लयर्स फुटसल कप मा नेपाल न्याय

Nayabimarsha (Weekly Newspaper from Nepal)
सञ्जीव दुलाल

भक्तपुर/ कानून व्यवसायी, न्यायाधीश, अदालतका कर्मचारी तथा न्याय प्रशासनसँग आवद्ध विभिन्न निकायबीच आपसी सम्बन्ध, सहकार्य र व्यावसायिक सद्भावलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजित लयर्स फुटसल कप–२०८३ सम्पन्न भएको छ । भक्तपुर बार एसोसिएसनको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा चार जिल्लाका बार एसोसिएसन, जिल्ला अदालत, कानूनी सेवा प्रदायक संस्था तथा कानून फर्मका गरी १४ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष विजयप्रसाद मिश्रले न्याय क्षेत्रमा कार्यरत व्यक्तिहरूबीच व्यावसायिक सम्बन्धलाई थप प्रगाढ बनाउन यस्ता खेलकुदमूलक कार्यक्रम प्रभावकारी माध्यम बन्ने बताउनुभयो । उहाँले कानून व्यवसायीको भूमिका अदालतभित्र बहस–पैरवीमा मात्र सीमित नभई आपसी समझदारी, सहकार्य र सामाजिक उत्तरदायित्व प्रवद्र्धनमा पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै यस्ता गतिविधिलाई निरन्तरता दिन जिल्ला बारहरूलाई आग्रह गर्नुभयो ।
समापन कार्यक्रममा भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश नवराज दाहाल, जिल्ला न्यायाधीशहरू, नेपाल बार एसोसिएसनका पदाधिकारी तथा विभिन्न जिल्लाका वरिष्ठ कानून व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रतियोगितामा भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेपलाञ्चोक बार एसोसिएसनका टोली, जिल्ला अदालतका प्रतिनिधि, कानूनी सेवा प्रदायक संस्था तथा कानूनी फर्महरू सहभागी भएका थिए । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग चरणका खेल दुई हाफमा सात–सात मिनेट तथा नकआउट चरणका खेल दुई हाफमा १०–१० मिनेटको अवधिमा सञ्चालन गरिएको थियो ।
प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै …नेपाल न्यायÚ ले उपाधिमाथि कब्जा जमायो । भक्तपुर बार …एÚ उपविजेतामा सीमित रहँदा काठमाडौं बार …सीÚ तेस्रो र भक्तपुर बार …बीÚ चौथो स्थानमा रह्यो । विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई ट्रफी, सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
भक्तपुर बार एसोसिएसनका अध्यक्ष रामसुन्दर खाइतुका अनुसार प्रतियोगिताले कानून व्यवसायीबीच स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । उहाँले आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक सहभागितासहित निरन्तरता दिने तयारी भइरहेको जानकारी दिनुभयो ।
एसोसिएसनका सचिव अनिस सुवालका अनुसार प्रतियोगिता सफल बनाउन नेपाल टेलिकम, नेपाल इको प्यानल, अयुप इन्टरनेशनल, महालक्ष्मी इन्टरप्राइजेज प्रा.लि., श्रीभक्त कासिछ्वा, नेपाल लक्ष्मी फेसन प्रा.लि. लगायत विभिन्न संस्था तथा कानून व्यवसायी फर्मले सहयोग गरेका थिए । संवाहक मिडिया हाउस र नागरिक दैनिक मिडिया पार्टनर तथा मध्यपुर अस्पताल प्रा.लि. स्वास्थ्य साझेदारका रूपमा सहभागी रहेका थिए ।
आयोजकका अनुसार प्रतियोगिता केवल खेलकुदमा सीमित नभई कानून व्यवसायी, न्यायाधीश, अदालतका कर्मचारी तथा न्याय प्रशासनसँग आवद्ध विभिन्न निकायबीच आत्मीयता, विश्वास र सहकार्यको वातावरण निर्माण गर्ने साझा मञ्चका रूपमा स्थापित भएको छ । सहभागीहरूले पनि यस्ता कार्यक्रमले व्यावसायिक सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै न्याय क्षेत्रभित्र सकारात्मक कार्यसंस्कृति विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *