भौतिक मन्त्री राईले सुइ र डिइहरुको नारी छाम्दै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई पूर्वकर्मचारी भएकाले मन्त्रालयका विज्ञ र सल्लाहकार नराखी आफैँ जान्ने सुन्ने हिसाबले अगाडि बढेका छन् । जनता समाजवादी (जसपा) र पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई रिझाएर भौतिक पूर्वाधारजस्तो बढी बजेट भएको मालदार मन्त्रालय हात पार्न सफल भएका छन् ।
मन्त्री बन्नुअघि डा. बाबुराम भट्टराईको कित्तामा रहेका राई भौतिक मन्त्री बन्ने पक्का भएपछि अध्यक्ष यादवतिर लागेका हुन् । शुरुमा श्रम राज्यमन्त्री र त्यसपछि शहरी विकास मन्त्री बनेका राईले शहरी विकास मन्त्रालयमा हुँदा कर्मचारीहरुको सरुवामा व्यापक चलखेल गरी शुभलाभ गरेको जानकारहरुले बताएका छन् ।
अहिले आर्थिक वर्ष समाप्त हुनै लाग्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका राईले असारे विकास सोचे जति नपाउने भएका छन् । मन्त्रालयको बजेट र असारे विकासको कमिशन पूर्वमन्त्री रेणु यादवले हात पारेपछि मन्त्री राई भुक्काराम परेका छन् । पाँच महिने मन्त्री बनेर अर्बौं रकम उठाई पार्टी र अध्यक्ष यादवलाई समेत चुनाव खर्च जुटाउने शर्तमा राई मन्त्री बनेको चर्चा जसपाका असन्तुष्ट पक्षले बताएको छ ।
संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारीमा सरकार जुटेको अवस्थामा मन्त्री राईले आपूm अरु मन्त्रीजस्तो होइन भन्दै मन्त्रालयका सचिव, विभागका महानिर्देशक र सुइहरु आयोजना निर्देशकहरुलाई थर्काएर असिनापसिना बनाएको समाचार स्रोतले बताएको छ । मन्त्रालय मातहतको कर्मचारीहरुको विवरण र सवारी साधनको विवरण मागी ‘नाङ्लो ठटाएर हात्ती तर्साउन खोजे’ जस्तै कडा निर्देशन समेत दिएका छन् । श्रावण र भदौ महिना कर्मचारीहरुको सरुवा गर्ने महिना भएकाले मन्त्री राईले रेल विभागको महानिर्देशक र मन्त्रालयको वैदेशिक महाशाखामा ल्याउनका लागि सुइहरुको नाडी छामेको बताइएको छ । डिभिजन सडक योजनाहरुमा दुई वर्ष पुगेका सिडिइहरुको समेत सूची तयार पारेको चर्चा चलेको छ । पाँच महिनाको लागि बोलकबोल गर्न कोही तयार नभएपछि मन्त्री ट्वाँ परेको मन्त्रालयमा चर्चा चलेको छ । श्रावण १७ गतेबाट रेल विभागका महानिर्देशक दीपक भट्टराईको अनिवार्य अवकाश भएपछि उक्त ठाउँमा महानिर्देशक बनेर अवकाश हुने इच्छा मन्त्रालयका प्राविधिक सहसचिव (सुइ) शिव नेपालले देखाएका छन् । मन्त्रालयको वैदेशिक महाशाखामा विदेशीहरुसँग डिल गर्न सक्ने सुइ नरेशमान शाक्य (हाल टनेल मार्ग) र विभागको वैदेशिक महाशाखा हेरिरहेका सुइ रामहरि पोखरेलको चर्चा चलेको छ ।
सुइहरुको सरुवा गर्दा अरु पनि चल्न सक्ने स्रोतले बताएको छ । जे भए पनि भौतिक मन्त्री राईले गत आ.व.को रु.८६ अर्ब ५० करोडको कमिशनतर्फ पनि आँखा लगाई सरुवाबाट पनि मोटो रकम हात पार्ने सपना देखेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *