शेयरले पा-यो समस्या

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर | शेयर बजारका लगानीकर्ताहरु चिन्तित हुनुपर्ने अवस्था आएको छ । शेयर बजार निरन्तर घट्दै गएका कारण पुराना लगानीकर्ताहरु मारमा परेका छन् । पुराना लगानीकर्ताहरु मारमा परेका कारण नयाँ लगानीकर्ताहरुमा समेत उत्साह आउन सकेको छैन ।

दुई हजार दुई सय बिन्दुबाट शेयर बजार बढेर दुई हजार नौ सयसम्म पुगेको शेयर बजार पछिल्लो समय निरन्तर रुपमा घट्न पुग्दा लगानीकर्ताहरु चिन्तित बन्न पुगेका हुन् । पछिल्लो समयमा यो घटेर दुई हजार चार सय विन्दुमा झरेपछि बजारमा शेयरको कारोबारमा समेत गिरावट आएको छ ।

तरलताको कमी भएमा शेयर बजार घट्ने र तरलता बढ्नाले शेयर बजार बढ्ने सामान्य मान्यता हो । अहिले बजारमा तरलताको अभाव छ जसले गर्दा शेयर बजार घट्दै गइरहेको विश्लेषकहरुको धारणा छ । बैंकहरुको कर्जा प्रवाह गर्न नसक्ने अवस्थाका कारण व्याज दर वृद्धि भइरहेको छ । यसैगरी राजनीतिक कारणले पनि शेयर बजारमा असर गर्ने बताइन्छ । सरकार स्थिर भएमा शेयर बजार बढ्ने र सरकार स्थिर नभएमा शेयर बजार घट्ने विश्लेषकहरुको विश्लेषण छ ।

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलका अनुसार पछिल्लो समय धितोपत्र बोर्डले ५१ कम्पनीलाई कालोसूचीमा सूचीकृत गरी सार्वजनिक गरेसँगै बजार घटेको हो । राष्ट्र बैंकले बैंकहरुलाई शेयर धितो राखेर लिने ऋण प्रवाह गर्न नपाउने नियम बनाई दिएका कारण पनि शेयर बजार घटेको उनी बताउँछिन् । पछिल्ला हरेक निर्वाचनको समयमा शेयर बजार बढ्ने गरेको इतिहास छ । अहिले बजारमा तरलताको अभाव देखिएका कारण निर्वाचनको मुखमा पनि शेयर बजारमा गिरावट आइरहेको छ । निर्वाचन हुँदा राजनीतिक दलका नेताहरुले लुकाएर राखेको रकम बजारमा आउने भएका कारण यस्तो समयमा शेयर बजार बढ्ने गरेको पाइन्छ ।

शेयर बजार घट्दै गएको देखेर लगानीकर्ताहरू शेयर बजारमा लगानी गर्न डराएका बताइन्छ । बजार घटेको बेला लगानी गरी र बजार बढेको बेला शेयर बेचेर लाभ लिने नीति लिएका कतिपय लगानीकर्ताहरु यस्तो अवस्थालाई उपयुक्त अवस्थाको रुपमा लिने गर्छन् ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *