भौतिक मन्त्री ज्वालामा नैतिकताको खडेरी

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर / बालकुमारी घटनामा दोषी ठहरिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्त गर्नुपर्ने गठबन्धन बाहेकका दलका नेताहरुले बताएका छन् ।
गत फागुन ६ गते बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का सांसद महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका सांसद दीपकबहादुर सिंह र नेमकिपाका सांसद प्रेम सुवालले उक्त कुरा बताएका हुन् ।
घटनाको छानविन गर्न बनेको आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेको बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल ‘एक्सन’ नलिँदा र वर्खास्त नगर्दा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले मन्त्रीको नैतिकता हरायो, प्रधानमन्त्री हुतिहारा भए भन्दै कटाक्ष गरेका छन् । नैतिकता नै नभएका मन्त्री ज्वाला मन्त्रालयमा बसेर परिणाम देखाउन नसके पनि कमिशन खान, महिलाहरुसँग हिमचिम गर्न अब्बल मानिने समाचार स्रोतले बताएको छ ।
जुकोझैं टाँसिएर झण्डा पहराउँदै सिंहदरबार ओहोर दोहोर गरेका मन्त्री ज्वालाले २०३० सालमा सिंहदरबार आगलागी हुँदा कीर्तिनिधि विष्ट र रंगशाला काण्डमा केशरबहादुर विष्टले नैतिकताको आधारमा दिएको राजीनामालाई बिर्सिएको जानकारहरुले बताएका छन् ।
सडकहरु मृत्युमार्गमा परिणत हुँदा पनि विषयविज्ञताको अभाव र इञ्जिनियरिङ सम्बन्धी ज्ञान नभएका मन्त्री ज्वालाको संरक्षणमा स्वकीय सचिव सन्तोष वि.सी. र उनका धुपौरे सडकका सिडीईहरुले मस्ती गरिरहेको चर्चा सिंहदरबारमा चलेको छ । मन्त्री ज्वालाले कमिशनको लोभमा ‘एक्सन’ नलिँदा नारायणगढ बुटवल सडक र मुग्लिन–पोखरा सडकको यात्रा पशुपतिनाथलाई सम्झेर गर्नुपरेको अवस्था छ । मन्त्रीको कुर्चीमा चुम्बक झैं टाँसिएर बसेका ज्वालाको अक्षमता र बालकुमारी घटनालाई लिएर चौतर्फी विरोध हुँदा पनि दक्षिणाभेटीका कारण नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल मुख बन्द गरेको चर्चा चलेको छ ।
गत वर्ष २०७९ साल चैत १७ गते भौतिकमन्त्री बनेका ज्वालाले वर्ष दिन नहुँदै हट्ने जानकारहरुले बताएका छन् । यसैबीच मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउन एकीकृत समाजवादीमा पनि छलफल चलेको समाचार श्रोतले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *