काठमाडौं/ महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतमार्फत आम श्रोतामाझ पुरयाउने उद्देश्यले तयार गरिएको गीति एल्बम् जागृति राजधानी काठमाडौंमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको छ ।
मिलापको आयोजनामा सम्पन्न कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहालका श्वेतपत्र महाकाव्य र योद्धा काव्यबाट चयन गरिएका गीतहरू समेटिएको एल्बम् लोकार्पण गरिएको हो । कार्यक्रममा शिक्षाविद् डा. यज्ञेश्वर निरौला प्रमुख अतिथि तथा मिलापका प्रधान सम्पादक कृष्ण भुसाल सभापतिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
स्वागत मन्तव्यका क्रममा गायक रमेश पाठकले साहित्यलाई संगीतमार्फत विशेषगरी युवा पुस्तासम्म पुरयाउनु समयको आवश्यकता भएको बताउँदै जागृति नेपाली साहित्यलाई श्रव्य–दृश्य माध्यमबाट नयाँ पुस्तासँग जोड्ने महत्त्वपूर्ण अभियान हुने विश्वास व्यक्त गर्नुभयो । एल्बम्मा …बुद्धको देश नेपाल, …लालीगुराँसको साटो, …बित्छ बिहान आमाको, …फुल्छ बागमा फूल र गाउँछौ अब लौ आमाका गीत गरी पाँच गीत समावेश छन् । गीतहरूमा राष्ट्रप्रेम, मातृत्व, प्रकृतिप्रेम, सांस्कृतिक गौरव र मानवीय संवेदनाका विविध पक्ष समेटिएका छन् ।
तीन गीतमा कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठको श्वर रहेको छ भने …बित्छ बिहान आमाको मा वरिष्ठ गायिका ज्ञानु राणा र गाउँछौ अब लौ आमाका गीत मा रमेश पाठकको श्वर सुन्न सकिन्छ । सम्पूर्ण गीतमा संगीत पनि सन्तोष श्रेष्ठकै रहेको छ ।
शुभकामना मन्तव्यका क्रममा चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा तथा वरिष्ठ साहित्यकार राधेश्याम लेकालीलगायतले महाकाव्यलाई संगीतमार्फत जनमानससम्म पु¥याउने प्रयासले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
संगीतकार सन्तोष श्रेष्ठले महाकाव्यका श्लोकलाई गीतमा रूपान्तरण गर्नु चुनौतीपूर्ण भए पनि मूल छन्द, लय र भावलाई जोगाउने प्रयास गरिएको बताउनुभयो । महाकाव्यकार खेमनाथ दाहालले आफ्ना काव्यका श्लोक गीतका रूपमा श्रोतामाझ पुग्न थालेकोमा खुशी व्यक्त गर्दै यस अभियानमा संलग्न सबैप्रति आभार प्रकट गर्नुभयो ।
प्रमुख अतिथि डा. यज्ञेश्वर निरौलाले साहित्य र संगीत एकअर्काका परिपूरक विधा भएको उल्लेख गर्दै यस्ता सिर्जनात्मक प्रयासले नेपाली भाषा, साहित्य, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणमा दीर्घकालीन योगदान पुरयाउने विश्वास व्यक्त गर्नुभयो ।
सोही अवसरमा साहित्यकार डा. विलोल पोखरेललाई साहित्य तथा संस्कृतिमा पुरयाएको योगदानको कदरस्वरूप मिलाप कभर सम्मान प्रदान गरिएको थियो । सम्मान ग्रहणपछि उहाँले सिर्जनाको सम्मान समग्र साहित्यिक समुदायको सम्मान भएको धारणा राख्दै आफ्नो कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै सभापति कृष्ण भुसालले साहित्य र संगीतको सहकार्यले नेपाली सिर्जनशीलतालाई नयाँ आयाम दिएको उल्लेख गर्दै जागृति नेपाली साहित्य र संगीतको साझा सम्पदाका रूपमा दीर्घकालसम्म स्मरणीय रहने विश्वास व्यक्त गर्नुभयो । समारोहमा साहित्य, संगीत र सञ्चार क्षेत्रका विभिन्न स्रष्टा, कलाकार तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
जागृति गीति एल्बम् सार्वजनिक
Facebook Comments Box
