पत्रकारितामा एआई प्रयोगसम्बन्धी प्रशिक्षण

Nayabimarsha (Weekly Newspaper from Nepal)

धनकुटा/ नेपाल पत्रकार महासंघ सुनसरी शाखाको आयोजनामा पत्रकारितामा कृत्रिम बौद्धिकता -एआई) को प्रयोगसम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम धनकुटाको भेडेटारमा सम्पन्न भएको छ ।
गत जेठ २४ र २५ गते आयोजित उक्त कार्यक्रममा सुनसरी जिल्लाका ५० भन्दा बढी क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो । प्रशिक्षक प्रवेश सुवेदीले बदलिँदो पत्रकारिताको परिवेशमा एआईको महत्व दिनप्रतिदिन बढ्दै गएको बताउँदै समाचार संकलन, सामग्री निर्माण, तथ्य खोज तथा प्रमाणीकरण, तस्बिर संकलन लगायत कृषि, स्वास्थ्य तथा अन्य विविध क्षेत्रका सूचनाहरू प्राप्त गर्न एआई उपयोगी माध्यम बन्न सक्ने धारणा राखे । उनले आगामी दिनमा पत्रकारिता क्षेत्रमा एआईको प्रयोग अझ व्यापक हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेवेले साइबर अपराधसम्बन्धी समाचार सम्प्रेषण गर्दा पत्रकारहरूले अपनाउनुपर्ने सावधानीका विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि महासंघ निरन्तर रूपमा राज्यसँग पहल र संघर्ष गर्दै आएको बताए । उनले पत्रकारहरूको हकहित, पेशागत सुरक्षा तथा आयआर्जनको सुनिश्चितताका लागि पत्रकारहरू स्वयं पनि इमानदार, जिम्मेवार र पेशाप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्लेले उक्त प्रशिक्षण कार्यक्रमलाई कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग प्राप्त भएको जानकारी गराएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *