सरकारी निवासमा पनि कब्जा

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय

नवनियुक्त सभामुख देवराव घिमिरे सभामुखमा निर्वाचित भएको महिना दिन हुन लाग्दा समेत उनले सरकारी बासस्थान पाएका छैनन् उनले त्यसरी सरकारी बासस्थान नपाउनुमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालुवाटारस्थित ‘सभामुखको सरकारी निवास’ कब्जा गरेर बस्नु कारण रहेको छ । बिगतमा बालुवाटारस्थित सभामुखले प्रयोग गर्दै आएको सरकारी निवासबाट तात्कालीन सभामुख कृष्णबहादुर महरा हट्नु परेसँगै तमिल्सिना सो भवनमा सरेका थिए । महरापछि अग्निप्रसाद सापकोटा सभामुख चयन भए । सापकोटाले त्यो सभामुख निवासमा बस्न चाहेको अवस्थामा तिमिल्सिनाले निवास खालि गरिदिएनन् । सापकोटालाई लैनचौरमा नयाँ भवन खोजेर व्यवस्थापन गर्न पनि उनै तिमिल्सिनाको कब्जा कारक रहेको थियो ।
सभामुख चयन भएर आएका घिमिरेले पनि पहिलेका सभामुखहरुले प्रयोग गर्ने गरेको बालुवाटारस्थित सभामुखको बासस्थानलाई नै प्रयोग गर्न चाहिरहेका छन् । सोही कारण उनी सापकोटा बसेको लैनचौरस्थित भाडाको निवासस्थानमा जान चाहिरहेका छैनन् । अध्यक्ष तिमिल्सिनाका कारण शहरी विकास मन्त्रालयलाई सभामुखको लागि निवासस्थानको व्यवस्था मिलाउन समस्या भइरहेको छ । यी सबै समस्याको जड भनेका राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना नै हुन् । उनले सरकारी निवासमा अनधिकृत रुपमा कब्जा जमाएका कारण समस्या आएको हो ।
राष्ट्रियसभाका अध्यक्षका लागि यसअघि नै सरकारी निवासको व्यवस्था हुँदै आएको थियो । तात्कालीन सभामुख कृष्णबहादुर महरा विवादित बनेको अवस्थामा लामो समय बालुवाटारस्थित सभामुखको सरकारी निवास खाली रहेको थियो । तिमिल्सिना तात्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली निकटका रहेकाले उनले त्यसको फाइदा उठाउँदै सो सरकारी निवासमा आफूलाई सारेका थिए । पछि सापकोटा सभामुखमा चयन भएपछि पनि ओलीकै संरक्षणमा तिमिल्सिनाले त्यहीँ कब्जा जमाएका थिए । ओलीले सापकोटालाई खासै नरुचाउने भएका कारण पनि सापकोटा पनि उनको नजिकमा बस्नुभन्दा लैनचौरमै बस्न तयार देखिएका थिए । त्यो बेला पनि तिमिल्सिनाले आनाकानी गरेकाले सापकोटाले कुनै जोडबल नगरेको अवस्था थियो । पछिल्लो समय भने नव निर्वाचित सभामुख घिमिरेले पहिलेकै सरकारी निवासप्रति चाहना राखिरहेको स्थिति छ । एकातिर सभामुखले सरकारी सभामुख निवास प्रयोग गर्न पाइरहेका छैनन् भने सापकोटाले छाडेको निवास खाली अवस्थामा छ । यसरी राष्ट्रियसभाको अध्यक्ष जस्तो गरिमामय पदमा आसीन तिमिल्सिनाले सभामुख चयन भएर आइसकेको अवस्थामा सो सरकारी निवासस्थल खाली गरिदिनुपर्नेमा त्यसो नगरी पदीय दुरुपयोग गरिरहेका छन् । उनले यसरी सरकारी भवन कब्जा गर्नु शोभनीय कार्य होइन । उनले आफ्ना लागि भनी तोकिएको भवनमा गई सभामुखको लागि भनी प्रयोगमा आउँदै गरेकै निवासस्थान उपलब्ध गराइदिएमा त्यसले राज्यको अनावश्यक खर्चमा समेत केही मात्रामा कमी आउने थियो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *