रुसीलाई प्रतिबन्ध लगाउन युक्रेनको आग्रह

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । रुस र युक्रेनका बीचमा चलिरहेको युद्धको असर नेपालमा समेत परिरहेको छ । आर्थिक रुपमा यसको असर पेट्रोलियम पद्धार्थहुँदै सबैजसो क्षेत्रमा पर्न थालेको अवस्थामा नेपालमा पर्वतारोहणका लागि आउने रुसी नागरिकलाई लक्षित गरेर युक्रेनको आग्रह आएको छ ।

त्यसरी नेपालमा आउने रुसी जनतामाथि प्रतिबन्ध लगाउन युक्रेनले नेपाललाई आग्रह गरेको हो । भारतस्थित युक्रेनको राजदूतावासले नेपाली राजदूतावासमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसहित पर्वतारोहण सम्बन्धि निकायहरुलाई पत्र लेख्दै यस्तो आग्रह गरेपछि त्यसको असर कस्तो पर्ने हो भनी पर्यटन व्यवसायीहरु सोचमग्न अवस्थामा पुगेका छन् ।

युक्रेनले पत्रमा रक्तपातपूर्ण युद्ध शुरु गर्ने रुसका प्रतिनिधिलाई अन्तर्राष्ट्रिय ओलम्पिक समिति, अन्तर्राष्ट्रिय फुटबल, बास्केटबल, टेनिस, हकी, बक्सिङ, एथलेटिक्स जस्ता कयौं अन्तर्राष्ट्रिय खेल संघहरुले सहभागितामा प्रतिबन्ध लगाएका वा बाहिर राखेको कुरालाई स्मरण गराइएको छ । युक्रेनी दूतावासले नेपालसँग युक्रेनमा आक्रमण जारी रहेसम्मका लागि रुसी पर्वतारोहीमाथि प्रतिबन्ध लगाउन अनुरोध गरेको हो । युक्रेनले नेपाली हिमालहरु पवित्र र दिव्य रहेको भन्दै त्यस्तो स्थानमा हत्याका लागि जिम्मेवार देशको झण्डा फहराउनु चिन्ताको विषय भएको उल्लेख गरी सहानुभूति लिने प्रयास पनि गरेको छ ।

यस्तो पत्र आए पनि नेपाल सरकारले यस विषयमा कुनै निर्णय लिएको भने छैन । यसअघि नेपाल सरकारले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा गरेको थियो । यसैगरी संयुक्त राष्ट्र संघमा समेत आफू रुसको यो कार्यको विपक्षमा रहेको स्पष्ट पार्दै मतदानमा सहभागी भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *