नगर प्रमुखमा कांग्रेसकी महिला

Nayabimarsha (Weekly Newspaper from Nepal)

खोटाङ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको नवनिर्वाचित प्रमुखको घोषणासँगै नयाँ इतिहास कोरिएको छ । नेपाली कांग्रेसले नगरको प्रमुखमा उम्मेदवार बनाएका महिलाहरुमध्ये पहिलो निर्वाचित हुनेमा उक्त नगरपालिकाका प्रमुख पर्न गएकी छिन् ।

कांग्रेसबाट उम्मेदवार बनेकी ४० वर्षीया विमला राईले आफ्ना प्रतिद्वन्द्वीलाई तीन सय १५ मतको अन्तरले हराएकी हुन् । राईले छ हजार तीन सय १७ मत ल्याउँदा नेकपा (एमाले) का ५६ वर्षीय खडेन्द्र राई पाँच हजार नौ सय ६६ मत ल्याएर पराजित भएका छन् । यसअघिको निर्वाचनमा राई उप प्रमुखमा निर्वाचित जनप्रतिनिधि हुन् ।

कांग्रेसले काठमाडौं महानगरको प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाएर महिलाको सम्मान गरे पनि पछिल्लो मत गणना अनुसार उनले जित निकाल्न सकेकी छैनन् । यसैगरी काठमाडौंकै टोखा नगरपालिकामा प्रमुख बनेकी रजनी थापाले एक सय ७४ मतको फरकमा निर्वाचन हार्नु परेको अवस्था छ । यस्तो अवस्थामा राईले नगर प्रमुखमा जित निकालेर हालसम्मको गणनामा कांग्रेसबाट नगर प्रमुखमा विजय निकाल्ने पहिलो महिला बनेकी छिन् ।

यसैगरी उक्त नगरपालिकाको उप प्रमुखमा कांग्रेसका ३३ वर्षीय रमेशकुमार राउत पाँच हजार नौ सय ३४ मतसहित विजयी भएका छन् । राउतसँग माओवादी केन्द्रका ५१ वर्षीय अमेम्बर राई पाँच हजार छ सय ६१ मत ल्याएर पराजित भएका छन् ।

हलेसी तुवाचुङ नगरपालिकामा ११ वटा वडा छन् । कांग्रेसले आठवटा वडामा जित निकालेको छ । एमालेले दुइटा र माओवादीले एउटा वडामा जितेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *