एमालेमा अन्तरघातीलाई अन्तरघाती खोज्ने जिम्मा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ नेकपा (एमाले) ले गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा दलका उम्मेदवार हराउन भूमिका खेल्ने र अन्तरघात गर्ने नेता तथा कार्यकर्तामाथि छानबिन गर्न कार्यदल बनाएको छ । देशका सात सय ५३ वटा स्थानीय तहहरुमध्ये दुई सय पाँच स्थानीय तहमा एमालेले जीत हासिल गरेको अवस्थामा छानविन कार्यदल बनाइएको हो ।
आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा स्थानीय तहमा भएको अन्तरघात दोहोरिन नदिन टर्च बालेर एमालेले अन्तरघातीहरु खोज्ने जिम्मा उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई दिएको छ । कार्यदलमा खगराज अधिकारी र विष्णु रिमाल रहेका छन् ।
आगामी चुनावको मुखमा कार्यदल गठन गरेर कारबाही प्रक्रिया अघि बढाइएको नाटक गरी जनताको आँखामा धुलो हाल्न खोजिएको कार्यदलमा पौडेल र अधिकारी नै अन्तरघाती भएको जानकारहरुले बताएका छन् । सत्यतथ्य र प्रमाणका हिसाबले कारबाही गर्ने हो भने पौडेलले रुपन्देहीको बुटबल उपमहानगरपालिकाको चुनावमा एमाले उम्मेदवार बाबुराम भट्टराईलाई हराउन सक्रिय भूमिका खेलेको आरोप लागेको छ ।
त्यसैगरी, पोखरा महानगरपालिकाको निर्वाचनमा एमालेका उम्मेदवार कृष्ण थापालाई हराउन भूमिका खेलेको आरोप अधिकारीमाथि लागेको छ । खासगरी बुटबलमा पौडेल र शंकर पोखरेल तथा पोखरामा अधिकारी र पृथ्वी सुब्बा गुरुङको टकराबले एमालेका उम्मेदवारहरु पराजित बनेको व्यापक चर्चा चलेको छ ।
यता, काठमाडौँमा एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलालाई पनि अन्तरघातको आरोप लागेको छ । एमाले त्यसमाथि खड्गप्रसाद शर्मा ओलीका सहयोगीहरुकै अन्तरद्वन्द्वका कारण भएको अन्तरघातप्रति कारबाही हुनेमा कार्यकर्ताहरुले पटक्कै विश्वास गरेका छैनन् । ‘मनको लड्डु घ्यूसित खान’ कार्यदल बनाएर जनताको आँखामा छारो हाल्न खोजिएको एमाले पीडितहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *