काठमाडौं/ यही बैशाख २६ गतेबाट प्रदर्शनीमा आउने तयारीमा रहेको चलचित्र ‘जार’ को प्रिमियर नेपाल बाहिर गरिएको छ । नेपाली भाषीको बाहुल्यता रहेको भारतीय शहर सिक्किममा यसको प्रिमियर गरिएको हो । बुधवार साँझ ५ बजे सिक्किमको प्रशासनिक जिल्ला गान्तोकस्थित बज्र सिनेमा हलमा प्रिमियर गरियो । त्यसका लागि मंगलबार चलचित्रको टिम सिक्किम प्रस्थान गरेको थियो ।
निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डे, अभिनेताद्वय सौगात मल्ल, अनुपविक्रम शाही र गायिका तथा संगीतकार झुमा लिम्बू काठमाडौंबाट हवाई मार्ग हुँदै झापा ओर्लिएर सिक्किम प्रस्थान गरेका बताइएको छ । चलचित्रको छायांकन सिक्किममै भएकाले प्रिमियर पनि त्यहीँ आयोजना गरिएका बताइएको छ ।
सिक्किमपछि शनिबार सिलिगुडीमा चलचित्रको दोस्रो प्रिमियर राखिएको छ । प्रिमियरमा स्थानीय दर्शकसँग चलचित्र हेरेर कलाकार तथा निर्माण टिमले प्रतिक्रिया लिनेछन् । दार्जिलिङमा पनि चलचित्रको प्रचारात्मक कार्यक्रम रहेको निर्देशक लामाले जानकारी दिएका छन् ।
भारतीय मूलका नेपाली भाषी साहित्यकार इन्द्रबहादुर राईको कथा ‘जार’ कथामा आधारित रहेर बनेको चलचित्रमा सौगात र अनुपविक्रमसँगै भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको प्रमुख भूमिका छ । यस चलचित्रमा सरवानन इलावार्सुको छायांकन रहेको छ भने अखिलेश राईको सम्पादन छ । चलचित्रको कथा २२५ वर्ष अगाडिको परिवेशमा रहेको बताइएको छ ।
सिक्किममा ‘जार’ को प्रिमियम
Facebook Comments Box
