्न भएकाले चिया उद्योगहरू गम्भीर संकटमा परेका छन् ।
यसैबीच, चिया उद्योगीहरूले असार १ गतेदेखि उद्योग बन्द गर्ने सूचना जारी गरिसकेका छन् । उद्योगीहरूका अनुसार हाल भारतमा निर्यात गरिएका दुई लाख किलोभन्दा बढी चिया अलपत्र अवस्थामा रहेको छ भने नेपालका उद्योगहरूमा १० लाख किलोभन्दा बढी चिया पत्ती थन्किएको छ । यसका कारण उद्योगीहरूले किसानलाई चिया पत्तीको भुक्तानी दिन समेत नसकेको अवस्था सिर्जना भएको बताइएको छ ।
पार्टीले चिया उद्योग र किसानको समस्याप्रति सरकार उदासीन बनेको आरोप लगाएको छ । छिटो सेवा प्रवाह र सुशासनको प्रतिवद्धता व्यक्त गर्दै आएको वर्तमान सरकारले समस्या समाधानका लागि आवश्यक कूटनीतिक पहल गर्न नसकेको भन्दै उद्योगी र किसानहरू निराश बनेको विज्ञप्तिमा उल्लेख छ ।
नेकपाले नेपाल सरकारलाई भारतीय पक्षसँग तत्काल उच्चस्तरीय संवाद गरी निर्यात अवरोध हटाउन पहल गर्न, चिया उद्योगी तथा उत्पादक किसानले व्यहोरेको क्षतिको उचित क्षतिपूर्ति व्यवस्था गर्न तथा नेपाली चियाको अन्तर्राष्ट्रिय बजार सुनिश्चित गर्न आग्रह गरेको छ । पार्टीले चिया क्षेत्र नेपालको महत्वपूर्ण कृषि–आधारित उद्योग भएकाले यसको संरक्षण र प्रवद्र्धनमा राज्य गम्भीर बन्नुपर्ने उल्लेख गर्दै समस्या समाधानमा ढिलाइ भए उद्योगी र किसान आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ । पार्टीका संयोजक लोकनारायण सुवेदीद्वारा जारी विज्ञप्तिमा चिया उद्योगको संकटले हजारौं किसान र श्रमिकको जीविकोपार्जनमा प्रत्यक्ष असर पर्ने भएकाले सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने माग गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *