बल्ल पर्‍यो शैलुङ कालोसूचीमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका खुमलटारस्थित घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कालोसूचीमा परेको छ । शैलुङ कन्स्ट्रक्सनले तीन वर्षका लागि नयाँ ठेक्का नपाउने भएको छ ।
शैलुङको एकछत्र राज र अटेरी गर्ने प्रवृत्तिलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले शेखी झारेको हो । सडक विभागका क्यान्सर मानिएका ठेकेदार अधिकारीले पुष्पकमल दाहालको आशिर्वादका कारण सडक, पुल लगायत सार्वजनिक संरचना निर्माण अलपत्र पार्दै आइरहेका छन् ।
काठमाडौं उपत्यकामा र अन्य थुप्रै ठाउँमा शक्ति र सत्ताको आडमा ठेक्का हत्याउने, मोबिलाइजेशन पेश्की लिने र पेश्कीको रकम अन्यत्रै लगानी गरेर सडक विभाग मातहतका कार्यालयहरुलाई धुरुक्कै रुवाउँदै आइरहेका छन् । दाहालको घरबेटी भएकै कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले चाहेर पनि केही गर्न सकेको छैन ।
ठेकेदार अधिकारीका कारण बञ्चरेडाँडा जाने बाटो नबनाउँदा काठमाडौंको फोहोर लैजान सकस परेको छ । त्यसैगरी बालाजु–रानीपौवा सडक मडुकु भञ्ज्याङ–तीनपिप्ले सडक, नगरकोट जाने सडक र आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का थुप्रै कामहरु अधिकारीले ‘होल्ड’ गर्दा पनि मा.के. अध्यक्ष दाहालको मुखमा पट्टी लाग्नुलाई काठमाडौंका प्रमुख बालेन्द्र साहले ट्वीटमार्फत कटाक्ष गरेका छन् ।
अब राज्यले शैलुङलाई पाता कसेर रुग्ण ठेक्काहरु सम्पन्न गर्नेतिर ध्यान दिन जरुरी छ । नत्र सानालाई ऐन ठूलालाई चैन भनेझैं २–४ लाखे पेटी ठेकेदारहरुलाई कारबाही गर्नुको कुनै अर्थ नहुने पीडित निर्माण व्यवसायीहरुले बताएका छन् । अहिले सडकको रोग भनेकै शैलुङ र पप्पु कन्स्ट्रक्सनलाई लिइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *