स्थितिगत्यात्मक प्रगतिवादबारे संगोष्ठी

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ ललितपुरस्थित काठमाडौं विश्वविद्यालय परिसरमा ‘समकालीन नेपालमा स्थितिगत्यात्मक प्रगतिवादको सान्दर्भिकता’ विषयक राष्ट्रिय संगोष्ठी सम्पन्न भएको छ । सिद्धान्तबारे अनुसन्धान एवं वैचारिक विमर्श अगाडि बढाउने उद्देश्यले संगोष्ठी आयोजना गरिएको सहृदयता समाज नेपालले जानकारी दिएको छ ।
प्रसिद्ध शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले उद्घाटन गरेको संगोष्ठीमा काठमाडौं विश्वविद्यालयका प्राध्यापक, वरिष्ठ मनोचिकित्सक, सांस्कृतिक चिन्तक एवं लेखक प्रा.डा.अजय रिसालले ‘श्रीमद्भगवद्गीताको आलोकमा स्थितिगत्यात्मकता’ शीर्षकमा बीज–वक्तव्य (कीनोट स्पीच) दिए । उद्घाटन सत्रमा प्रा.डा.कोइराला र प्रा.डा.रिसालका साथै अर्थविद् प्रा.डा.चन्द्रमणि अधिकारी, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवं प्रसिद्ध साहित्यकार डा.टी.एन.जोशी, नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति प्रा.डा.मुकुन्दप्रसाद लामिछाने र डिभाइन पाथ इन्टरनेसनलकी अध्यक्ष एवम् योगाचार्य एवं समाजशास्त्री योगिनी सरितानन्दीलगायतले मन्तव्य राखेका थिए ।
संगोष्ठीको समापनसत्रमा प्रसिद्ध संस्कृतिविद् प्रा.डा.वीणा पौड्याल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं समालोचक प्रा.डा.लक्ष्मणप्रसाद गौतम, सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक एवं गीता फर् लाइफ अभियानका अभियानकर्ता डा.हरिश्चन्द्र कमली, प्रा.डा.नारायणप्रसाद गड्तौला र सहृदयता समाज नेपालका अध्यक्ष सुशील गौतमलगायतले मन्तव्य राखेका थिए ।
दुइटा सत्रहरूमा प्यानल डिस्कसन (विद्वत् विमर्श) भएको संगोष्ठीमा विभिन्न विश्वविद्यालयका प्राध्यापक, अनुसन्धाता तथा पेशाकर्मीहरूले स्थितिगत्यात्मक प्रगतिवादका विभिन्न आयामहरूबारे विचारविमर्श गरेका थिए । तीनवटा समानान्तर सत्रमा २३ जना शोधार्थीले आ–आफ्ना कार्यपत्र प्रस्तुत गरे ।
काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका विभागीय प्रमुख, जरोकिलो महाअभियानका संकल्पकर्ता एवं सिद्धान्तकार डा.निर्मलमणि अधिकारीले वि.सं.२०७६ मा नौवटा प्रवचन–शृङ्खलामार्फत् ‘स्थितिगत्यात्मक प्रगतिवाद’ सिद्धान्तको व्याख्या गरेका थिए ।
वैदिक दर्शनका आधारमा डा. अधिकारीले सामाजिक–सांस्कृतिक एवं अर्थराजनीतिक दृष्टिकोणबाट समाज विकासको सिद्धान्त प्रस्तुत गरेका हुन् । यसबारे विभिन्न भाषामा पुस्तकहरू, अनुसन्धानपत्र तथा लेखहरू प्रकाशित भइसकेका छन् । डा.अधिकारीद्वारा प्रतिपादित ११ वटा सिद्धान्त एवं अवधारणामा केन्द्रित रही निकट भविष्यमै अन्तर्राष्ट्रिय संगोष्ठी समेत आयोजना गरिने जानकारी सहृदयता समाजका अध्यक्ष गौतमले दिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *