काठमाडौं/ लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ भोलि शनिबारबाट बजारमा आउने भएको छ । कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीतमा समेत कमल चलाउँदै आएका वियोगीको यो पहिलो कथा–कृति हो ।
पेज टर्नर प्रा.लि.ले प्रकाशन गरेको कथा–कृतिमा वियोगीले विशेषतः पश्चिम नेपाल अर्थात् गण्डकी पानीढलो क्षेत्रलाई आफ्नो कथासंग्रहमा बढी स्थान दिएका छन् । त्यसमा पनि स्याङ्जा जिल्लाभित्र प्रचलित भाषिक सौन्दर्य तथा माओवादी द्वन्द्वको पृष्ठभूमिमा सिर्जित नेपाली समाजका अनेक पाटालाई उत्खनन् गरिएको बताइएको छ ।
यथार्थवादी धारका कथाहरूमा सामाजिक विभेद, असमानता तथा जनयुद्धका त्रासदी समेटिएका बताइन्छ । बालवयका श्वरलहरीमा मिसिएर आएका अनेक लोकभाकाका मुच्र्छना र लोक–संस्कृतिको सुगन्ध पनि यो कथासंग्रहमा समेटिएको बताइन्छ ।
संग्रह पढ्दा स्याङ्जाको टाकुरामा टेकेर उडेका भावना मध्यपश्चिम, सुदूरपश्चिम र पूर्वतिरसमेत डुल्न भ्याएको अनुभूति पाठकले गर्ने बताइएको छ । पर्यावरणीय चेत र वस्तुबादी धार कथाका मुख्य सार रहेका भनी प्रकाशकले जानकारी दिएका छन् ।
करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय वियोगीसँग विगतमा नेपाल समाचारपत्र, नागरिक दैनिक लगायत विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकामा काम गरेको अनुभव छ । उनी नेपालको पहिलो ऊर्जा सम्बन्धी अनलाइन तथा अर्धवार्षिक पत्रिका ‘ऊर्जा खबर’ को सम्पादकको जिम्मेवारीमा छन् ।
साहित्य लेखनमा विशेष रुचि राख्ने वियोगी विशेषतः कथा र निबन्ध विधामा कलम चलाउँछन् । ‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८’ मा उनको निबन्ध ‘कोरोनाको कर्खा’ प्रथम भएको थियो । त्यस्तै, ‘डिसहोम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता’ को पहिलो संस्करणमा उनको ‘टाउको’ शीर्षकको कथा दोस्रो भएको थियो ।
पत्रकार लक्ष्मणको कथासंग्रह ‘सत्यम्’
Facebook Comments Box
