नागरिक लगानी र एभरेष्ट बैंकबीच सम्झौता

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । बुधबार सम्पन्न सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट निर्देशक नवराज खड्का र एभरेष्ट बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार एभरेष्ट बैंकमा स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको योगदानमा आधारित तथा गैर–योगदानमा आधारित उपदान कोष र अतिरिक्त अवकाश कोषको व्यवस्थापन तथा कार्यान्वयन नागरिक लगानी कोषले गर्नेछ ।
कोषले सहभागी कर्मचारीहरूको व्यक्तिगत खाता तयार गरी परिचयपत्र उपलब्ध गराउने, बैंकबाट प्राप्त रकम तथा विवरणका आधारमा खाताहरू अद्यावधिक गर्ने तथा बैंकको सिफारिसका आधारमा सेवानिवृत्त कर्मचारीहरूलाई प्रचलित कानूनअनुसार करकट्टा गरी अवकाश रकम भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।
सम्झौताअनुसार कर्मचारीहरूले कोषमा जम्मा गरेको रकमबाट आर्जित ब्याज, प्रतिफल तथा अन्य अतिरिक्त सुविधाहरू कोषको नियमावलीबमोजिम प्राप्त गर्नेछन् । त्यसैगरी, आयकर ऐन, २०५८ बमोजिम स्वीकृत अवकाश कोषमा रहेका कर्मचारीहरूको साविकको मौज्दात रकम तथा बहाल रहेका कर्जासमेत नागरिक लगानी कोषमा रकमान्तर गरी समायोजन गरिने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ ।
यो सम्झौतासँगै एभरेष्ट बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *