नेपालका जडीबुटीः औषधीय गुण, प्रयोग विधि

Nayabimarsha (Weekly Newspaper from Nepal)
विष्णु प्रसाद काफ्ले

नेपाल जैविक विविधताले सम्पन्न देश हो, जहाँ हिमालदेखि तराईसम्म फैलिएको भू–भागमा हजारौँ प्रकारका जडीबुटीजन्य वनस्पतिहरू पाइन्छन् । यी वनस्पतिहरूले प्राचीनकालदेखि नै मानव स्वास्थ्य संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । विशेषगरी आयुर्वेदमा जडीबुटीहरूको प्रयोग, रोगको रोकथाम र उपचारका लागि आधारभूत मानिन्छ । आजको आधुनिक जीवनशैलीमा पनि यिनको महत्व झन् बढ्दै गएको छ ।
नेपालमा पाइने जडीबुटीहरू विभिन्न रोगहरूको उपचारमा प्रयोग गरिन्छन् र तिनको प्रयोग विधि पनि फरक–फरक हुन्छन् । उदाहरणका लागि, रुघा, खोकी र ज्वरो जस्ता समस्याहरूमा चिराइतो, असुरो र तुलसी निकै प्रभावकारी मानिन्छन् । चिराइतोको सुक्खा डाँठलाई पानीमा उमालेर काँढा (झोल) बनाएर बिहान–बेलुका सेवन गर्दा ज्वरो घटाउन मद्दत गर्छ । असुरोको पात उमालेर बनाइएको झोल खोकी र दममा उपयोगी हुन्छ । तुलसीको पातलाई अदुवा र महसँग मिसाएर सेवन गर्दा घाँटी दुखाइ र रुघाखोकीमा राहत मिल्छ ।
पाचन प्रणालीसम्बन्धी समस्या जस्तैः ग्यास, अपच वा कब्जियतमा बोजो, हर्रो र मेथी प्रयोग गरिन्छ । बोजोलाई सानो टुक्रा चपाएर वा पाउडर बनाएर सेवन गर्दा पेटसम्बन्धी समस्या कम हुन्छ । हर्रोलाई सुकाएर धुलो बनाई राति सुत्नुअघि मनतातो पानीसँग सेवन गर्दा कब्जियत हटाउन मद्दत गर्छ । मेथीलाई भिजाएर वा पकाएर खानाले पाचन सुधार गर्नुका साथै मधुमेह नियन्त्रणमा सहयोग पु¥याउँछ ।
श्वासप्रश्वाससम्बन्धी रोगहरूमा यार्सागुम्बा र पाँचऔंलेको विशेष महत्व छ । यार्सागुम्बालाई दूधसँग उमालेर वा पाउडर बनाएर सेवन गरे यसले शरीरको शक्ति बढाउनुका साथै फोक्सोसम्बन्धी समस्यामा सहयोग पु¥याउँछ । पाँचऔंलेको जरा पिसेर दूध वा पानीसँग सेवन गर्दा घाँटी दुखाइ र टन्सिलमा राहत मिल्छ ।
मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनका लागि जटामसी र अश्वगन्धा अत्यन्त उपयोगी छन् । जटामसीलाई पाउडर वा झोलको रूपमा सेवन गर्दा अनिद्रा, तनाव र माइग्रेनमा लाभ हुन्छ । अश्वगन्धाको जरा सुकाएर धुलो बनाई दूधसँग सेवन गर्दा शरीर बलियो बन्नुका साथै मानसिक सन्तुलन कायम राख्न मद्दत गर्छ ।
छाला तथा घाउसम्बन्धी समस्याहरूमा घिउकुमारी र नीम प्रभावकारी हुन्छन् । घिउकुमारीको जेल सिधै छालामा लगाउँदा जलन, डढाइ वा सुक्खापन कम हुन्छ । निमको पात उमालेर नुहाउने पानीमा प्रयोग गर्दा छालाका रोगहरू जस्तैः खुजली वा संक्रमणमा राहत मिल्छ । नीमको लेप पनि दादमा उपयोगी हुन्छ ।
कलेजो र रगतसम्बन्धी समस्याहरूमा अमला महत्वपूर्ण छन् । अमलालाई काँचै, अचार वा जुसको रूपमा सेवन गर्दा भिटामिन सी प्राप्त भई रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।
यसका साथै, शक्ति र सहनशक्ति बढाउन यार्सागुम्बा र शतावरीको प्रयोग गर्न सकिन्छ । शतावरीको जरा पाउडर बनाई दूधसँग सेवन गर्दा कमजोरी, थकान तथा विशेषगरी महिलाहरूको स्वास्थ्यमा लाभदायक मानिन्छ ।
जडीबुटीहरूको प्रयोग गर्दा विशेष सावधानी अपनाउनु भने आवश्यक हुन्छ । प्राकृतिक भए पनि अत्यधिक मात्रा वा गलत प्रयोगले नकारात्मक असर पार्न सक्छ । त्यसैले दीर्घकालीन वा गम्भीर रोगको अवस्थामा चिकित्सक वा आयुर्वेद विशेषज्ञको सल्लाह लिनु अत्यावश्यक छ ।
नेपालका जडीबुटीहरू केवल घरेलु उपचारको माध्यम मात्र नभई भविष्यको प्राकृतिक औषधि उद्योगको महत्वपूर्ण आधार पनि हुन् । यिनको संरक्षण, वैज्ञानिक अनुसन्धान र सही उपयोगमार्फत स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्ने ठूलो सम्भावना रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *