असफल अर्थमन्त्री शर्माको राजीनामा माग

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ । एमसीसीको विषयमा सरकारलाई असहयोग गर्ने र सकेसम्म उम्कने प्रपञ्च गरेका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ । ‘अर्थतन्त्रसम्बन्धी शून्य ज्ञान भएका बन्दुके पृष्ठभूमिका’ भनी आलोचना गर्ने गरिएका शर्माका कारण अहिले मुलुकको अर्थतन्त्र डामाडोल बन्न पुगेको बताइन्छ ।

अर्थमन्त्री शर्माले अर्थमन्त्रालयको नेतृत्व सम्हालेको आठ महिना पुग्नै लाग्दा वैदेशिक सहायता, रेमिट्यान्स र राजश्व वृद्धिमा भारी गिरावट आएको अर्थका जानकारहरुले बताएका छन् । त्यसबाहेक बैंकिङ तरलताका कारण ऋणीहरुले बैंकबाट ऋणसमेत पाउन सकेका छैनन् । पुँजीगत खर्च वृद्धि हुन नसक्दा विकास आयोजनाहरु टिठलाग्दो अवस्थामा धिकिर—धिकिर गरिरहेका छन् । शेयर बजारमा गिरावट र चर्को मूल्यवृद्धिले सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गइरहेको अवस्थामा अर्थमन्त्री शर्मा कुम्भकर्ण निद्रामा मस्त रहेको आरोप लाग्ने गरेको छ ।

मुलुकको यस्तो दयनीय अवस्थालाई सुधार गर्नुको सट्टा कमिशन र नातागोतालाई मात्र ध्यान दिने गरेका शर्मा गत फागुन ८ गते संसद्मा एमसीसी टेबुल गर्दा अस्वस्थ भएको नाटक गरेर गायब भएका थिए । फागुन १३ गते पनि संसद्मा उपस्थित नभई पर्वततिर श्रीमतीसहित मेजमानी खान हानिए जबकि संसद्मा एमसीसी अर्थमन्त्री शर्माले नै टेबुल गर्नुपर्ने थियो । अर्थमन्त्रीको अनुपस्थितिमा एमसीसी काँग्रेसका मन्त्रीहरुले टेबुल गरेका थिए । सत्ता गठबन्धन जोगाउन माओवादी केन्द्रले साथ दिने निर्णय गरेपछि मात्र अर्थमन्त्री शर्मा फागुन १५ गते प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर व्याख्यात्मक घोषणा र विपक्षमा रहेका सत्ता गठबन्धनका सांसद्हरुको प्रश्नको उत्तर दिन रोष्टममा उपस्थित भए ।

यसरी द्वैध चरित्र देखाई पदको मोह र सरकारलाई असहयोग गरेका अर्थमन्त्री शर्माको राजीनामा माग गठबन्धनभित्रै उठेको छ । एमसीसी पारित भइसकेको अवस्थामा अब हुने मन्त्रिमण्डल पुनर्गठनमा अर्थमन्त्री शर्माको जागिर जाने राजनीतिक वृत्तमा चर्चा चलेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा रहेर आपूmलाई असहयोग गर्ने मन्त्रीहरुको अभिलेख राखेको समाचार स्रोतले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *