राप्रपा अग्निपरीक्षामा

Nayabimarsha (Weekly Newspaper from Nepal)
सम्पादकीय

राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) जनभावना अनुसार चल्ने संकेत मिलेको छ । गत आम निर्वाचनमा सहभागी हुँदा राप्रपाले उठाएका कुराहरुलाई बल पुग्ने गरी कार्य गर्न थालेका कारण पनि यस्तो संकेत मिलेको हो । राप्रपा वर्तमान सरकारमा सामेल भएको छ । राप्रपाबाट मन्त्री बनेकाहरू शपथग्रहणपछि सिधै पशुपतिनाथ मन्दिर दर्शनका लागि गएका थिए । संवैधानिक राजतन्त्र हुनुपर्ने, धर्म निरपेक्षता हटाई हिन्दू धर्म सापेक्षता हुनुपर्ने तथा संघीयता खारेज हुनुपर्ने प्रमुख राजनीतिक मागलाई उठाएर राप्रपा निर्वाचनमा गएको थियो । ती मुद्दाका साथ निर्वाचनमा गएको राप्रपा अहिलेको संघीय प्रतिनिधिसभामा १४ सिट सहित सरकार निर्माण गर्ने निर्णायक शक्तिको रुपमा देखिएको छ । यस्तो अवस्थामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा समेत सामेल भएको छ ।
राप्रपाबाट नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रीहरू दर्शनका लागि पशुपतिनाथको मन्दिर गएर मात्र पदबहालीका लागि सिंहदरबार गएका थिए । राप्रपाका मन्त्रीहरुले आफूले कार्यकक्षमा पुग्नुअघि नै आफ्नो कक्षमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्वीरलाई राख्न लगाएका थिए । उनीहरुले निर्वाचनको दौरान भ्रष्टाचार नगर्ने प्रतिबद्धता जाहेर गरेका थिए । उनीहरुले भ्रष्टाचार गर्नुलाई ‘आमाको रगत पिउनुजस्तै हो’ भन्ने गरेका थिए । यस्तो अवस्थामा उनीहरु सरकारमा सामेल भएको अवस्था छ । जताततै बेथिति रहेको स्थितिमा राप्रपाले मन्त्रालयहरु कसरी हाँक्छ भनी आम चासोका साथ हेरिएको छ । राप्रपाले पहिलो गाँसमा राम्रै संकेत गरेको आम बुझाइ रहेको छ ।
राप्रपालाई पञ्चायतको बिरासतको रुपमा बुझ्ने गरिएको छ । पछिल्लो समयमा राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा पुग्नु तथा रविन्द्र मिश्रलगायतका नवराजनीतिज्ञहरुको राजनीतिमा प्रवेश भई राप्रपामा समाहित हुनुले राप्रपालाई नयाँ ढंगबाट बुझ्न थालिएको छ । राप्रपाले लिंदै आएको राजासहितको प्रजातन्त्र, संघीयताको खारेजी तथा धर्म निरपेक्षताको खारेजी जस्ता कुरा नेपालीजनले मन पराएका कुरा हुन् । त्यसमाथि राप्रपाले निर्वाचनअघि भ्रष्टाचारको विरोधी दलको रुपमा आफ्नो दललाई अघि सारेको थियो । यस्तो अवस्थामा राप्रपाले राम्रै मत पाएर वर्तमान प्रतिनिधिसभामा स्थान पाएको छ । त्यसैले राप्रपा अहिले सरकारमा सामेल भएको अवस्थामा उसको लागि यो अग्निपरीक्षा पनि हो । राप्रपा सरकारमा सामेल भएको हालको स्थितिमा आफ्नै मन्त्रालय तथा मन्त्रालयअन्तर्गतका निकायमा मात्र भए पनि भ्रष्टाचारको गन्ध आउन दिएन भने यो सफल भएको मान्न सकिन्छ । यसैगरी धर्मनिरपेक्षताको खारेजी, प्रदेश सरकारको खारेजी गराई राजतन्त्रसहितको प्रजातन्त्रमा मुलुकलाई पु¥याउनका लागि अन्य दलको समेत साथ पाउने अवस्था सिर्जना गर्न भने राप्रपाका लागि चुनौती थपिएको छ । बाहिर बसेर बोल्नु र सरकारमा आपंैm सामेल हुँदा गरेर देखाउनु फरक पाटो हो । यो कुरालाई राप्रपाले बुझ्नु जरुरी छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *