पत्रकारहरु आन्दोलित

Nayabimarsha (Weekly Newspaper from Nepal)

पोखरा/ बागलुङका पत्रकारहरुले बुधबार जिल्ला प्रशासन कार्यालय बागलुङमा धर्ना दिएका छन् । उनीहरु पत्रकारमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै धर्नामा उत्रिएका हुन् ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय रानामाथि भएको कुटपिटको घटनाले पत्रकारहरु आन्दोलित बनेका हुन् । उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन र पत्रकारमाथि कुट्पिट गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै प्रशासनको कार्यालय अगाडि उनीहरुले शान्तिपूर्ण धर्ना दिएका थिए । प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गरिनुपर्ने पत्रकारहरुको माग रहेको बताइएको छ ।
गत साता बागलुङ महोत्सवमा भएको झगडाको क्रममा प्रहरीले नागरिकमाथि ंकुटपिट गरेको घटनाको छायांकन गर्दा पत्रकार रानामाथि कुटपिट भएको बताइएको छ । उनको मोबाइल फोन खोसेर प्रहरीले लाठी प्रहार गर्दा रानाको हातको हड्डी चर्केको छ भने खुट्टामा निलडामहरु छन् ।
घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला सुरक्षा समितिले गठन गरेको छानविन समितिले म्याद सकिँदा पनि प्रतिवेदन नल्याएपछि बुधबारदेखि शान्तिपूर्ण आन्दोलनमा पत्रकार महासंघ लागेको हो ।
महासंघले छानविन समितिले प्रतिवेदन नल्याउँदा र दोषीलाई कारबाही नहुँदासम्म जिल्ला प्रशासन कार्यालय बागलुङ र जिल्ला प्रहरी कार्यालय बागलुङको सहभागिता रहने कार्यक्रम बहिस्कार गर्ने निर्णय समेत गरेको बताइएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *