समाजवादीको घोषणापत्रमा के छ ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं l नेकपा (एमाले) बाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरेर घोषणापत्र जारी गरेको छ । उसले आफूले जित्ने स्थानमा निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्ने भनी घोषणापत्रमा उल्लेख गरेकोे छ ।

घोषणापत्रमा ‘स्थानीय सरकारका कामहरूमध्ये निःशुल्क रूपमा आम जनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्रमुख प्राथमिकता दिइने छ,’ भनिएको छ । यसका लागि स्थानीय सरकारको बजेटको पहिलो नम्बरमा प्राथमिकताका साथ स्वास्थ्योपचारलाई राखिने भनी घोषणापत्रमा उल्लेख छ । ‘जटिल खालका शल्यक्रियाहरू (जस्तै– मुटु, मृगौला, कलेजो, फोक्सो र टाउकोको भित्री शल्यक्रिया) बाहेकका उपचारहरू स्थानीय अस्पतालबाट निःशुल्करूपमा उपलब्ध गराइने छ,’ भनी स्वास्थ्यको क्षेत्रमा गरिने कार्यहरुमा यसलाई उल्लेख गरिएको छ ।

स्वास्थ्योपचारसम्बन्धी स्थानीय ज्ञान र सीपको संरक्षण गर्नुका साथै स्थानीय स्तरमा आधुनिक स्वास्थ्य सेवा पु¥याउनु स्थानीय सरकारको प्रमुख कर्तव्य हुने भन्दै पालिकास्तरमा विशेषज्ञ चिकित्सकलाई आकर्षित गर्नका लागि स्थानीय सरकारले आकर्षक प्याकेजको व्यवस्था गर्ने कुरा पनि घोषणपत्रमा उल्लेख छ । यसबाट एकातिर दूर–दराजका जनताले पनि घरआँगनमै विशेषज्ञ स्वास्थ्य सेवा पाउने छन् भने अर्कोतिर स्वास्थ्य क्षेत्रको जनशक्ति विदेश पलायन हुनबाट रोकिने छ भनी घोषणापत्रमा भनिएको छ ।

यसैगरी जनताको सहज स्वास्थ्य उपचारका लागि घुम्ती स्वास्थ्य शिविर, मोबाइल नर्सिङ, टेली मेडिसिनका साथै टोल टोलमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने कुरा पनि राखिएको छ । औषधि र जनशक्तिको उचित व्यवस्था गरिने प्रतिवद्धता भएको घोषणापत्रमा सबै पालिकामा अनिवार्य रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराइने पनि जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *