तिहारमा फूलको विकल्पले प्रदूषण

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय

तिहार उज्यालो, उमङ्ग र आत्मीयताको पर्व हो । घरआँगनमा सयपत्री र मखमलीका माला सजिँदा, दियो बल्दा र फूलको सुगन्ध फैलिँदा मात्रै तिहारको मौलिकता झल्किन्छ । पछिल्ला वर्षहरूमा तिहारको यही मौलिक दृश्यमा एउटा अस्वाभाविक प्रवृत्ति थपिँदै गएको छ कि प्राकृतिक फूलको सट्टा प्लास्टिकका कृत्रिम फूलले बजार र घर सजाउने चलन । यस वर्षको तिहारमा पनि काठमाडौं उपत्यकादेखि देशका विभिन्न स्थानसम्म कृत्रिम फूलको कारोबार भएको देखियो । काठमाडौं महानगरपालिकाले समेत प्लास्टिकजन्य कृत्रिम फूलको प्रयोग तथा बिक्री वितरण नगर्न आग्रह गर्दै त्यसो गरेको पाइएमा कारबाही गर्ने चेतावनीसहित सूचना जारी गरेको थियो । यस्ता आग्रह र चेतावनीका बाबजुद बजारमा कृत्रिम फूलको उपस्थिति कम भएन । अझ विडम्बना त नेपाली किसानले उत्पादन गरेका प्राकृतिक फूल बिक्री नभएर खेर जाने अवस्था देखिँदा प्लास्टिकका फूल भने आकर्षक सजावटका नाममा किनबेच भइरहनु हो । यो केवल उपभोक्ताको रोजाइमा आएको परिवर्तन मात्र होइन, हाम्रो सांस्कृतिक चेतना, वातावरणीय जिम्मेवारी र स्वदेशी उत्पादनप्रतिको व्यवहारसँग जोडिएको विषय हो । फूलको सुन्दरता त्यसको चमकमा मात्र हुँदैन, त्यसले बोकेको प्राकृतिक सुगन्ध, ताजापन र उत्पादनमा जोडिएको किसानको श्रममा पनि हुन्छ । बजारमा कृत्रिम वस्तुको आकर्षण बढ्दै जाँदा प्रकृतिसँग जोडिएको हाम्रो परम्परालाई नै विस्तारै विस्थापित गर्ने जोखिम बढेको छ ।
प्लास्टिकका कृत्रिम फूल प्रयोग गर्नु तत्कालका लागि सस्तो, टिकाउ र सुविधाजनक लाग्न सक्छ । एकपटक किनेपछि पटकपटक प्रयोग गर्न सकिने भएकाले कतिपय उपभोक्ताले यसलाई आर्थिक दृष्टिले पनि उपयुक्त ठान्न सक्छन् । तर यसको अर्को पाटो निकै गम्भीर छ । प्लास्टिकबाट बनेका यस्ता सामग्री प्रयोगपछि फोहोरका रूपमा फालिन्छन् र सहजै कुहिएर माटोमा मिसिँदैनन् । लामो समयसम्म वातावरणमा रहने यस्ता पदार्थले माटो, पानी र समग्र पारिस्थितिक प्रणालीमा प्रदूषणको जोखिम बढाउँछन् । अझ सजावटका लागि प्रयोग गरिएका कृत्रिम फूलसँगै आउने प्लास्टिकका डोरी, तार र अन्य सामग्रीले फोहोर व्यवस्थापनलाई थप जटिल बनाउँछन् । अर्कोतर्फ, नेपाली किसानले उत्पादन गरेका फूल बजार नपाउनुको अर्थ एउटा किसानको आम्दानी घट्नु मात्र होइन । फूलखेतीमा लगानी भएको श्रम, समय, बीउ, मल, सिँचाइ र ढुवानीको लागत खेर जानु हो । यसले स्वदेशी उत्पादनप्रतिको बजार विश्वास कमजोर बनाउँछ र भविष्यमा फूलखेती विस्तार गर्न चाहने किसानलाई समेत निरुत्साहित गर्छ । हामीले चाडपर्वमा प्रयोग गर्ने एउटा कृत्रिम फूलले विदेशबाट आयातित वस्तुको व्यापार बढाउन सक्छ भने त्यसको सट्टा किनिएको एउटा प्राकृतिक मालाले नेपाली किसानको घरमा आम्दानी पु¥याउन सक्छ । यस अर्थमा उपभोक्ताको सामान्य देखिने एउटा निर्णयले पनि राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक वा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । त्यसैले कृत्रिम फूलको प्रयोगलाई केवल व्यक्तिगत रुचिको विषय मानेर बेवास्ता गर्न मिल्दैन ।
अब प्रश्न उठ्छ, नेपाली फूल उत्पादन भइरहेका बेला हामी किन आफ्नै उत्पादनलाई प्राथमिकता दिन सकिरहेका छैनौँ ? यसको उत्तर उपभोक्ताको चेतनामा मात्र खोजेर पुग्दैन । स्वदेशी उत्पादनलाई बजारसम्म पु¥याउने व्यवस्था, बिक्री वितरणको सहजता, मूल्यको स्थिरता र उपभोक्तामा वातावरणमैत्री बस्तु छनोट गर्ने बानी विकास गर्न पनि आवश्यक छ । स्थानीय सरकारहरूले कृत्रिम प्लास्टिकजन्य फूलको प्रयोग निरुत्साहित गर्ने सूचना जारी गर्नु सकारात्मक कदम हो, तर सूचना र चेतावनीले मात्र बजारको प्रवृत्ति बदलिँदैन । त्यसका लागि अनुगमनसँगै प्राकृतिक फूलको उत्पादन, संकलन, ढुवानी र बिक्रीलाई सहज बनाउने नीति तथा व्यवहार आवश्यक छ । व्यापारीले पनि बढी नाफा हुने वस्तु मात्र होइन, समाज र वातावरणप्रतिको दायित्वलाई ध्यान दिनुपर्छ । उपभोक्ताले पनि क्षणिक आकर्षण र सुविधाभन्दा स्वदेशी उत्पादन तथा वातावरणीय प्रभावलाई महत्त्व दिन सक्नुपर्छ । चाडपर्वको वास्तविक सौन्दर्य बजारमा सजाइएका चम्किला वस्तुमा होइन, त्यसले समाज, प्रकृति र अर्थतन्त्रसँग जोड्ने सम्बन्धमा हुन्छ । आफ्नै माटोमा फुलेका फूललाई बेवास्ता गरेर प्लास्टिकका फूलले घर सजाउनु आधुनिकता होइन, आफ्नै उत्पादन र प्रकृतिप्रतिको उदासीनता हो । तिहारमा नेपाली फूल रोज्नु किसानको श्रमको सम्मान गर्नु हो, वातावरण जोगाउनु हो र स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउनु पनि हो । त्यसैले अब हाम्रा चाडपर्वमा प्लास्टिकको कृत्रिम चमकभन्दा नेपाली फूलको प्राकृतिक सुगन्ध फैलाउने संस्कार विकास गर्नुपर्छ । आखिर आफ्नै देशमा फुलेका फूलले घर मात्र होइन, देशको अर्थतन्त्र र भविष्यसमेत सुगन्धित बनाउन सक्छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *