अन्तर्राष्ट्रिय नर्सिङ डेमा भावुक प्रस्तुति

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अस्पतालका आकस्मिक कक्षमा रातभर बिरामीको जीवन जोगाउन खटिने सेतो कोटधारी हातहरू बाहिरबाट जति शान्त देखिन्छन्, भित्र त्यति नै संघर्ष, थकान र पीडाको बोझ बोकेका हुन्छन् । यही अदृश्य यथार्थलाई मञ्चमा उतार्दै मंगलबार नेपाल मेडिकल कलेजको सभाहलमा प्रस्तुत गरिएको नाटकले उपस्थित सबैलाई भावुक बनायो ।
अन्तर्राष्ट्रिय नर्सिङ डेका अवसरमा नर्सिङ विभागद्वारा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको ‘सेतो कोटको पछाडिको पीडा’ नामक नाटकले स्वास्थ्यकर्मीहरूको दैनन्दिन जीवनका वास्तविक संघर्षलाई सजीव रूपमा चित्रण गरेको थियो । मञ्चमा देखाइएका दृश्यहरू केवल काल्पनिक अभिनय नभई पछिल्ला दिनहरूमा स्वास्थ्य क्षेत्रमा देखिँदै आएका यथार्थ घटनाको प्रतिबिम्ब जस्तै बनेका थिए ।
नाटक शुरु भएलगत्तै सभाहलमा गहिरो मौनता छायो । सन्तानलाई चिकित्सक (डाक्टर) बनाउन जीवन समर्पण गर्ने आमाको त्यागदेखि लिएर आफ्नै शिशुलाई घरमै छोडेर बिरामीको सेवा गर्न बाध्य नर्ससम्मका कथाहरूले दर्शकलाई भावुक बनायो । परिवार र व्यक्तिगत जीवनभन्दा पेशागत जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने स्वास्थ्यकर्मीहरूको बाध्यता नाटकमा मार्मिक रूपमा प्रस्तुत गरिएको थियो ।
नाटकले स्वास्थ्यकर्मीहरू बिरामीको जीवन बचाउन रातदिन खटिए पनि कहिलेकाहीँ बिरामी नबच्दा उनीहरू नै दोषको केन्द्रमा पर्ने कठोर यथार्थलाई पनि उजागर गरेको थियो । उपचारमा संलग्न डाक्टर र नर्समाथि हुने दुव्र्यवहार, आक्रमण र मानसिक दबाबका दृश्यहरूले सभाहलमा उपस्थित धेरैलाई गम्भीर बनायो ।
कार्यक्रममा उपस्थित चिकित्सक तथा नर्सहरूका लागि उक्त नाटक केवल प्रस्तुति मात्र नभई आफ्नै जीवनको प्रतिबिम्बजस्तै बनेको थियो । लगातारको ड्युटी, चाडपर्वमा परिवारबाट टाढा रहनुपर्ने बाध्यता र बिरामी गुमाउँदा भोग्नुपर्ने मानसिक पीडाले सभाहल केही क्षण स्तब्ध बनेको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि तथा कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले नाटकले स्वास्थ्यकर्मीहरूको वास्तविक पीडालाई अत्यन्त प्रभावकारी रूपमा उजागर गरेको बताउनुभयो । उहाँले कुनै पनि स्वास्थ्यकर्मीले बिरामीलाई हानि पु¥याउने उद्देश्य नराख्ने उल्लेख गर्दै अन्तिम क्षणसम्म जीवन बचाउन इमान्दारितापूर्वक प्रयास गरिने स्पष्ट पार्नुभयो । स्वास्थ्यकर्मीलाई सम्मान र सुरक्षित वातावरण प्रदान गर्नु सबैको दायित्व भएको उहाँको भनाइ थियो ।
त्यसैगरी, कलेजकी निर्देशक डा. नुसरत जहाँ अन्सारीले नर्सहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनीहरूको पेशागत क्षमता विकास र सुरक्षाका लागि कलेज सधैं प्रतिबद्ध रहने बताउनुभयो । नर्सिङ सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने उहाँले जोड दिनुभयो ।
कार्यक्रममा प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठा, अस्पताल निर्देशक प्रा.डा. नीलमणि उपाध्याय तथा मेट्रोन नविना सिंहले स्वास्थ्य सेवामा नर्सहरूको योगदानको प्रशंसा गर्दै उनीहरूलाई सम्मान र प्रेरणा आवश्यक रहेको धारणा राख्नुभयो ।
सप्ताहव्यापी रूपमा मनाइएको नर्सिङ डे अन्तर्गत चित्रकला, हाजिरीजवाफ, सरसफाइ तथा सचेतनामूलक कार्यक्रमहरू पनि आयोजना गरिएको थियो । विभिन्न प्रतियोगितामा उत्कृष्ट सहभागीहरूलाई सम्मान गरिएको थियो । साथै, नर्सिङ विद्यार्थीहरूले आधुनिक नर्सिङ सेवाकी प्रणेता फ्लोरेन्स नाइटिङ्गेलको योगदान स्मरण गर्दै सेवा, त्याग र समर्पणको भावलाई आत्मसात गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रमका क्रममा प्रस्तुत सांस्कृतिक गतिविधिहरूले पनि वातावरणलाई थप जीवन्त बनाएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *