फाटेको मन जोड्ने अभियानमा काँग्रेस

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर l गत फागुन २९ गतेबाट अगामी चैत २९ गतेसम्म नेपाली काँग्रेसले देशका ७५३ वटा स्थानीय निकायमा घरदैलो अभियान शरु गरेको छ । यसका लागि काँग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । एक महिने चुनावी अभियानका क्रममा हरेक टोलमा टोल समिति गठन गर्ने र नागरिकलाई पार्टीसँग जोड्ने काँग्रेसले तयारी गरेको छ ।

टोल कार्यसमितिको काम मतदातासँग निरन्तर सम्पर्क र सम्वाद गर्ने रहेको छ । टोल कार्यसमितिमा सभापति, उपसभापति, सचिव र सहसचिवसहित १५ सदस्यीय रहने व्यवस्था काँग्रेसको विधानले गरेको छ । यसरी टोल समिति सक्रिय बनाउँदा धेरै कार्यकर्ताले काम गर्ने अवसर पाउने नेताहरुको बुझाई छ ।

यसबाहेक यो एक महिने अभियानले काँग्रेसको १४ औँ महाधिवेशनका क्रममा नेतृत्वको लागि भएको संस्थापन र इतरपक्षको प्रतिस्पर्धाले गाउँ तहसम्म भएको गुटगत विभाजनलाई पनि जोड्ने र फाटेको मनलाई एकढिक्का बनाउन सहयोग गर्ने बताइएको छ । काँग्रेसको १४ औँ महाधिवेशनले पुराना गुटहरु भत्काए पनि आ—आफ्नो गुटको नेता, कार्यकर्ताहरुलाई खासगरी सभापति शेरबहादुर देउवा र इतरपक्षका नेता शेखर कोइरालाको पक्षमा विभाजित गरेको थियो । केन्द्रमा एमसीसी पास गर्दा काँग्रेस नेतृत्व एकढिक्का भए पनि तल्लो तहमा भने अझै तुष बाँकी रहेको काँग्रेसका जानकारहरुले बताएका छन् ।

काँग्रेसको १४ औँ महाधिवेशनको विभाजित मानसिकताले त्यही पार्टीको मान्छे मर्दा पनि मलामी नगएको घटनाले सौहार्दता आएको छैन । वडा तहदेखि नै दुई समूहमा विभाजित काँग्रेसका नेता तथा कार्यकर्ताको यही अवस्था रहने हो भने आगामी बैशाख ३० गते हुने स्थानीय तहको मात्र नभई प्रदेश र प्रतिनिधिसभाको चुनावमा असर पर्ने स्पष्ट छ । काँग्रेसले २०७० र २०७४ को चुनावलाई मध्यनजर गर्दै जनतालाई आकर्षित गर्न केही न केही कार्यक्रम लिएर फाटेको मनलाई हार्दिकता कायम गर्न एक महिने अभियान शरु गरेको हो ।

‘गाउँ—गाउँ जाउँ, काँग्रेसलाई जिताउँ’, ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीतिअनुसार आगामी स्थानीय निर्वाचनमा विजयी गराउन अनुरोध र दुई हात जोडेर अपिल गरिने यो एक महिने अभियानको उद्देश्य रहेको छ । विगतमा जिल्ला केन्द्रित हुने नेताहरु यसपाली गाउँगाउँ, टोलटोल र वडा तहसम्म जनताको अपेक्षा सुन्न खटिएका छन् । काँग्रेसले गर्ने अन्तरघातका कारण विगतमा पराजित हुनु परेको तीतो सत्यलाई मध्यनजर गर्दै यसपाली काँग्रेसले फाटेको मनलाई जोड्ने र जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रम ल्याएको छ ।

काँग्रेस बनेर मञ्चमा बस्ने तर मत नहाल्नेजस्तो अपराध नगर्न काँग्रेस महामन्त्री गगन थापाले सुझाएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *