काभ्रेमा प्रवाभशाली नेताहरु कांग्रेसमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

धुलिखेल l नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरुले काभ्रेपलाञ्चोक जिल्लामा दलत्याग गर्ने होडबाजी चलेको छ । धुलिखेल नगरपालिकाका वडाध्यक्ष सहितका नेताहरुले हालै मात्र नेपाली कांग्रेस प्रवेश गरेको अवस्थामा एमालेमा फेरि भूइँचालो गएको छ ।

एमालेका बागमती प्रदेश कमिटीसहित जिल्लाका प्रभावशाली नेताहरूले कांग्रेसमा प्रवेश गरेका कारण एमालेलाई आगामी चुनावमा नराम्रो असर पर्ने बताइएको छ । कांग्रेस काभ्रेपलाञ्चोकद्वारा धुलिखेलमा आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीयस्तरका नेताहरु आई उनीहरुलाई कांग्रेसमा प्रवेश गराएका थिए ।

यसरी प्रवेश गर्नेहरुमा एमालेका प्रदेश कमिटी सदस्य रामकृष्ण हुमागाइँसमेत रहेका छन् । हुमागाइँ तत्कालीन जिल्ला विकास समितिका सदस्य तथा एमालेका पूर्व क्षेत्रीय अध्यक्ष रहिसकेका राजनीतिज्ञ हुन् । तीन दशक लामोसमयदेखि एमालेको राजनीतिमा सक्रिय हुमागाइँँ भूमि आयोग काभ्रेका जिल्ला संयोजक समेत रहेका बताइएको छ ।

यसैगरी गाविसका पूर्वअध्यक्ष साधुराम बडाल, उपाध्यक्ष विष्णुबहादुर बस्नेत, निर्वाचित वडा सदस्य तथा धुलिखेल एमाले नगरकार्यपालिकाका सदस्य उपेन्द्र हुमागाइँ, एमालेका नेता माधवमणि हुमागाइँ, जिल्ला सदस्य मुरारी हुमागाइँले पनि एमाले परित्याग गरी कांग्रेसको सदस्यता लिए । यस्तै एमाले नगरपालिकाका सदस्य पुरुषोत्तम बस्नेत, नगर एमालेका नगर सदस्य यादव गौतम, धनञ्जय हुमागाइँ, अर्जनबहादुर भुजेल, रामकृष्ण भुजेल लगायत सयभन्दा बढीको संख्यामा एमालेलगायत विभिन्न दल परित्याग गरी प्रवेश गरेको काभ्रेपलाञ्चोक कांग्रेसले जनाएको छ ।

यसरी आसन्न स्थानीय निर्वाचनको मुखमा एमालेका प्रभावशाली नेताहरूले दल परित्याग गर्दा त्यसले एमालेलाई ठूलो घाटा हुने तथा कांग्रेसलाई जिल्ला भरी नै फाइदा हुने भनी चर्चा चलेको छ । हालै मात्र धुलिखेल नगरपालिका—८ का वडाध्यक्ष निराजन जंगमले एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए ।

धुलिखेलमा भएको यो प्रवेशले एमालेको जिल्ला अध्यक्ष समेत रहेका धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठको जनाधार कमजोर बनाइ दिएको चर्चा छ । यसैगरी एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका आसेपासे भन्ने आरोप लाग्ने गरेका पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाको गृहजिल्ला समेत रहेको काभ्रेपलाञ्चोकमा कांग्रेसले आफ्नो पकड बढाउँदै लगेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *