हाम्रा प्रस्तुति सामाजिक दायित्व बोकेको पाटो भएकाले त्यसलाई निर्देशन गर्नु कम सजिलो छैन: निर्देशक तथा कोरियोग्राफर कृष्ण रसाल

Nayabimarsha (Weekly Newspaper from Nepal)

म्युजिक भिडियो निर्देशन तथा कोरियोग्राफीमा आफ्ना अब्बल क्रियसनमार्फत् दर्शकको मन जित्न सफल छन् कृष्ण रसाल । रौतहट स्थायी घर भई काठमाडौंलाई कर्मथलो बनाएका रसालले ललितकला क्याम्पसमा संगीत विषय पढेका हुन् । उनले बिजुलीबजारमा रहेको डायमण्ड एक्टिङ डान्स सेन्टरमा नृत्य प्रशिक्षणका साथै वरिष्ठ नृत्य निर्देशक कमल राई, नवीन राई, अच्युत घिमिरे लगायतसँग प्रशिक्षण लिएर यो क्षेत्रमा होमिएको बताइन्छ । उनले नृत्यकारका रूपमा तीन सयभन्दा बढी गीतमा अभिनय तथा नृत्य गरेका छन् । उनले पछिल्लो समय नृत्य निर्देशकका रूपमा आफूलाई प्रस्तुत गर्दै आएका छन् । नेपाली गीतका भिडियोमा मात्र नभएर नेपालबाहिर बलिउड र वेस्ट बंगालमा समेत उनले आफ्नो प्रस्तुति दिएका छन् भने नेपालबाहिर चीन, मलेसिया, सिंगापुर, युएईलगायतका देशमा पुगेर नेपाली कला–संस्कृति प्रस्तुत गरेका छन् । उनीसँग ‘नयाँ विमर्श’ ले गरेको कुराकानीको संक्षिप्त अंशः–
यतिबेला व्यस्तता केमा छ नि ?
कला क्षेत्रका विभिन्न कर्ममा आफूलाई समर्पित गर्दै आएको छु । आफ्ना केही व्यावसायिक काम, केही घरायसी काम र सामाजिक कार्यमा आफूलाई संलग्न गराउँदै आएको छु । यस्तै गरी दिनचर्या चल्दै छ ।

यो क्षेत्रमा कसरी आगमन भयो ?
मेरो सानैदेखिको चाहना र मैले आफैंले निर्णय गरेर यो क्षेत्रमा आएको हुँ । सानैदेखिको लगावले यो क्षेत्रमा आएँ । ज्ञात–अज्ञात प्रेरणाले विस्तारै कलाकारितामा मलाई धकेल्यो । कला क्षेत्रको सानैदेखिको विशेष लगावका कारण नै म यस क्षेत्रमा विस्तारै हेलिँदै आएँ ।

आफूलाई सफल निर्देशक मान्नु पर्ने कारण के के छन् नि ?
मैले आफैंले आफैंलाई सफल असफल भन्ने भन्दा पनि मैले निर्देशन गरेका धेरै क्रियसन सफल भए भन्ने कुराले यसको पुष्टि गर्दछ । म आफैंले आफैंलाई सफल भन्दा पनि राम्रो काम गर्ने अर्थात् राम्रो प्रस्तुति पेश गर्ने कोसिस गरेको हुन्छु । मैले निर्देशन गरेका धेरै प्रस्तुतिलाई दर्शकले औधी मन पराएका छन् । केही प्रस्तुतिले अवार्डहरू पनि दिलाउन सफल भएका छन् । सफल असफल भन्ने जिम्मा दर्शककै हो भन्ने मलाई लाग्छ ।

कत्तिको गाह्रो काम हो ‘एक्सन कट’ ?
आफ्नो काम हो, त्यस्तो गाह्रो लाग्दैन मलाई । आफ्नो पेशा हो, काम हो, पूजा हो । शुरुका दिनहरूमा अलिक अप्ठ्यारो लाग्थ्यो तर काम गर्दै जाँदा सिकिन्छ, सिक्दै जाने कुरा हो ।

कत्तिको सहज छ ?
निर्देशन भन्नेबित्तिकै एकदमै गाह्रो क्षेत्र हो । किनभने सामाजिक र राष्ट्रप्रतिको जिम्मेवारी निर्देशकको काँधमा आएको हुन्छ । मैले निर्माण गरेको प्रस्तुतिबाट दर्शकलाई कस्तो प्रभाव पर्छ भन्ने बुझ्नुपर्ने हुन्छ । हाम्रा प्रस्तुति सामाजिक दायित्व बोकेको पाटो भएकाले त्यसलाई निर्देशन गर्नु कम सजिलो छैन ।

निर्देशन के हो ?
निर्देशन आविष्कार हो, क्रियसन हो, नयाँ खोज हो । यसमा आफ्नो माटोको सुगन्ध हुनु जरुरी ठान्छु म । कुनै पनि सिर्जनालाई भन्न खोजेको कुरालाई चित्रण गर्ने नै निर्देशन हो । त्यसमा आफ्नोपन सबैभन्दा महत्वपूर्ण पाटो हो भन्ने लाग्छ ।
प्रस्तुति कस्तो बनाउने भन्ने मुख्य कुरा निर्देशकमा नै भर पर्छ । त्यसमा हाम्रो प्रस्तुतिको थिमले के भन्न खोजेको छ मुख्य कुरा त्यसमा ध्यान पु¥याउनु आवश्यक छ । फेरि एक्लैले केही हुने होइन, यो सबै ग्रुपको काम हो । सबैले उत्कृृष्ट दिन सकेमात्र राम्रो बन्छ । कलाकार र सम्पू्र्ण युनिटबाट उत्कृष्ट काम निकाल्ने खुबी निर्देशकमा हुनु जरुरी छ । मेकिङमा जानुभन्दा पहिला युनिटसँग विस्तृत छलफलका साथै राम्रो होमवर्क भयो भने रिजल्ट राम्रो आउँछ ।

विभिन्न संघसंस्थामा रहेर पनि कार्य गर्दा कस्तो महसुस भएको छ नि ?
हो, मैले विभिन्न संघसंस्थामा आबद्ध भएर काम गर्दै आएको छु । मैले सोसियो नेपालमा रहेर सामाजिक कार्यमा आफूलाई संलग्न गराउँदै आएको छु भने चलचित्र नृत्य संघ, नृत्य निर्देशक संघ, नेपाल मोडल एसोसिएसन, लोकदोहोरी प्रतिष्ठानलगायतका संघसंस्थामा पनि आबद्ध भएर कार्य सम्पादन गर्दै आएको छु । यसका अतिरिक्त यही क्षेत्रको विकास र प्रवद्र्धनको अभियानमा पनि सक्रिय छु । विभिन्न अवार्ड समारोहमा निर्णायक समितिको सदस्यका रूपमा पनि जाने गरेको छु । २१औँ शताब्दीको यो दौडमा समयसँगै र सबैसँगै हिँड्नुपर्छ भन्ने कुरामा विश्वास गर्दछु । कला क्षेत्रबाट बचेको समय समाजको कुनै न कुनै कुनामा पुगेको हुन्छु ।

के प्राप्त गरे जस्तो लाग्छ फर्किएर हेर्दा ?
मनोरञ्जनमार्फत् दर्शकमा उत्साह, खुशी र कर्तव्य बोध हुनुपर्छ भन्ने सन्देश छर्न चाहन्छु । राम्रो काम गरेपछि पैसा अवश्य कमाउँछाँै । पैसाभन्दा ठूलो कुरा इज्जत, प्रतिष्ठा र सम्मान महत्वपूर्ण हुन्छ । अर्को कुरा हामी समाजका संवाहक पनि हौँ । हामीले समाजलाई डो¥याउन सक्नुपर्छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकतालाई निःशर्त मजबुत बनाउन मद्दत गर्नुपर्दछ भन्ने लाग्छ । त्यही भएर मैले टेक्ने धर्तीको रक्षा र स्वाभिमानका लागि काम गर्ने गरेको छु । त्यहीअनुसार देश, समाज र परिवारबाट माया र सद्भाव पनि प्राप्त गरेको छु ।

आफ्नो सफलतालाई मूल्यांकन गर्नु पर्दा नि ?
सफलताभन्दा पनि यही पेशालाई निरन्तरता दिन सकिएको छ । यो क्षेत्रमा बहुसंख्यक व्यक्तिहरूको चासो र सरोकार रहने हुँदा यो क्षेत्रमा आफूलाई स्थापित गर्नु ठूलो चुनौती हो । त्यो चुनौतीलाई स्वीकार गर्दै अघि बढ्ने आत्मविश्वास मभित्र भएकाले यसलाई छुन सके जस्तो लाग्छ । तर, आजको सफलता नै दीर्घकालीन प्राप्ति हो जस्तो लाग्दैन मलाई, त्यसैले दिनदिनै संघर्ष गर्नुपर्दछ । अनिमात्रै अरूभन्दा फरक हुन सकिन्छ । म अझै पनि संघर्ष गर्दै सिक्दै, जानेको सिकाउँदै छु एउटा इमानदार विद्यार्थीझैँ ।

शुभचिन्तक र दर्शकलाई केही भन्ने चाहना छ कि ?
मलाई माया दर्शाउने, मेरो कर्मलाई उत्साह र प्रेरणा प्रदान गर्ने दर्शक तथा शुभचिन्तकहरूमा आभार व्यक्त गर्दछु । मनोरञ्जनसँगै राष्ट्रिय दायित्वलाई पूरा गरौँ भन्न चाहन्छु । नेपाली समाजको रूपान्तरण र आर्थिक समुन्नतिका लागि नेपाललाई कला पर्यटनको केन्द्र बनाउन हातेमालो गरौँ भन्न चाहन्छु किनकि भौगोलिक विविधतासँगै पुरातात्विक सम्पदालगायतका विशिष्ट क्षेत्रहरू विश्वका कलाकर्मीका लागि नवीन र कौतुहलपूर्ण विषय हुन् । यसको प्रवद्र्धनसँगै यहाँहरूको माया र सद्भावप्रति ऋणी रहँदै भोलिका दिनमा अझ विशिष्ट कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *