बाल अधिकारबारे कानून र व्यवहार

Nayabimarsha (Weekly Newspaper from Nepal)

अनुसा थापा

कानूनले १८ वर्षमूनिका नागरिकलाई नाबालिग भनेको छ । ७० वर्ष पुगेपछि ज्येष्ठ नागरिकको दर्जामा राखिन्छ । यी दुवै उमेर समूह कमाउन नसक्ने र हेरचाह चाहिने खालका हुन् । के उनीहरुले संरक्षण र हेरचाह पाएका छन् ? २०७२ असोज ३ गते जारी नेपालको संविधानमा बालबालिका र ज्येष्ठ नागरिकका निम्ति थुप्रै अधिकार समेटिएको छ ।
यद्यपि, व्यवहारतः त्यो कार्यान्वयनमा आउन सकेको छैन । बालबालिका र ज्येष्ठ नागरिक सडकमा मागेर खान बाध्य छन् । गत असोज ९ गते झमझमी पानी परिरहेको थियो । राजधानीको मुटु नयाँ बानेश्वरस्थित फलामको आकाशे पुलमा सात–आठ वर्षका बालक प्लास्टिक ओढेर माग्न बसेका थिए । उनी पानीमै थचक्कै बसेका थिए । यो त एउटा उदाहरण मात्र हो ।
ठाउँ–ठाउँमा ससाना बालबालिका माग्न बसेका हुन्छन् । भक्तपुरको सिर्जनानगर बसस्टपअगाडि एउटा चिया पसल छ । त्यहाँ छ–सात वर्षका बालक भाँडा माँझ्न बसेका छन् । बिहानैदेखि ती बालक भाडा माझिरहेका हुन्छन् । त्यहाँ चिया खान पत्रकार, मानव अधिकारकर्मी, नेता, ट्राफिक प्रहरीदेखि प्रभावशाली व्यक्तित्वहरु पुग्छन् । कसैको त्यसमा ध्यान गएको छैन ।
त्यही पसलको केही अघिल्तिर मिठाइ पसल छ । त्यहाँ पाँच–छ वर्षको बालक भाँडा माँझ्न राखिएको छ । थाङ्नो लुगा लगाएका उनलाई खाएकै भरमा काम लगाइएको छ । ती मिठाई पसलेको छोराछोरी भने इञ्जिनियर पढ्दै छन् । ती बालक पढ्न पाउने अधिकारबाट वञ्चित छन् । उनलाई काम लगाइन्छ, पढ्न पठाइन्न । नेपालको कानूनले बाल अधिकारको विषयमा ठूल्ठूला कुरा गर्छ ।
१८ वर्षमूनिका बालबालिकालाई काममा लगाउन नपाउने कानून छ । उनीहरुलाई अनिवार्य पढ्न पठाउनुपर्छ । देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार छेउछाउदेखि देशैभर स–साना बालबालिकालाई काममा लगाइएका छन् । उनीहरुको चाँहि बालअधिकार छैन ? उनीहरुले पढ्न पाउनुपर्दैन ? सरकारको कानून कहाँ कार्यान्वयन भयो ? कुनै पनि बच्चा जन्मिएपछि त्यो सरकारको हुन्छ ।
त्यसको शिक्षा, स्वास्थ्यको जिम्मेवारी सरकारले लिनुपर्छ । यहाँ त गरिबको घरमा जन्मिनु अपराधजस्तै भएको छ । न पढ्न पाएका छन् न स्वास्थ्य उपचार । बिहान बेलुका पेट पाल्नका निम्ति उनीहरु अर्कामा होटलमा मजदुरी गर्छन् । चिया पकाउने, टेबल–टेबलमा पुर्याउनेदेखि भाडा माँझ्ने कामसम्म उनीहरुलाई लगाइन्छ । ती अबोध बालबालिकाप्रति कसैको नजर जाँदैन ।
सार्वजनिक यातायातमा छ–सात वर्षका बालबालिका सहचालक राखिएको छ्याप्छ्याप्ती देखिन्छ । आम नागरिकले देख्दा ट्राफिक प्रहरीले यो किन देख्दैन ? उनीहरुले पारिश्रमिक पनि पाउँदैनन् । कबाडी संकलनमा पनि बालबालिका यत्तिकै छन् । दिनभर कबाडी संकलन गर्ने उनीहरुले त्यसबापत २० देखि ५० रुपियाँ पाउँछन् । त्यो पैसाले रक्सी पिउँछन्, आफ्नो जिन्दगी सिद्धयाउँछन् ।
बाटोमा जताततै बालबालिकाहरु लागूऔषध खाएर हिँड्दै गरेको देखिन्छ । प्लास्टिकको झोलामा रहेको पदार्थ उनीहरु सुघ्ँदै हिँडेका हुन्छन् । अहिले पनि पूँजीपतिहरुले आफ्नो घरमा बालबालिका काममा राखेका छन् । उनीहरु श्रम शोषणमा परेका छन् । न घर मालिकले उनीहरुलाई खान दिन्छन् न सुत्न । उनीहरुलाई जुठो खाना खुवाइन्छ, भ¥याङमूनि सुताइन्छ, कुटिन्छ । उनीहरु पढ्न पाउने अधिकारबाट वञ्चित छन् ।
स–साना बालबालिकालाई माग्नका निम्ति प्रयोग गरिएको छ । माफियाहरुले बालबालिकालाई दिनभर सडकमा माग्न लगाउँछन् अनि पैसा आफूले लिन्छन् । मठमन्दिर, सडक छेउछाउ, सार्वजनिक स्थलमा बालबालिकाले यत्तिकै मागेको देखिन्छ । सरकारको नजर यसतर्फ गएको पाइँदैन ।
वर्तमान प्रधानमन्त्री बालेन्द्र साह -बालेन) काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा सांसदको घरबाट बालिकाको उद्धार गरेका थिए । ती सांसद पछि पक्राउ पनि परेकी थिइन् । घरमा बालबालिकालाई घरेलु कामदारको रुपमा राख्ने उनी मात्र त होइनन् । सरकारले अनुगमन गर्ने हो भने घरैपिच्छे बालबालिका भेटिन्छ । बालबालिकाका निम्ति काम गर्न देशमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक अल्पसंख्यक मन्त्रालय छ । त्यो मन्त्रालय के हेरेर बसिरहेको छ ? गरिबको बच्चाको किन उद्धार नगरेको ?
पढ्न पाउने अधिकार धनीको बच्चाको मात्र हो ? धनीका बालबालिका १२ पढ्छन्, लाखौं रुपियाँ खर्च गरेर अमेरिका, अष्ट्रेलिया जान्छन् । गरिबका बच्चा गलत बाटोमा लागिरहेका छन् । अनि यो देशको भविष्य कस्तो होला ? अहिले देशभर लागूऔषध सेवनकर्ता बढ्नुको कारण यहीँ हो । घर ढलानको काममा बालबालिकाको प्रयोग भइरहेको छ । गाडीको बीच–बीचबाट हिँडेर उनीहरु पानी र विभिन्न सामान बेचिरहेको पाइन्छ ।
उनीहरुको ज्यान गयो भने कसले जिम्मा लिने ? यो विषयमा बालबालिकासम्बद्ध संस्थाहरु किन मौन ? के विदेशबाट डलर खान मात्र ती संस्था सञ्चालन भएका हुन् ? गरिब बालबालिकाको नारा लगाउने, विदेशबाट पैसा ल्याउने अनि झ्वाम्म पार्ने ? गरिब बालबालिकाको पीडा भने ज्यूँको त्यूँ छ । सरकारले जनप्रतिनिधि, भू.पू. जनप्रतिनिधि, सरकारी कर्मचारीलगायतको तलब कटौती गरेर भए पनि उनीहरुलाई पढाउनुपर्छ ।
उनीहरुको अधिकारको संरक्षण गर्नुपर्छ । बालबालिका देशको कर्णधार हुन् । उनीहरु सही बाटो हिँडे भने मात्र देशको भविष्य राम्रो हुन्छ । त्यसैले ती बालबालिकामा लगानी गरौं । उनीहरु राम्रो भए भने देश आफैं राम्रो हुन्छ । विरुवा रोपेपछि मलजल ग¥यो भने मात्र उत्पादन हुन्छ । विरुवा पहिल्यै माँसियो भने के उत्पादन हुन्छ ? सरकारले अहिले ती बालबालिकामा लगानी गर्ने हो भने पछि उनीहरुले देशमै योगदान गर्छन् ।
अन्त्यमा देश नै बन्ने हो । त्यसैले सरकारले तत्काल ती बालबालिकाको संरक्षण थालौं । गरिबकै बच्चा भएपनि पढ्न पाउनुपर्छ, स्वास्थ्य उपचार पाउनुपर्छ । शिक्षामन्त्री सस्मित पोखरेल, बालबालिकामन्त्री सीता वादी र स्वास्थ्यमन्त्री निशा मेहताले ती बालबालिकाको खोजी थालुन् । अनुगमन गर्न आफैं निस्किऊन् । कुनैपनि बालबालिका गलत बाटोमा नहिँडुन् ।
सरकारको कमजोरीले बालबालिकाको अधिकार नखोसियोस् । कानून र किताबको पानामा मात्र होइन, व्यवहारमा पनि बाल अधिकार कार्यान्वयन होस् । अनि मात्र त्यो कानून सुन्दर देखिन्छ । एकातिर देशमा जन्मदर घट्दो छ, अर्कोतिर बालबालिका गलत लतमा फसिरहेका छन् । अनि देश कसरी बन्छ ? सरकारले सडक बालबालिकाको उद्धार गर्नुप¥यो । ज्येष्ठ नागरिकको हेरचाहको दायित्व पनि सरकारले लिनुप¥यो ।
बालबालिका र ज्येष्ठ नागरिक उस्तै हुन् । सडकमा उनीहरु मागिरहेको देख्नु लज्जास्पद छ । सरकारले आफ्नो दायित्वबोध गरोस् । मागेर खानेहरु जताततै छन् । उनीहरुको सरकारले तत्काल व्यवस्थापन गरोस् । पेट पाल्नकै निम्ति कुनै नागरिकले सडकमा माग्न नपरोस् । उनीहरु पनि नागरिक हुन्, सरकारले नागरिककै व्यवहार गरोस् । सरकार सरकारी कर्मचारीको तलब बढाउँछ तर उनीहरुको व्यवस्थापन गर्दैन ।
जुनसुकै सरकार आए पनि गरिबको पीडा कसैले बुझेनन् ।

तामझामको जात्राले चौध दिन प्रचार किन ?

रामहरी बाजे
आजको डिजिटल युगका जनता हिटलरका कुखुराका भाले होइनन् सबैका हात हातमा मोबाइल फोन छन्, ज–जसलाई जे जे भन्नुछ आफ्नै मोबाइलबाट खुसुक्क भनेर आफ्नो वाकसमा भोट भरै जित्ने प्रजातान्त्रिक अधिकार गर्नुको सट्टामा भिडियो क्यामेरा साथ बाजा बजाएर गाइजात्रे नाटकले जनतालाई बराल्ने र रंगिन पर्चा पोष्टर छर्ने र अनावश्यक झण्डा, टिसर्ट आदिमा गर्ने खर्चले गाउ“, टोलहरुमा केही मात्र बा“की रहेका जनतालाई फेरी पनि १४ दिन सम्म झुक्याएर फेरी पनि -हिप्टोनाइज) गर्न आउने नेता र झोलेलाई गाउ“लेले टिन ठटाएरै लखेट्ने आ“ट गरिसकेका छन् । त्यस्तो गरे भने आश्चर्य नमाने हुन्छ ।
हाम्रा आदरणीय नेता ज्यूहरुलाई सुझाव दिन चाहन्छु, माथि लेखिएका पुराना फेसनको चुनाव खर्चमा हुने गरिने खर्चलाई आफ्ना क्षेत्रका जनताको सार्वजनिक विकासका सामाजिक कार्यको खातामा हालेर त्यै भौचरको फोटो आफ्नै मोबाइलबाट पठाएर यसपालीको भोट मलाई भनेर जानकारी दिएर चोखो हृदयले भोट दिने जनताको पवित्र भोटले चुनाव जितेर देखाउने नेतालाई मात्र खा“टी झर्रा नेपालीले तपाईलाई भोटको साथमा शुभ आशिर्वाद पनि दिनेछन् । जनताले नेतालाई सरापेको सुन्नै पर्ने छैन ।
अन्त्यमा आगामी चुनावमा ३–४ वर्षदेखि विदेशमै मजदुरी गरिरहेका र ३–४ वर्ष पहिल्यै नै स्वर्गवास भैसकेकाहरुका नाममा पनि भोट खसालेर भोट ल्याउने कुकार्य भुलेर पनि नगर्नु होला । त्यस्ता माननीयहरुको विजोग हेर्न यो डिजिटल युगिन जनताले दोहो¥याउन चाहेका छैनन् । जसरी पनि जित्ने जित त सकुनीको पासाले महाभारत गराए जस्तै हो । नेताजीहरुमा चेतना भया । -विदुर–४, नुवाकोट)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *