आगामी आ.व.मा अवकाश पाउने सचिवहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ आगामी २०८० असार मसान्तसम्ममा र त्योभन्दा अगाडि अवकाश पाउने सचिवहरुको संख्या आधा दर्जन बढी रहेको छ । यस अगाडि गत श्रावण १२ गते र १९ गते गरी तीनजना सचिवहरुले अवकाश पाइसकेका छन् ।
गत श्रावण १२ गते महेश्वर न्यौपाने र रामुप्रसाद डोटेल तथा श्रावण १९ गते लक्ष्मण अर्यालले अवकाश पाएका थिए । न्यौपाने र अर्याल निजामती प्रशासनमा सचिव बनेर आर्थिक चलखेल गरी बद्नाम कमाएको आरोप कर्मचारी वृत्तमा लागेको छ । अर्यालले स्वास्थ्य मन्त्रालयमा र न्यौपानेले गृह तथा पर्यटन मन्त्रालयमा आर्थिक चलखेल गरेको बताइन्छ ।
अब प्राविधिक सचिव सागरकुमार राई आगामी २०७९ कात्तिक ९ गते र मंसिर ६ अर्थात् चुनावको पर्सिपल्ट सहरी विकास मन्त्रालयका सचिव डा. रामेशप्रसाद सिंह अनिवार्य अवकाश हुँदैछन् । सचिव सिंह पनि आर्थिक चलखेलमा १ नम्बर भन्ने आरोप खेप्दै आएका कर्मचारी हुन्् । उनीमाथि भवन विभागको डिजी र एकीकृत बागमती सभ्यता आयोजना प्रमुख बनाउँदा मोटो रकम हात पारेको आरोप लागेको छ ।
यसैगरी, मंसिर १४ गते प्रेमनारायण कँडेल र २०७९ माघ २२ गते कृष्णजिबी घिमिरेले पनि अनिवार्य अवकाश पाउँदैछन् । २०८० साल लागेपछि असार ३ गते सञ्चार तथा सूचना प्रविधि सचिव बैकुण्ठ अर्याल (अर्थसचिवमा चर्चा) र त्यही सालको असार ४ गते यादवप्रसाद कोइरालाको पनि अनिवार्य अवकाश हुँदैछ । रामप्रसाद थपलिया (हाल भूमि व्यवस्था गरिबी निवारण तथा सहकारी सचिव) पनि २०८० असार २४ गते अनिवार्य अवकाश हुँदैछन् ।
यसरी एक वर्षभित्रै १० जना सचिवहरु घर जाने भएपछि नयाँ वरिष्ठ सहसचिवहरुको भाग्य चम्किने भएको छ । यता अवकाशपछि पनि हालै पूर्व बनेका न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्न न्वारानदेखिको बल लगाएर शक्तिकेन्द्र धाउन थालेको जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *