काँग्रेसलाई गृहमन्त्री नफाप्ने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ मान, सम्मान, सेवा, सुविधा र आयआर्जनका कारण आकर्षक ठानिएको गृहमन्त्रीको पद नेपाली काँग्रेसलाई नफाप्ने घटनाक्रमले पुष्टी गरेको छ ।
२०४८ सालको उपनिर्वाचनमा काँग्रेसका योगप्रसाद उपाध्याय गृहमन्त्री हुँदा काठमाडौं क्षेत्र नं.१ बाट सन्त नेता कृष्णप्रसाद भट्टराई पराजित भएका थिए । भट्टराई त्यो बेला अन्तरिम सरकारका प्रधानमन्त्री समेत थिए । २०५१ सालको मध्यावधिपछि २०५६ सालमा भएको निर्वाचनमा काँग्रेसले बहुमत ल्याए पनि पछि विभिन्न चलखेलका कारण वि.सं.२०६४ सालमा संविधानसभाको चुनाव भएको थियो । संविधानसभाको चुनावमा गृहमन्त्री रहेका काँग्रेस नेता कृष्णप्रसाद सिटौला झापाबाट धर्मशिला चापागाईसँग निर्वाचनमा पराजित भएका थिए ।
तात्कालीन प्रधानमन्त्री एवम् कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले सम्पन्न गराएको निर्वाचनमा काँग्रेस दोस्रो दल बन्न पुगेको थियो । कोइरालाको पहिलो राष्ट्रपति बन्ने सपनाले कांग्रेस दोस्रो दलमा झरेको काँग्रेसका जानकारहरुले बताएका छन् ।
संविधान जारी भएपछिको पहिलो निर्वाचन २०७४ सालमा वर्तमान प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्रालयको बागडोर आफैंले सम्हाली चुनाव गराउँदा काँग्रेस २३ सिटमा खुम्चिनु परेको थियो । तात्कालिन गृहमन्त्री विमलेन्द्र निधिले आइजिपी काण्डमा राजीनामा दिएपछि माओवादी नेता जनार्दन शर्मा एक सय ३२ दिन गृहमन्त्री बनेका थिए । पछि नेकपा एमाले र माओवादी केन्द्र एक भएपछि शर्मालाई बखास्त गरी देउवा आफैंले गृहमन्त्रालय सम्हालेका थिए र पनि काँग्रेसको पक्षमा परिणाम आएन ।
२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले सफलता हासिल गरेपछि २०७९ मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँण आफैं रुपन्देही ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरासँग पराजित भएका छन् । छिटपुट घटना बाहेक गृहसचिव र सुरक्षाकर्मीले सफलतापूर्वक सम्पन्न गरेको आम निर्वाचनमा भद्र र सालिन भए पनि श्रीमती मञ्जु खाँणलाई समानुपातिक सूची र भाइ रामकृष्ण खाँणलाई तिलोत्तमा नगरपालिकाको प्रमुख बनाएर दललाई परिवारवादमा परिणत गरेको तथा कार्यकर्ताहरुलाई बेवास्ता गरेको आरोप खाँणमाथि लागेको छ ।
चुरो कुरो जे जस्तो भए पनि काँग्रेसलाई गृहमन्त्री नफाप्ने चर्चा राजनीतिक वृत्तमा चलेको छ । गृहमन्त्री खाँण २०७४ मा एमालेका घनश्याम भुषालसँग हार्ने डरले समानुपातिक सूचीमा छिरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *