कलाकारहरु गहना कि दलका झोले ? ll अनुसा थापा ll

Nayabimarsha (Weekly Newspaper from Nepal)

नेपाल सरकारले नेपाली कलाकारहरुलाई राष्ट्रिय गहना भनेर सम्मान गर्ने गरेको छ । कलाकारहरु राष्ट्रको प्रतिष्ठा हुन् भन्ने सरकारको बुझाइ छ । फिल्म, टेलिश्रृंखलामा अभिनय गर्नेदेखि लिएर म्युजिक भिडियो खेल्ने, गीत गाउनेलगायतका सबैलाई कलाकारमा मानिन्छ । उनीहरुलाई सरकारले बाँचुञ्जेल त सम्मान गरिहाल्छ, मृत्युपछि पनि देशको गहना गुमाएको प्रति भाव व्यक्त गर्ने गरेको छ । मुलुकमा चेतना फैलाउन कलाकारहरुको निकै अहम् भूमिका छ ।

उनीहरु अभिनयदेखि लिएर गीतहरु अभियानजस्तै हुनुपर्छ । जुनै पनि फिल्म होस् या म्युजिक भिडियो त्यसमा परिवर्तन ल्याउनुपर्ने अभ्यास गरिएको हुनुपर्छ । राज्यको आँखामा नपुगेको ठाउँ विकासलाई लिएर कलाकारले गीत गाउनुपर्ने हो । कलाकारहरुले चाहे भने धेरै परिवर्तन गर्न सक्छन् । कलाकारहरु राज्यको मात्र होइन् जनताको पनि गहनाको रुपमा चिनिन सक्नुपर्छ । गीत र अभिनय जहिले पनि पाठ दिने खालको हुनुपर्छ । मुलुकको भएका विकृति जस्तैः भ्रष्टाचार, बलात्कार, ठगी, अन्याय, अत्याचार, दाइजोलगायतको विषयलाई उठान गरेर कलाकारले गीतमार्फत बाहिर ल्याउन सक्छन् । कलाकारसंँग यति क्षमता हुन्छ कि उसले गीतमार्फत विकासको मूल फुटाउन सक्छ । चाहे हाम्रै छिमेकी होस् त्यहाँका कलाकारहरुले निकै परिवर्तनशील भूमिका निभाइरहेको हुन्छन् ।

देशलाई पर्दा उनीहरुले आफ्नो मुलका जनतालाई राहत दिन्छन् । महामारीकै बेलामा पनि अरु मुलुकका कलाकारले आफ्नो राज्य र जनतालाई कति सहयोग गरे । उनीहरुले कहाँ खानेपानी छैन, शिक्षाको कहाँ खाँचो छ त्यहाँ गएर आफ्नो कमाइले विकास गर्छन् । उनीहरुले कुनै राजनीतिक दलका सदस्यता पनि लिएका हँुदैनन् । आपूmलाई स्वतन्त्र बताउने उनीहरु राज्य र जनता दुवैका गहना हुन् । तर, नेपालका कलाकारहरुले ठ्याक्कै उल्टो काम गरेका छन् । हरेक कलाकारले राजनीतिक दलको सदस्यता लिएका छन् ।

उनीहरु स्वतन्त्र नभई दलगत चलेका छन् । आफ्नो दलले भनेपछि जस्तो पनि गीत गाइदिन्छन् । सोच्दै नसोची मुलुकलाई नै अप्ठयारो पार्ने गीत गाउँछन् । राम्रो चेतना दिने खालका होइनन् गलत र भ्रममा पार्ने खालका गीत गाउँछन् । अर्का दल गिराउनका लागि जस्तो मनलाग्यो त्यस्तै गीत गाउने, अनि दबाब थेग्न नसकेपछि युट्युबबाट हटाउने । कुनै पनि गीत गाउनुअघि कलाकारले समाज र राष्ट्रमा कति क्षति पुग्छ यसबारे ख्याल गर्नुपदैन ? सुन्न पनि पनि लाज लाग्ने खालका गीत कलाकारहरु गाउँछन् । यसबाट समाजले के सिक्ने ? आपूmले गाएको गीतकाट समाज र राज्यलाई कति असर पर्छ त्यो सोच्नु पर्दैन ? कलाकारहरु कहिले जिम्मेवार बन्छन् ?

छिनको रमाइलोका लागि जस्तो मनलाग्यो गीत गाउने, अभिनय गर्ने । अनि पछि दबाब आएपछि हटाउने ? यस्तो गर्नेलाई सरकारले कानूनको दायरामा ल्याउनुपर्दैन ? पछिल्लो समय निर्देशकहरुले पनि बिना औचित्यका फिल्महरु बनाइरहेका छन् । फिल्ममा न कथा हुन्छ न कुनै चेतना फैलाउने गतिविधि । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयको अनुमतिबिना फिल्म र म्युजिक भिडियो बनाउन नदिने निर्णय गर्नुपर्छ ।

कलाकारहरुले कुन म्युजिक भिडियो बनाउन लागेको, कुन फिल्मको निर्माण हँुदैछ यसको जानकार सरकार हुनुपर्छ । गीत लेखिसकेपछि सम्बन्धित विभाग र मन्त्रालयलाई देखाउनुपर्छ । सम्बन्धित मन्त्रालय र विभागले त्यस गीतबारे जाँचबुझ गरेर मात्र स्वीकृति दिनुपर्छ । होइन भने जथाभावी गीत र फिल्म बनाउने कार्यको अन्त्य हँुदैन् । समाजमा थप विकृति फैलिन्छ भने यसले नराम्रो सन्देश बाहेक अरु केही दिँदैन् । सरकारको स्वीकृति बिना कसैले केही गर्न पाउँदैन भने कलाकार पनि त्यस अन्तर्गत पर्दछन् ।

पछिल्लो समय नेपालमा म्युजिक भिडियो बनाउनेको संख्या ह्वात्तै बढेको छ । कलाकारहरुले पनि जथाभावी रुपमा ल्याएका छन् । यता, दोहोरी खेल्ने कलाकारहरु पनि उस्तै छन् । एक छिनको रमाइलोको लागि फोहोरी र अश्लिल शब्दको प्रयोग गर्दछन् । तर, त्यस्तो शब्दले अरुलाई कति असर पुग्छ भनेर उनीहरुले सोचविचार गर्दैनन् । सरकार, जनता, समाज र आफ्नै घरपरिवार नसोच्ने कलाकारबाट के सिक्न पाइन्छ ? यस्तो पाराले देश कतातिर जान्छ ? समाजलाई सही बाटोमा लैजानुको साटो गलत बाटोमा धकेल्नेलाई कानूनको दायरामा ल्याउनुपर्छ । कलाकार हुन् भन्दैमा छाडा छोड्न पाइँदैन । उनीहरुभन्दा माथि राज्यको ऐन, कानून र नेपाली समाज आउँछ ।

उमेर नपुगेका, नबालकले समेत दोहोरी साझमा गीत गाइरहेको भेटिन्छन् । पढ्न, खेल्ने उमेरमा उनीहरुको श्रम शोषण गरिरहेको छ । १६ वर्ष पुगेपछि उसले काम गर्न पाउँछ । तर, दोहोरी साँझहरुमा स–साना बालबालिकालाई समेत गीत गाउन लगाइन्छ । अनि कहाँ छ सरकारको ऐन, कानून ? कानूनको धज्जी उडाउने कलाकारलाई कारबाही गर्नैपर्छ । भिडियो खेल्न र गीत गाउनका लागि पनि निश्चित मापदण्ड तोकिनुपर्छ । हिरो हिरोइन बन्न लायक नभएका पनि फिल्म खेलिरहेका छन् । गीत गाउन नजान्नेलाई पनि गीत गाउन लगाएका छन् । अभिनय गर्न नआउनेलाई मोडल बनाएका छन् । पछिल्लो समय चलचित्र क्षेत्रमा आफन्त घुसाउने प्रवृत्ति बढ्दो छ । आफन्त हो भन्दै जान्दै नजानेकालाई फिल्ममा प्रमुख भूमिका दिने गरिएको छ । यसले झनै बेतिथि निम्त्याएको छ ।

हाम्रो राष्ट्रिय पोशाक पुरुषको हकमा दौरा सुरुवाल र ढाकाटोपी हो । सारी, चोली र पछ्यौरा महिलाहरुको राष्ट्रिय पोशाक हो । पहिलेका महिलाहरु समाजमा विकृति फैलिन्छ भनेर आफ्नो पैताला समेत छोपिने गरी सारी लगाउँथे । आफ्नो र अरुको सुरक्षाप्रति उनीहरु निकै जिम्मेवार थिए । नातेदार, समाज र सरकारको ख्याल उनीहरुलाई हरदम रहन्थ्यो ।

आधुनिकताको नाममा छोटा लुगा प्रचलनमा आएका छन् । यसले समाजमा विकृति ल्याइदिएको छ । आफ्नै परिवारसंँग बसेर हेर्न नसकिने खालका म्युजिक भिडियो र फिल्महरु बनेका छन् । आफ्नो अंग देखाउनका लागि अभिनय गर्न आएको जस्तो देखिन्छ । यसको नकारात्मक प्रभाव भने हाम्रो समाजले खेपिरहेको छ ।

छोराछोरी सुधार्न अभिभावकको निकै ठूलो भूमिका रहन्छ । त्यसैगरी, समाज सुधार्न हरेक नागरिकको भूमिका रहन्छ । नागरिक आफैं सही बाटोमा हिंड्ने हो भने समाजमा भएका विकृति सबै हट्छन् । यता, मुलुकको विकास पनि सम्भव हुन्छ । हरेक मानिसले समाजप्रति जिम्मेवार बन्नुपर्छ । आफ्नो कारणले कसैलाई केही नराम्रो नहोस् भनेर हरेक नागरिकले ख्याल गर्नुपर्छ ।

एउटा साधारण मानिसले त केही काम गर्नुअघि समाजको बारेमा ख्याल गर्नुपर्छ भने उनीहरु त कलाकार । उनीहरु समाज र राष्ट्रप्रति हामीभन्दा पनि धेरै जिम्मेवार हुनुपर्छ । कलाकारहरु मुलुक र समाजको अभिभावक हुन् । उनीहरुले गरेको कामकाज त सबैले नियालिरहेका हुन्छन् । उनीहरुले जे लगाए अरुलाई पनि त्यही लगाउनुपर्ने मोह जाग्छ । हाम्रो समाजमा पनि त्यस्तै भएको छ । कलाकारहरुले समाजमा के गर्नुहुन्छ, हँुदैन् भनेर सोचिदिएको भए आज मुलुकको रुप अर्के हुन्थ्यो होला । आफ्नो संस्कृति र मान, मर्यादालाई सबैले ध्यानमा राख्नुपर्छ । संस्कृतिको बचाउ गर्न सबै लागि पर्नुपर्छ । सरकारले संस्कृति झल्काउने र चेतना फैलाउने खालका फिल्म मात्र बनाउन दिनुपर्छ । जथाभावी छोटा लुगा लगाएर फिल्म खेल्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।

गीत गाउने कलाकारहरुले भड्किलो गीत गाउन बन्द गर्नुपर्छ । समाजलाई दुई धार पार्ने खालका गीतहरु गाउनमा रोक लगाउनुपर्छ । विवाद र विकृति फैलाउने गीत बजाउन दिनुहुन्छ । हामीलाई अपच हुने र सुन्ने नसक्ने गीतहरुमा प्रतिबन्ध लगाउनुपर्छ ।

२०७२ सालमा नेपालमा महाभुकम्प आयो । तर, कलाकारहरुले समाजको लागि के गरे ? २०७६ सालमा नेपाललाई कोरोनाले च्यापो । मुलुकभर लकडाउन भयो । त्यसपछि पुनः २०७८ सालमा लकडाउन गरियो । मुलुकका जनता भोकभोकै हिँडे तर कलाकारहरुले केही गरेनन् । न उनीहरुलाई राष्ट्रको माया भयो न जनताको । बरु, दलको झोला बोकेर राजनीतिमा छिरे । २०७४ सालमा कोमल वली एमालेमा छिरिन् । उनलाई खड्गप्रसाद शर्मा ओलीले मनोनित सांसद् घोषणा गरिदिए । तर, बीसौ वर्ष एमालेमा लागेर आफ्नो घरखेत सिध्याएका कार्यकर्ताले मनोनित सांसद् पाएनन् । एउटा गीत गाउने कलाकारले दलमा कुनै योगदान नै नगरी मनोनित सांसद् भइन् ।

वलीजस्तै सांसद् बन्न पाउँछु भनेर करिश्मा मानन्धर पनि एमालेमा प्रवेश गरेकी छिन् । ओलीले फेरि पनि अस्ति छिरेको कलाकारलाई टिकट दिने होलान् । बीसौ वर्ष दलका लागि योगदान गरेका त मारमा पर्छन् । हिजो अस्ति राजनीतिमा छिरेकासंँग के अनुभव छ उनीहरुले दलको लागि के योगदान गरेका छन् ? यसले थप विकृति ल्याउने काम मात्र गरिरहेका छन् ।

२०७४ सालको चुनावमा माओवादीले रेखा थापालाई सांसद्को टिकट नदिएपछि उनी रापप्रामा लागिन् । दलले पनि कार्यकर्तालाई टिकट नदिने कलाकारलाई दिने । उमेर भएसम्म कलाकार बन्ने पैसा कमाउने । उमेर ढल्केपछि राजनीतिमा लाग्ने । यिनीहरुलाई दलले टिकट दिए पनि जनताले भोट दिँदैनन् । कलाकारसंँग राजनीति गर्न सक्ने क्षमता छैन भन्ने जनतालाई राम्रोसंँग आभास छ । नेपालका कलाकारहरु राष्ट्रको गहना होइनन् दलका कार्यकर्ता हुन् । यस्ता कार्यकर्ताले मुलुकमा के विकास गर्लान् ? जनताले यिनीहरुबाट के अपेक्षा राख्लान् ? जनताले यो कुन दलको कार्यकर्ता हुन् भनेर चिन्छन् तर कलाकार भनेर चिन्दैनन् । कलाकारहरुले राजनीतिक दलको झोला बोक्नु भनेको देश र जनताको लागि दुर्भाग्य हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *