गभर्नर पौडेललाई एनआरएनएको बधाई

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई बधाई तथा शुभकामना दिएको छ । संघका अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको टोलीले बैङ्कको कार्यालयमा पुगेर उनलाई बधाइ दिएको हो ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले नेपालमा आर्थिक विकासका नयाँ सम्भावना खुल्न सक्ने उल्लेख गर्दै एनआरएनएका तर्फबाट लगानी भित्र्याउन सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले गैर आवासीय नेपाली विदेशमा आर्जन गरेको पुँजी, सीप र अनुभवलाई देशको विकासमा प्रयोग गर्न इच्छुक रहेको जानकारी दिंदै राष्ट्र बैङ्कले नीतिगत रूपमा आवश्यक सहजीकरण गरिदिने विश्वास लिए ।
श्रेष्ठले हाल विश्वका ८० भन्दा बढी देशमा फैलिएका एनआरएनहरू नेपालमा उद्योग, पर्यटन, सूचना प्रविधि, ऊर्जा, पूर्वाधार तथा वित्तीय क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए । यस्तो लगानी सुरक्षित, पारदर्शी र प्रतिफलमुखी हुने सुनिश्चितताका लागि राष्ट्र बैङ्कको नीतिगत स्पष्टता अपरिहार्य रहेको उनले बताए ।
अध्यक्ष श्रेष्ठसँगै एनआरएनएका उपाध्यक्ष मनोज गोर्खाली, एनआरएनए उच्चस्तरीय समितिका सदस्यहरू विनोद कुँवर, रविना थापा, जानकी गुरुङ लगायतले गभर्नर पौडेललाई भेटेका थिए । गभर्नर डा. पौडेलले गैर आवासीय नेपालीको सद्भाव र सक्रियताप्रति आभार प्रकट गर्दै राष्ट्र बैङ्क सधैँ सकारात्मक एवं सहकार्यपूर्ण भूमिकामा रहने बताए ।
उनले देशको दीर्घकालीन आर्थिक विकासमा एनआरएनहरूको योगदान उल्लेखनीय बन्न सक्ने बताउँदै लगानीमैत्री वातावरण सिर्जना गर्ने दिशामा राष्ट्र बैङ्कले आवश्यक पहल गर्नेछ भनी विश्वास दिलाएका थिए । उनले नेपालमा लगानीलाई आकर्षक बनाउन उपयुक्त नीति ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *