एफक्यान र सिडेनको चुनावमा कम्युनिष्ट क्लिनस्वीप

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ । गत शुक्रबारदेखि शरु भएको अधिवेशनमा नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) र नेपाल इन्जिनियर एसोसिएसन (सिडेन) को निर्वाचनमा कम्युनिष्टहरु क्लिनस्वीप भएका छन् ।

निर्माण व्यवसायी महासंघको निर्वाचनमा तीनजनाले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए, जसमध्ये काँग्रेस निकट मानिने रवि सिंहले सात सय ६५ मत प्राप्त गरी पुनः अध्यक्षमा दोहोरिएका छन् । सिंहका प्रतिस्पर्धी निर्माण व्यवसायी एवं राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेका छोरा निकोल्स पाण्डेले तीन सय ३७ मत प्राप्त गरेका थिए । पाण्डे कालिका कन्स्ट्रक्सनका मालिक हुन् ।

त्यसैगरी, अध्यक्षका अर्का उम्मेदवार हुमनाथ कोइरालाले जम्मा ३२ मत ल्याएर शर्मनाक हार व्यहोरेका छन् । कोइराला विकोई बिल्डर्सको मालिक र राजमार्गमा ढाट तेस्र्याएर यातायात धनीहरुबाट कर उठाउने निर्माण व्यवसायी हुन् ।

दोस्रो कार्यकालका लागि निर्वाचित सिंहले निर्माण व्यवसाय क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई अन्त्य गर्ने आशा एवं विश्वास गरिएको छ । महासंघमा अध्यक्ष पदमा उम्मेदवार बनेकाहरुमध्ये सिंहको प्रतिष्ठा अरुको भन्दा राम्रो रहेका कारण दोस्रो कार्यकालका लागि मतदाताहरुले मन पराएको जानकारहरुले बताएका छन् । महासंघको महासचिवमा रोशन दाहाल निर्वाचित भएका छन् ।

यसैगरी, इन्जिनियरहरुको चुनावमा काँग्रेस निकट सिडेनको जीत भएको छ । सिडेनको चुनावमा काँग्रेस निकटकै इन्जिनियरहरुले दिलिपकुमार झाको नेतृत्वमा अर्को प्यानल बनाएर चुनाव लडे पनि पार्टीले हरिबहादुर दर्लामीलाई मान्यता दिई झाको प्यानलमा रहेकाहरुलाई पार्टीले कारबाही गरेको सिडेन स्रोतले बताएको छ । इन्जिनियर एसोसिएसनको चुनावमा एमाले निकट सुरज लामिछाने र माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी तथा नेपाल मजदुर किसान पार्टीले पनि प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।

चुनावमा प्रदेशतर्फ पनि सिडनेले जीत हासिल गरेको समाचार सूत्रले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *