जसपामा अल्पमतमा परे भट्टराई

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ समय बलबान हुन्छ भन्ने कुरा जनता समाजवादी पार्टी नेपाल (जसपा) को आन्तरिक अवस्थालाई ख्याल गर्दा देखिएको छ । केही अघिसम्म अल्पमतमा परेका जसपाका केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव बहुमतको अवस्थामा पुगेको बताइएको छ । उता, यादवलाई अल्पमतमा पारी दलमा पकड जमाउने दाऊमा रहेका अर्का नेता बाबुराम भट्टराई भने आफैं अल्पमतमा परेको चर्चा चलेको छ ।
केही असन्तुष्ट सांसदहरूलाई मन्त्री बनाइदिने प्रलोभन दिएर भट्टराईले संसदीय दलमा बहुमत जुटाएको चर्चा चलेको थियो । यादवलाई संसदीय दलको नेताबाट हटाएर भट्टराई आफैं संसदीय दलको नेता बन्ने प्रयासमा रहे पनि पछिल्लो अवस्थाले त्यो सफल नहुने अवस्था आएको भनी समाचार स्रोतले जानकारी दिएको छ ।
यादवमाथि विधान अधिवेशन बोलाउन आलटाल गरिरहेको आरोप लगाउने तयारीमा भट्टराई समूह लागेको थियो । यादवलाई कारबाही गर्ने तयारी गर्न शुरूमा स्पष्टीकरण सोध्ने, त्यसपछि निष्कासन नै गर्नेसम्मको योजना भट्टराई समूहले बनाइरहेको अवस्थामा परिस्थिति फेरिएको हो । कार्यकारिणी समितिले गर्ने निर्णय आफू एक्लैले गर्न पाउने अधिकार यादवले लिएका कारण पनि उनको हैकम चलेको हो । मन्त्री हेरफेर गर्ने तथा केही नेतालाई कारवाही गर्ने जिम्मेवारी कार्यकारिणी समितिले यादवलाई दिएको अवस्थामा भट्टराई समूह समस्यामा परेको छ ।
भट्टराईले यादवको एकल हस्ताक्षरको निर्णय नमान्न भनी प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका थिए । उनले आफू संसदीय दलको नेता तथा कार्यकारिणी समिति अध्यक्ष हुन गइरहेको भन्ने जानकारी समेत देउवालाई गराएका स्रोतले दाबी गरेको छ । यसैगरी यादवलाई दल विभाजन गरेर जान दिन र आफू नेतृत्वको दललाई सहयोग गर्न भट्टराईले देउवासमक्ष आग्रह गरेका बताइएको छ । देउवाले भने जसको बहुमत हुन्छ उसैको निर्णय मान्ने भनी भट्टराईलाई जानकारी गराएको पनि बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *