पत्रकारमाथि आक्रमणको विरोध

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ रातोपाटी डटकम अनलाइनमा कार्यरत पत्रकार कृष्णसिंह धामीलाई आक्रमण गर्नेहरुमाथि कानूनी कारबाही गर्नका लागि नेपाल पत्रकार महासंघले माग गरेको छ ।
गएको सोमबार खाजा खाएर ललितपुरको बखुन्डोलस्थित अनलाइनको कार्यालय फर्कँदै गर्दा ५/६ जनाको समूहमा आएका व्यक्तिहरूले धामीमाथि सांघातिक आक्रमण भएको महासंघले जनाएको छ । आक्रमणमा परी पत्रकार धामीको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागी पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो । पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायको महासंघले ध्यानाकर्षण समेत गराएको छ ।
भाद्र २५ गते सोमबारका दिन त्रिभुवन विश्वविद्यालयबाट प्रदान गरिएको केही शैक्षिक कार्यक्रमकाबारेमा उक्त अनलाइनले समाचार प्रकाशित गरेका कारण उनीमाथि आक्रमण गरिएको बुझिएको छ । सोही विषयलाई लिएर विद्यार्थी संगठनले पत्रकार धामी र रातोपाटी अनलाइनको नाम किटान गरी २०८० भाद्र २६ गते मंगलबार चेतावनीपूर्ण विज्ञप्ति जारी गरेको अवस्थामा सो घटनामा उनीहरुको संलग्नताको अनुमान गरिएको छ ।
‘कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम हो । दिनदहाडै भएको यो घटनाले प्रेसको सुरक्षा स्थिति चुनौतीपूर्ण देखिएको महासंघको निष्कर्ष छ,’ भनी सचिव गोविन्दप्रसाद चौलागाईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पत्रकार धामी हाल पनि उपचारकै क्रममा रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *