काठमाडौं/ चलचित्र ‘बलिदान’ को प्रि–टिजर सार्वजनिक गरिएको छ । बुधबार चलचित्रका मुख्य अभिनेता समीर भट्टको जन्मदिनको अवसरमा सार्वजनिक ४२ सेकेण्ड लामो टिजरमा उनी मात्र चित्रित छन् ।
उनको एक्सन दृश्य समेटिएको टिजरमा अभिनेता विराज भट्टको देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेशन सुन्न सकिन्छ । टिजरको शुरुवातको दृश्यले चलचित्रमा समीर कुनै समुदायको शक्तिशाली पात्रको रुपमा रहेको संकेत गरेको भनी चलचित्रकर्मीहरुका बीचमा चर्चा चलेको छ ।
रिसाहा भावमा प्रस्तुत भएका उनको टिजरमा एउटा संवाद, ‘आमाको पीर, यो देशको शिर कहिल्यै झुक्न नदिने सपूत हुँ म ।’ भन्ने आएकाले दर्शकलाई यसले कौतुहता प्रदान गरेको छ । चलचित्रका निर्देशक सन्तोष सेनले समीरलाई युगपुरुषको संज्ञा दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘नेपाली चलचित्र जगतमा समीरको प्रवेशले एक नयाँ युगको थालनी गर्नेछ । त्यसैले हामी उनलाई युगपुरुष भन्दै आएका छौँ । समीरमा कलाकारिकता र अभिनयका सबै गुण र सीपले भरिएका छ । ‘बलिदान’ ले ती सबै गुण र सीपलाई उजागर गरेको छ ।’
उक्त चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, सन्तोष सेन, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतको अभिनय रहेको बताइएको छ । यसमा ऋचाले समीरकी आमाको भूमिकामा अभिनय गरेकी छिन् । ‘प्रेमगीत’ निर्माण कम्पनी ‘आसुसेन फिल्म्स्’को प्रस्तुति रहेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिष्ट हुन् । कलाकार प्रेम पुरी कार्यकारी निर्मातामा रहेका छन् । यो चलचित्र आगामी दशैंको फूलपाती (सेप्टेम्बर २९) बाट प्रदर्शनीमा आउने बताइएको छ ।
‘बलिदान’ को प्रि–टिजर आयो
Facebook Comments Box
