ललितपुर/ ललितपुरको ग्वार्कोस्थित पाँचतारे होटल द म्यासिफ होटल प्रा.लि. (रोयल टुलिप काठमाडौं) लाई सर्वसाधारणमा शेयर निष्काशन (आईपीओ) गर्ने तयारी थालिएको छ । यसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र द म्यासिफ होटल प्रा.लि.बीच संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौताअनुसार नबिल इन्भेष्टमेन्टले द म्यासिफ होटल प्रा.लि.लाई निजी कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्न आवश्यक समन्वय तथा परामर्श सेवा उपलब्ध गराउनेछ । कम्पनीलाई भविष्यमा सार्वजनिक निष्काशनका लागि आवश्यक पूर्वतयारीमा समेत सहयोग गर्ने जनाइएको छ ।
सम्झौतापत्रमा द म्यासिफ होटल प्रा.लि. (रोयल टुलिप काठमाडौं) का तर्फबाट अध्यक्ष राजेन्द्र शाक्य तथा नबिल इन्भेष्टमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । फ्रान्सेली अन्तर्राष्ट्रिय होटल चेन ब्राण्ड रोयल टुलिप अन्तर्गत सञ्चालन भइरहेको यो होटल ललितपुरको ग्वार्कोमा अवस्थित छ । होटलमा ३०८ वटा कोठा तथा सुइट रुम रहेका छन् । धेरै कोठा क्षमता भएको होटलमध्ये एक मानिने यस होटलमा साना तथा ठूला गरी १० वटा अत्याधुनिक बैठक तथा कार्यक्रम हलसमेत रहेका छन् ।
आधुनिक बास्तुकलामा निर्माण गरिएको पाँचतारे स्तरको यस होटलमा उच्चस्तरीय सुविधासहितका कोठा, हेल्थ क्लब, स्पा, इन–हाउस रेष्टुरेन्ट तथा विभिन्न कार्यक्रम आयोजना गर्न मिल्ने सुविधा उपलब्ध छन् । होटलले आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको सेवा तथा सुविधामार्फत स्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।
नबिल इन्भेष्टमेन्टले सार्वजनिक निष्काशनका लागि आवश्यक सम्पूर्ण पूर्वतयारीमा सहयोग गर्ने जनाएको छ । पूर्वतयारी पूरा भएपछि नियामक निकायसमक्ष आईपीओ निष्काशनको अनुमति माग गरिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रोयल टुलिप र नबिल इन्भेष्टमेन्टबीच सम्झौता
Facebook Comments Box
