आयल निगममा भट्ट र एनटीएमा भण्डारी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गत फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा डा. चण्डिकाप्रसाद भट्ट र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।
निगमबाट तात्कालिन कार्यकारी निर्देशक उमेश थानी र दूरसञ्चार प्राधिकरणबाट पुरुषोत्तम खनालले राजीनामा दिएपछि दुवै संस्था नेतृत्वविहीन बन्न पुगेका थिए । निगमको कार्यकारी निर्देशकमा सरकारले नियुक्त गरेका भट्टले यसअघि पनि आयल निगमको नेतृत्व गरिसकेका छन् । भट्टपछि आयलमा गोपालबहादुर खड्का, सुशील भट्टराई, सुरेन्द्र पौडेल र उमेश थानीले निगमको नेतृत्व गरेका थिए ।
त्यसैगरी दूरसञ्चार प्राधिकरणमा पनि दिगम्बर झापछि पुरुषोत्तम खनाल अध्यक्ष बनेका थिए । खनालले कार्यकाल बाँकी हुँदै टेरामक्स प्रकरणमा राजीनामा दिएका थिए । दूरसञ्चार प्राधिकरणमा अध्यक्ष बन्न निवेदन दिएकाहरुमध्ये लघुसूचीबाट तीनजनामा पर्न सफल भएका भण्डारीलाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो । भण्डारीलाई सूचना तथा सञ्चारमन्त्री रेखा शर्माका सूचना प्रविधि सल्लाहकार थिए । चाटर्ड एकाउन्टेन्ट भण्डारी विदेशमा बसेर टेलिकम कम्पनीमा काम गरेका व्यक्ति रहेको बताइएको छ । गत २०८० साल असार ५ गते सूचना तथा सञ्चारमन्त्री शर्माको सल्लाहकार बनेका भण्डारी दाङ निवासी हुन् ।
सिंहदरबार प्रवेश गरेको छोटो समयमै प्राधिकरणको अध्यक्ष बन्न सफल भण्डारीले फ्रिक्वेन्सी नीति तयार गर्न अनुमतिपत्र खोसिएका स्मार्ट टेलिकम जस्ता दूरसञ्चार सेवा प्रदायकहरुको सम्पत्ति व्यवस्थापन नियमावली संशोधनमा पनि नेतृत्वदायी भूमिका खेलेको समाचार श्रोतले बताएको छ । दूरसञ्चार प्राधिकरण सम्बन्धी राम्रो जानकार मानिने भण्डारीले गत फागुन ८ गते पद बहाली गरेको श्रोतले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *