‘होस्टेल ३’ को कमाइ चार करोडमाथि

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ चलचित्र ‘होस्टेल ३’ ले ५१ औँ दिने यात्रा पूरा गरेको छ । गत फागुन २३ गतेदेखि प्रदर्शनीमा आएको यो चलचित्रले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा ५१ औँ दिनको प्रदर्शनी भएको थियो । यसरी विभिन्न सिनेमा हलतमा चलेको उक्त चलचित्रले चार करोड रुपियाँभन्दा माथिको व्यापार गरेको बताइएको छ ।
चलचित्रले हलको कमाइबाट लगानी उठाएको छ भने डिजिटल र ओभरसिज राइट्सको रकम निर्मातालाई मुनाफाको रूपमा प्राप्त भएको बताइएको छ ।
५१ दिनको प्रदर्शनीको उपलब्धिलाई स्मरणीय बनाउन सोमबार रञ्जना हलमै विशेष कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा चलचित्रको टिमलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा चलचित्रका प्रमुख कलाकारहरू पारस बम (कुल ब्वाय), सिम्रन पन्त, हेना नगरकोटी, आशिष घिमिरे, सन्तोष बानियाँ लगायतको उपस्थिति रहेको थियो ।
चलचित्रमा विशेष भूमिकामा अभिनय गरेका कलाकार केदार घिमिरे (माग्ने बुढा) पनि कार्यक्रममा उपस्थित थिए । उनले नयाँ कलाकारहरूको पहिलो चलचित्र नै व्यावसायिक रुपमा सफल भएकोमा खुशी व्यक्त गर्दै आफ्नो छोरा आशिष घिमिरेसहित अन्य कलाकारहरूको सफलताले आफू भावुक बनेको बताए ।
होस्टेलमा बसेर कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूको कथामा आधारित भएर बनेको ‘होस्टेल ३’ लाई गायक तथा संगीतकार सशान कँडेलले निर्देशन गरेका हुन् । पहिलो निर्देशकीय चलचित्रले नै व्यावसायिक सफलता पाएपछि उनी यसै वर्ष अर्को चलचित्र बनाउने तयारीमा जुटेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *