मिश्रको राप्रपा प्रवेशसँगै काठमाडौं–१ मा चर्चा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्रले बुधबार नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित औपचारिक कार्यक्रममार्फत राप्रपामा प्रवेश गरेका मिश्रको प्रवेशसँगै काठमाडौं क्षेत्र नं.१ मा चुनावी चर्चा चलेको छ ।
साझा र विवेकशील साझाको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका मिश्रलाई राप्रपामा भने वरिष्ठ उपाध्यक्ष राख्ने सहमति भएको जनाइएको छ । मिश्रसहितको उनको समूहलाई राप्रपामा उचित स्थान र महत्व दिइने बताइएको छ । मिश्र बरिष्ठ उपाध्यक्ष भए पनि राप्रपाको आन्तरिक वरियतामा भने उनको स्थान पाँचौँ वरीयतामा रहने बताइएको छ ।
काठमाडौंं क्षेत्र नं.१ बाट यसअघिको प्रतिनिधिसभाको निर्वाचनमा उनी विवकशील साझाबाट मिश्र उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा केही सय मतान्तरले उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए । आगामी मंसिर ४ गते हुने भनिएको निर्वाचनमा मिश्रले सोही क्षेत्रबाट राप्रपाको उम्मेदवार बन्ने पनि समाचार स्रोतले बताएको छ । उनको उम्मेदवारीलाई लिएर सो क्षेत्रका मतदाताले चासो दिएका बताइएको छ । अघिल्लो निर्वाचनका विजेता प्रकाशमान सिंह यस पटक पनि उम्मेदवार बन्ने बताइएको छ । सिंहको उम्मेदवारीलाई हालको सत्तारुढ गठबन्धनले समेत साथ दिने भएकाले सिंह निर्वाचन जित्नेमा ढुक्क जस्तै रहेका बताइएको छ ।
आगामी निर्वाचनमा राप्रपा र नेकपा (एमाले) का बीचमा चुनावी तालमेल हुने चर्चा चलेकाले पनि काठमाडौं १ नं.मा मिश्र राप्रपा र एमालेको साझा उम्मेदवार बन्ने चर्चा चलेको हो । त्यसो भएको खण्डमा मिश्र यस पटक पनि सिंहका लागि कडा प्रतिस्पर्धीका रुपमा रहने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *