मधेश प्रदेशमा कुपोषणको जटिल बढी चुनौती

Nayabimarsha (Weekly Newspaper from Nepal)
– रमेश चन्द्र न्यौपाने
वरिष्ठ जनस्वास्थ विज्ञ

मानिसको जीवनको लागि खाना र स्वास्थ एक आपसमा नभई नहुने ज्यादै महत्वपूर्ण विषय हो । मानिसहरुले यो विषयलाई ध्यान नदिएको कारणहरुले गर्दा दिन प्रतिदिन मानिसहरुलाई पोषणविज्ञ लगायत अन्य विषयको अलवा विशेष गरी खाने विषयमा ध्यान नदिएका कारणहरुले गर्दा समस्या बढेको छ । संसारमा अन्य देशहरुमा भन्दा हाम्रो देश नेपालमा कुपोषण विषय जनस्वास्थ्यको प्रमुख समस्या र चुनौती भएको छ । हाल सालै भएको विभिन सर्भे र अध्ययनले नेपालका सातै प्रदेश त्यसमा पनि मधेश प्रदेशमा त झन कुपोषण समस्या जटिल हुदै गएको हुँदा यसमा यो सरकारले विशेष ध्यान दिनुपर्ने छ ।
खाना सम्बन्धि -पोषण विषय) आधारभूत विषयमा सम्पूर्ण मानिसहरुले विशेष ध्यान नदिएको अवस्था कुपोषणको समस्याले उग्ररुप लिन सक्दछ । मानिसलाई हरेक प्रकारका रोगहरु लाग्न सक्ने चुनौतीलाई कुपोषण हुने कारणहरु पहिचान गरी यसको जटिल समस्यालाई सबै साधारणदेखि विज्ञसँग जानकारी गराउनुपर्ने देखिन्छ । त्यसैले सबै मानिसहरुले खानाको बारेमा जान्नुपर्ने जरुरी छ ।
मानिसको लागि समेत सम्पूर्ण जीव जति सबैलाई खाना नै मुख्य विषय हो । मानिसले खाने खानाहरु दुई बस्तुबाट प्राप्त हुन्छ – एउटा बनस्पति र अर्को जनावर । मानिसलाई चाहिने आवश्यक खानेकुराहरु विशेष गरी मोटामोटी रुपमा पाँच समूहमा वर्गीकरण गरिएको छ । पोषणका विज्ञहरुले दिएको जानकारी अनुसार मानिस स्वास्थ्य सधैँ स्वस्थ राख्नको लागि यसरी वर्गीकृत गरिएका पाँच समूहका खानाहरु अनिवार्य रुपमा खानु पर्दछ । कुनै पनि मानिसले कुन खाना कति खाने सम्बन्धमा उसको उमेर शरीरको अवस्था, कुनै रोगको संक्रमण, कामको प्रकृति लगायतलाई विचार पुयाउनु पर्दछ । सबैको लागि सबै खाना बराबर हँदैन तर पोषणयुक्त सन्तुलित भोजनको लागि भने सबै मानिसहरुले पाँचै समूहका खाना खानु पर्दछ ।
खानामा राम्रो ध्यान दिने हो भने धेरै किसिमका रोगहरु मानिसलाई लाग्न सक्दैन । पोषणविज्ञका अनुसार मानिसहरुले खानै पर्ने पाँचवटा खानाहरु हुन् कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिजहरु र कतै पानी पनि उल्लेख गरिएको छ । यी माथि उल्लेखित पोषण तत्वहरु हामीले खाने खानाहरुमा नै पाइन्छ, नखाए नै रोग लाग्दछ । ती तत्वका श्रोतहरु के के हुन् भन्ने कुरा धेरै नै आवश्यक पर्दछ । अब हाम्रो समाजमा किन मानिसहरुले पोषणयुक्त खाना खाँदैनन् त ? विश्वमा अन्य धेरै देशहरुमा कुपोषणको समस्या जनस्वास्थ्यको सबै भन्दा ठूलो चुनौती भएको छ । अन्य देशको भन्दा नेपालमा कुपोषणको चुनौतीपूर्ण हुनुमा धेरै कारणहरु छन् त्यसमा पनि मुख्य समस्याहरु हुन् अशिक्षा, गरिबी, अन्धविश्वास, अनावश्यक चालचलन, सम्बन्धित विषयमा आवश्यक जानकारीको अभाव, अल्छी बानी, हेलचेक्य्र्राइँ, जसको पनि कुरा सुन्ने प्रवृति, घरमा भन्दा बाहिरको खाना धेरै खाने बानी, जंक फुडको लत, खानामा विभिन्न विषादीको प्रयोग, जनचेतनामा कमि, सरकारको कम चासो आदि हुन् ।
यसता कारणहरुले गर्दा हाल नेपालमा मानिसहरु कुपोषणको असरले गर्दा खानामा भन्दा धेरै मानिसले औषधिमा बढी धनराशी खर्च गर्न परेको छ । यसै सन्दर्भमा मधेश प्रदेश सरकारले आफ्नो प्रदेशको पोषण स्थिति सार्वजनिक गरेको छ ।


नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर सर्भे २०२५ को सर्वेक्षणअनुसार मधेश प्रदेशमा १५ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूमा गर्भवती हुने दर प्रतिहजारमा ७१ जना छ । नेपालमा यो कर्णालीपछिको दोस्रो उच्च स्थान हो । कर्णाली प्रदेशमा यसै उमेर समूहमा प्रतिहजारमा ७७ जना गर्भवती हुन्छन् भने देशभरि यो उमेरमा प्रतिहजारमा ४८ जना किशोरीहरू गर्भवती हुने गरेको तथ्यांक छ ।
…हामीकहाँ उपचारका लागि आउनु हुने अधिकांश महिलाहरूमा रक्तअल्पता, कम तौल र शारीरिक कमजोरीको समस्या हुन्छ,Ú स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. राखी साह भन्छिन्, …कम उमेरमा गर्भधारण गर्ने, आफैं कुपोषित भएर बच्चा जन्माउँदा त्यो पनि कुपोषित नै हुने र अधिकांश महिलाहरूमा अहिले बाँझोपनको समस्या पनि निकै बढेको छ ।
कुपोषणलाई पोषक तत्त्वहरूको अपर्याप्त वा असन्तुलित सेवनबाट उत्पन्न हुने अवस्थाका रूपमा परिभाषित गरिएको छ, जसले स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । यसले क्यालोरी, प्रोटिन, भिटामिन र खनिजहरूको अपर्याप्त सेवनद्वारा सिर्जित …न्यून पोषणÚ र अत्यधिक क्यालोरी सेवन तथा मोटोपनसँग सम्बन्धित …अत्यधिक पोषणÚ दुवैलाई समेट्छ । कुपोषणले सबै उमेरका व्यक्तिहरूलाई असर गरे पनि विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घकालीन रोग भएकाहरूजस्ता कमजोर जनसंख्यामा बढी घात गर्छ । कुल प्रजनन दर २.७ प्रतिशत रहेको मधेश प्रदेशमा २३.४ प्रतिशत जन्म स्वास्थ्य संस्था बाहिर -अधिकांश घरमा) हुने गर्दछ भने ७६.६ प्रतिशतले मात्र स्वास्थ्य संस्थामा बच्चा जन्माउने गर्दछन् । मातृ मृत्युदरको अवस्था पनि यस प्रदेशमा भयावह छ । देशभर प्रतिलाख जीवित जन्ममा १५१ जनाको मातृमृत्यु हुने गर्दछ भने मधेश प्रदेशमा प्रतिलाख महिलाहरू आमा बन्दा त्यसमध्ये १४० जनाले ज्यान गुमाउने गर्दछन् । ५ वर्षमुनिका बालबालिकाको उमेरअनुसार उचाइ वा लम्बाइको अवस्था हेर्दा यस प्रदेशमा पुड्कोपनको समस्या भोगिरहेका बालबालिकाको संख्या २ लाख ७ हजार ४९४ छ, जुन अन्य प्रदेशहरूको तुलनामा सर्वाधिक हो ।
मधेशपछि दोस्रोमा लुम्बिनी प्रदेश पर्दछ, जहाँ बालबालिकाहरूमा पुड्कोपनको संख्या १ लाख १४ हजार ४४३ छ । त्यसपछि तेस्रो नम्बरमा कोशी प्रदेश -७३ हजार १५६) छ । बागमती प्रदेशमा ६५ हजार ७ सय ९९, कर्णाली प्रदेशमा ५५ हजार ७ सय २ र सुदूरपश्चिम प्रदेशमा ४९ हजार १०० बालबालिकामा यो समस्या छ । सबैभन्दा कम गण्डकी प्रदेशमा ३१ हजार ४ सय ६३ बालबालिका पुड्कोपनको समस्या भोगिरहेका छन् । पोषण सर्वेक्षण २०२३ को तथ्यांकअनुसार मधेश प्रदेशमा जिल्लागत रूपमा ६ देखि ५९ महिनाका बालबालिकाहरूमा पुड्कोपनको प्रतिशत हेर्दा सबैभन्दा बढी महोत्तरीमा ३१ प्रतिशत बालबालिका पुड्का छन् । यसैगरी सबैभन्दा कम पर्सामा २४ प्रतिशत बालबालिकामा यो समस्या छ ।
बालबालिकाहरूमा ख्याउटेपनको समस्या पनि सबैभन्दा बढी मधेशमै छ । यहाँ ४० हजार ३ बालबालिका ख्याउटेपनबाट ग्रसित छन् । सर्वेक्षणअनुसार जिल्लागत रूपमा ६ देखि ५९ महिनाका बालबालिकामा सबैभन्दा बढी धनुषा जिल्लामा २२ प्रतिशत बालबालिकाहरूमा यो समस्या छ भने सबैभन्दा कम पर्साका बालबालिकाहरू ख्याउटेपनबाट ग्रसित छन् । ५ वर्षमुनिका बालबालिकाहरूमा मध्यम तथा गम्भीर प्रकृतिको अधिक तौलको अवस्था हेर्दा यस प्रदेशमा ५ हजार ३ सय ३७ बालबालिका अधिक तौलको शिकार छन् ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक अनुसार मधेश प्रदेशमा ६ देखि ५९ महिनाका बालबालिकाहरूमध्ये ५०.६ प्रतिशतमा रक्तअल्पताको समस्या छ । संख्यात्मक रूपमा यो ३ लाख ३७ हजार ५ सय ९४ हुन आउँछ । नेपालका अन्य सबै प्रदेशभन्दा मधेशमा बालबालिकाको रक्तअल्पता समस्या सर्वाधिक छ ।
त्यसैगरी मधेशका १५ देखि ४९ वर्षका महिलाहरूमध्ये ५२ प्रतिशतमा रक्तअल्पताको समस्या छ । संख्यात्मक रूपमा ८ लाख ९५ हजार ६ सय ६७ महिलाहरू रक्तअल्पताको समस्या भोगिरहेका छन् । अव्यवस्थित खानपान, जनचेतनाको कमी र सानै उमेरदेखि राम्रो स्याहार नहुनाले पनि मधेशमा रक्तअल्पताको समस्या बढेको हो,Ú मातृ तथा नवशिशु शाखा, मधेश प्रदेशकी प्रमुख प्रतिभा सिंह भन्छिन्, …रक्तअल्पताकै कारण मधेशका अधिकांश महिलाहरू प्रसूतिका क्रममा जोखिममा पर्ने र ज्यानै गुमाउने खतरा बढ्ने गर्छ । अर्कोतर्फ यस्ता महिलाहरूबाट जन्मिएका बालबालिकाहरू कुपोषित हुने सम्भावना पनि निकै बढेर जान्छ । बालबालिकाहरू पनि सुस्त हुने तथा उनीहरूले पढाइ एवं अतिरिक्त क्रियाकलापहरूमा राम्ररी ध्यान दिन नसक्ने जस्ता समस्याहरू छन् । रक्तअल्पता एक यस्तो अवस्था हो, जसमा रगतमा स्वस्थ रातो रक्तकोशिकाको अपर्याप्त मात्राका कारण शरीरका तन्तुहरूमा अक्सिजन आपूर्ति कम हुन्छ । यो अवस्थाले पर्याप्त अक्सिजन ढुवानी गर्ने रगतको क्षमता घटाउँछ, जसले गर्दा व्यक्तिलाई कमजोर र थकित महसुस गराउँछ ।विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरि लगभग दुई अर्थ मानिसहरूमा रक्ताल्पताको समस्या छ र यो विश्वव्यापी रूपमै सबैभन्दा सामान्य पोषण विकार बनेको छ ।
दिगो विकास लक्ष्यमा कुपोषणबाट पार पाउनु दिगो विकास लक्ष्यअनुसार सरकारले अबको ४ वर्ष अर्थात् सन् २०३० सम्ममा ५ वर्षमुनिका रक्षा गर्न सकिने नवजात शिशु तथा बालमृत्युदरको अन्त्य गर्ने लक्ष्य लिएको छ । यसमा प्रतिहजार जीवित जन्ममा नवजात शिशुमृत्युलाई कम्तीमा १२ र ५ वर्षमुनिका बालमृत्यु दरलाई कम्तीमा २४ मा सीमित गर्ने लक्ष्य छ । मधेशमा देखिएको नवजात शिशु मृत्युदर र ५ वर्षमुनिको बाल मृत्युदरको अवस्थाले यो लक्ष्य पूरा गर्न चुनौतीपूर्ण देखाउँछ । पुड्कोपन सन् २०३० सम्ममा १५ प्रतिशतमा झार्ने लक्ष्य छ तर मधेशमा यो पनि चुनौतीकै रूपमा रहेको छ । दिगो विकास लक्ष्यले ख्याउटेपनलाई न्यूनतम ४ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ तर मधेशको वर्तमान परिस्थितिले यो सम्भव देखिँदैन । …कुपोषणको समस्या समाधान गर्न यस प्रदेशमा सबैभन्दा ठूलो समस्या समन्वयको छ । यति विकराल स्वास्थ्य समस्याका विषयमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नै छैन । विषयगत क्षेत्रहरूबीच पनि समन्वय नहुनु दुःखद छ,Ú मधेश प्रदेश नीति आयोगका पूर्वअध्यक्ष डा. सोहन साह भन्छन्, सामुदायिक स्तरमा, ग्रामीण स्तरमा र पारिवारिक स्तरमा पोषणको सम्बन्धमा व्यवहार परिवर्तन नै हुन सकेको छैन । सचेतनाको अभाव छ । हाम्रो समग्र कृषि उत्पादन हेर्ने हो भने हामी विशेष गरी खाद्यान्न बालीको उत्पादनमा केन्द्रित छौं । विविधतायुक्त आहारहरूको उत्पादन हाम्रो प्रदेशमा निकै कम हुने गर्दछ । यो एउटा नीतिगत समस्या पनि हो किनकि सरकारले विविधतायुक्त खाद्य पदार्थको उत्पादनमा खासै अनुदान प्रदान नगर्दा किसानहरूले त्यतातिर ध्यान दिएका छैनन् ।
प्रदेशमा कुपोषणलाई न्यूनीकरण गर्न तथा मातृशिशु स्वास्थ्य सुधारका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको मधेश प्रदेशसभाका सभामुख रामआशिष यादव बताउँछन् । पोषण केवल स्वास्थ्य क्षेत्रसँग मात्र सीमित नभई शिक्षा, कृषि, खानेपानी, सरसफाइ तथा सामाजिक चेतनासँग जोडिएको विषय भएकाले त्यसलाई समृद्ध बनाउन दीर्घकालीन नीति, व्यावहारिक योजना तथा प्रभावकारी कार्यान्वयन अपरिहार्य छÚ यादव भन्छन्, यसका लागि तीनै तहले प्रभावकारी समन्वय र सहकार्य गर्नु आवश्यक छ । मधेश प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिका सभापति रूपाकुमारी यादव प्रदेश सरकारले अबको बजेटमा महिलाको स्वास्थ्य, बालअधिकार तथा पोषण सुरक्षालाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने बताउँछिन् । ग्रामीण तथा विपन्न समुदायमा अहिले पनि पोषणसम्वन्धी चेतनाको अभाव देखिएकाले स्थानीय तहसँग सहकार्य गरेर चेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता उनी देख्छिन् ।
सार्वजनिक गरेको कारणबाट मधेश प्रदेशको पोषण स्थितिले के स्पष्ट गरेको छ भने नेपाल अधिराज्यका ७७ वटा जिल्ला ७५३ पालिका र ६,७४३ वडाहरुमा बसोबास गर्ने मानिसहरुमा कुपोषणको समस्या जटिल भई रहेको छ । हाल नेपालीले खाने दैनिक खानामा प्राय जसो ७०Ü खाना कार्बोहाइड्रेट मात्र हुन्छ जसले गर्दा कुपोषणले जनस्वास्थ्य क्षेत्रमा गम्भीर र चुनौतीपूर्ण समस्याको रुपमा खडा भएको छ । यो समस्याको समाधान गर्नको लागि तीनै तहमा सरकारले नीति योजना कार्यक्रम र बजेट बनाउँदा मानिसको स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्ने आवश्यक छ । कुपोषणको समस्या झन् बढी चुनौतिपूर्ण हुन सक्दछ । स्वास्थ्य नै धन भन्ने नारा केबल नारामा मात्र सीमित हुने र मानिसको स्वास्थ्यमा झन् गम्भीर हुने बारे सतर्क हुनुपर्ने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *