खानेपानी तथा ढलको महानिर्देशकमा कमल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / खानेपानी मन्त्री महेन्द्र राय यादवले मन्त्रीस्तरीय निणर्यबाट खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशक परिवर्तन गरेका छन् । मन्त्रीस्तरीय निणर्य अनुसार महानिर्देशक बनेका कमलराज श्रेष्ठले त्यही दिन सरुवाको चिठी बुझेर त्यही दिन पद बहाली गरेका हुन् ।
श्रेष्ठ यसअघि मेलम्ची विकास समितिमा कार्यकारी निर्देशक थिए । वरिष्ठताको हिसाबले पनि अग्रस्थानमा रहेका श्रेष्ठले रमाकान्त दुवाडीलाई विस्थापित गरेका हुन् । श्रेष्ठ निणर्य क्षमता र कार्यक्षमता भएका सहसचिव हुन् । उनी आयोजना कार्यान्वयन निर्देशनालयबाट खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशक हुँदै मेलम्ची विकास समितिमा कार्यरत थिए ।
सरुवा भएका अन्य प्राविधिक सहसचिवहरुमा खानेपानी विभागका महानिर्देशक रमाकान्त दुवाडी विराटनगर संघीय खानेपानी, मेलम्ची उपकार्यकारी निर्देशकमा संघीय खानेपानी आयोजना विराटनगरका सुरत बम, बालमुकुन्द श्रेष्ठ संघीय आयोजना सुर्खेत, रामचन्द्र काफ्ले बुटवल, प्रज्वल प्रजापति हेटौंडा र जक्की अहमदलाई जनकपुरमा सरुवा गरिएको छ । संघीय आयोनाहरु मालदार मानिन्छन् । मन्त्री यादवले पहिलो पटक प्राविधिक सहसचिवहरुको उच्च सरुवा गरेका हुन् । मन्त्री यादव गत २०८० वैशाख २४ गते महिला तथा बालबालिका मन्त्रालयबाट खानेपानी मन्त्री बनेका हुन् ।
मन्त्री यादव खानेपानी मन्त्रालयमा आउनसाथ प्रधानमन्त्री कार्यालयमा रहेका सचिव रामआधार साहलाई ल्याएका थिए । यता, पिआइडीका आयोजना प्रमुख राजेन्द्र सापकोटा भने यथावत रहेका छन् । मन्त्री र सचिव सापकोटाको काम गराईबाट प्रभावित बनेको समाचार श्रोतले बताएको छ । यस्तै, विभागको सुस्ततालाई महानिर्देशक श्रेष्ठले गति दिने आशा एवं विश्वास गरिएको जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *