‘नेपाल–बेलायत लेखक संघ’ गठन

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ बेलायतका लागि पूर्वनेपाली राजदूत एवम् साहित्यकार डा. दुबसु क्षत्रीको अध्यक्षतामा ‘नेपाल–बेलायत लेखक संघ’ (नेपाल–ब्रिटेन राइटर्स एसोसिएसन) औपचारिक रूपमा गठन भएको छ । नेपाल र बेलायतबीच साहित्य, भाषा र संस्कृतिको आदानप्रदानलाई प्रवद्र्धन गर्ने उद्देश्य संघले लिएको छ । यस संघले दुई देशका साहित्यिक समुदायबीच सहकार्यको नयाँ ढोका खोल्ने विश्वास लिइएको छ ।
संघले नेपाल र बेलायतबीच भाषिक, साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरूको आदानप्रदान गर्ने योजना अघि सारेको छ । दुवै देशका भाषा र साहित्यका उत्कृष्ट कृतिहरूको अनुवाद तथा प्रकाशन, द्विपक्षीय साहित्यिक तथा सांस्कृतिक भ्रमण, साहित्यिक महोत्सव, अन्तरक्रिया र सम्मेलन आयोजना गर्ने लक्ष्य राखेको बताइएको छ ।
संघको अध्यक्षमा डा.क्षत्री तथा वरिष्ठ उपाध्यक्षमा सुरेशजंग शाह रहेका छन् । यसैगरी उपाध्यक्षहरूमा डा. गोपाल पौड्याल, विमल भौकाजी, कृसु क्षत्री र गोपीकृष्ण प्रसाईं रहेका छन् । संघको महासचिवमा वीरेन्द्र कुँवर, सचिवमा नगेन्द्रराज रेग्मी र बद्रीप्रसाद ढकाल तथा कोषाध्यक्षमा पुनम क्षत्रीलाई चयन गरिएको जनाइएको छ ।
यसैगरी सदस्यहरूमा तुलसीहरि कोइराला, मोहनवीर थापा, डा. नवराज रिजाल, भेषराज घिमिरे, लक्ष्मी उप्रेती, सन्ध्या पहाडी, मणि लोहनी, भरत भारद्वाज, मनोज न्यौपाने, राजेशजंग शाह, नारद पौडेल, तारा सुवेदी, सुमन कार्की, भगवती बस्नेत, सुमन वर्षा, ललिता दोषी, विमला तुम्खेवा, भुवन मास्के, किशोर उप्रेती, भरत साउद, मेघेन्द्र विश्वकर्मा र युवक उप्रेती रहेका छन् ।
नेपाल र बेलायतबीच साहित्यिक सम्बन्धलाई संस्थागत रूपमा विस्तार गर्ने उद्देश्यले गठन भएको यो संघले आगामी दिनमा दुवै देशका स्रष्टा, पाठक र साहित्यप्रेमीहरूबीच अझ घनिष्ठ सम्बन्ध विकास गर्ने अपेक्षा गरिएको छ ।
डा. क्षत्रीले सन् २०१६ देखि २०२१ सम्म बेलायतका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालेका थिए । राजदूतका रूपमा रहँदा उनले आफूलाई एक स्रष्टा र साहित्यानुरागी व्यक्तिका रूपमा पनि बेलायतस्थित नेपाली डायस्पोरासँग नजिक रहेको बताएका थिए । त्यतिबेला नेपाली राजदूतावासले बेलायतको नेपाली समाजसँग सहकार्य गर्दै विभिन्न कार्यक्रममार्फत भाषिक, साहित्यिक, साङ्गीतिक, सांस्कृतिक र कलाका क्षेत्रमा पुनर्जागरण ल्याउने प्रयास गरेको बताइएको छ ।
गान्धीको मार्कसिट चर्चामा, कति पाएका थिए अंक ?
सामाजिक सञ्जालमा महात्मा गान्धीको १० कक्षाको मार्कसिट भाइरल भइरहेको छ । उनको अंक देखेर मानिसहरू छक्क परिहेका छन् । सन् १८८७ मा महात्मा गान्धीले बम्बई विश्वविद्यालय (अहिले मुम्बई विश्वविद्यालय) बाट म्याट्रिक परीक्षा दिएका थिए । उनले राजकोटको अल्फ्रेड हाई स्कुल (तात्कालीन राजकोट हाई स्कूल) मा अध्ययन गरेका थिए । मार्कसिट अनुसार उनले कुल ६२५ अंकमध्ये केवल २४७ दशमलव ५ अंक प्राप्त गरेका थिए जुन ३९ दशमलव ६ प्रतिशत मात्रै हो । यो अंकसहित उनले बोर्डमा ४०४ औं स्थान हासिल गरेका थिए । त्यो वर्ष हजारौं विद्यार्थीहरू परीक्षामा बसेका भए पनि केवल ७९९ जना मात्र उत्तीर्ण भएका जनाइएको छ ।
मार्कसिटअनुसार गान्धीले अंग्रेजीमा २०० मा ८९ ल्याएका थिए । गुजराती सय अंकमा ४५ दशमलव ५, गणितमा १७५ मा ५९ र सामान्य ज्ञानमा १५० मा ५४ अंक ल्याएका थिए । गान्धीले गणितमा ५९ अंक मात्रै ल्याएको देखेर धेरै मानिसहरू आश्चर्यमा परेका भाइरल कमेन्टमा देखिन्छ ।
कतिपय युवाहरूले ‘बापु पनि गणितमा कमजोर !’, ‘अंकले केही अर्थ राख्दैन’ जस्ता कुरा लेखेर आफ्नो प्रतिक्रिया दिई रहेका छन् । गान्धीले आफैंले आफ्नो आत्मकथा, ‘द स्टोरी अफ माई एक्सपेरिमेन्ट्स विथ ट्रुथमा’ मा आफू विद्यालयमा तेजस्वी विद्यार्थी नभएको कुरा लेखेका थिए ।
पढाइमा आफ्नो रुचि कम भएको र आफू सामान्य विद्यार्थी रहेको पनि उनले स्वीकार गरेका थिए । उनले कहिल्यै हार मानेनन् । सन् १८८८ मा उनी लण्डन गए अनि ब्यारिस्टर बनेर फर्किए । पछि उनले भारतको स्वतन्त्रताको लडाइँमार्फत् सम्पूर्ण विश्वलाई प्रभावित पारेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *