लामिछाने दाजुभाइ प्रतिस्पर्धामा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ टेलिभिजनको प्रस्तोताका रुपमा चर्चामा रहँदै गरेका रवि लामिछानेले आपूmलाई पूर्णकालीन राजनीतिमा होमेका छन् । आफ्नो सञ्चारकर्मलाई छाडी राजनीतिमा उत्रने निर्णय गरेका उनले एउटा राजनीतिक दल नै दर्ता गराएका छन् ।
दल दर्ता गराएका लामिछानेलाई उनकै सहोदर दाजुले नै नपत्याएको अवस्था छ । रविले संघीय निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेको अवस्थामा उनका दाजु अर्थात कुनै समय सञ्चारकर्मीको रुपमा चर्चामा रहेका हरिशरण लामिछाने पनि उम्मेदवार बन्ने घोषणाका साथ आएका छन् । दशकौं लामो सक्रिय सञ्चारकर्म छाड्ने घोषणा गरेका रविका दाजु हरिशरणले समेत संघीय संसदमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने जनाएका छन् । स्वतन्त्रको हैसियतमा निर्वाचनमा उठ्ने तयारी गरेका हरिशरणले स्वतन्त्रहरुको सञ्जाल बनाउने घोषणा गरेको अर्को दिन भाइ रविले नयाँ दल दर्ताको तयारी थालेको सार्वजनिक गरेका थिए ।
हरिशरणले ‘स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माण’ अभियानको घोषणा गरेका छन् । ‘देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्यूनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरी निर्वाचन क्षेत्र कायम गरिनेछ । मेरो हकमा काठमाडौ–३ बाट उम्मेदवारी दिने समझदारी भएको सबैमा जानकारी गराउँदछु,’ भनी सार्वजनिक गरेका थिए । उनले आप्mनो सञ्जालमार्फत काठमाडौं– १ मा पुकार बम, ५ मा रन्जु दर्शना र ८ मा सुमन सायमीले स्वतन्त्र उम्मेदवार दिने तयारी भैसकेको पनि जनाएका थिए ।
काठमाडौं बाहिर विश्व साइकल यात्री पुष्कर शाहले दोलखाबाट प्रतिस्पर्धा गर्ने जानकारी दिंदै आज असार १७ र भोलि १८ असारमा राष्ट्रिय भेलाले तय गर्ने तयारीमा हरिशरण जुटेका छन् ।
रविले भने असार ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गरेका थिए । उनले कुन स्थानबाट निर्वाचन लड्ने त्यो स्पष्ट नपारे पनि उनले पनि काठमाडौं क्षेत्र नं.३ मै आँखा गाडेको पनि समाचार स्रोतले दाबी गरेको छ । रविले पूर्व अनुमान बिना दल नै गठन गरेको विषयलाई लिएर त्यस विषयमा चर्चा समेत चलेको अवस्था छ । उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिने अपेक्षा जनस्तरमा रहेको थियो । स्थानीय निर्वाचनमा केही स्थानहरुमा स्वतन्त्र उम्मेदवारहरुले विजयी भएको अवस्थामा रविहरुले पनि स्वतन्त्र नै उम्मेदवारी दिने आंकलन गरिएको थियो ।
जनस्तरको चाहना र अपेक्षा विपरित रविले दल दर्ता गरी दलीय राजनीतिमा जान चाहेका कारण उनले पनि पुरानै दलको पदचाप समाउने भनी उनको आलोचना हुने गरेको छ । रविले दल दर्तामार्फत घोषणा गरेका मुद्दाहरु खासै नयाँ र आकर्षक नभएको भनी उनको आलोचना पनि गरिँदै आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *