राष्ट्रपतिमा झलनाथको चर्चा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको पूर्ण परिणाम सार्वजनिक हुने क्रममा छ । उक्त परिणाम सार्वजनिक भएपछि नयाँ सरकार गठनको बाटोमात्र खोल्दैन कि यही संसदले नयाँ राष्ट्रपति समेत चयन गर्ने अवस्था आउँछ । त्यसैले नेपालको भावी राष्ट्रपति को भन्ने कुराले पनि चर्चा पाउन थालेको छ ।
यस क्रममा केही व्यक्तिहरुको नाम राष्ट्रपतिको नामको लागि चर्चामा छन् । इलामबाट गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम सबैभन्दा माथि रहेको समाचार स्रोतले दाबी गरेको छ । प्रतिनिधिसभाको सदस्यका लागि नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेका खनाल गठबन्धनका बाबजुद पनि पराजित बन्न पुगेका छन् । यसरी हालको निर्वाचनमा पूर्वप्रधानमन्त्रीहरुमध्ये पराजित हुनेमा खनाल मात्र परेका छन् ।
राष्ट्रपति बन्नका लागि प्रतिनिधिसभाको सदस्य हुनैपर्ने भन्ने कानूनी बाध्यता छैन । त्यसैले पनि उनलाई थुम्थुम्याउनका लागि राष्ट्रपति उनलाई बनाउने चर्चा चलेको स्रोतले बताएको छ । निर्वाचन परिणामलाई लिएर बर्बराउन थालेका खनालकै कारण सत्ता गठबन्धन नै समस्यामा पर्ने भय समेत रहेका कारण उनलाई राष्ट्रपति बनाउने चर्चा चलेको हो ।
यसैगरी समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नाम पनि राष्ट्रपतिको संभावित नाममा चर्चा चलेको बताइएको छ । भट्टराई यस पटकको निर्वाचनमा होमिएनन् । उनी यसअघि निर्वाचित भएको क्षेत्र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका लागि छोडी बसेका हुन् । दाहाललाई छोड्दा नै उनलाई राष्ट्रपति बनाउने सर्त रहेको भनी त्यो बेलादेखि नै चर्चा चलेको पनि समाचार स्रोतले बताएको छ ।
उता, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि राष्ट्रपतिको संभावित उम्मेदवारको रुपमा चर्चा चलेका व्यक्ति हुन् । यसअघि प्रधानमन्त्री बन्नका लागि धेरै नै प्रयास गरेका पौडेल नेपालका वरिष्ठ राजनीतिज्ञहरुमध्ये प्रधानमन्त्री बन्न नपाउने राजनीतिज्ञमा पर्दछन् । यस पटक तनहूँबाट निर्वाचित भएर आएका पौडेल आपूm प्रधानमन्त्री बन्न लालायित रहेको भनी बताउँदै आएका छन् । प्रधानमन्त्रीको लागि भने उनको संभावना कमै रहेको बताइन्छ । पुरानो पुस्ताबाट प्रधानमन्त्री बन्ने अवस्था आएमा हालका प्रधानमन्त्री शेरबहादुर देउवा नै अघि सर्ने बताइन्छ । नयाँ पुस्ताबाट प्रधानमन्त्री बन्ने अवस्था आएका खण्डमा कांग्रेसका महामन्त्री गगनकुमार थापाको चर्चा बढी रहेको बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *