मोरङ/ मोरङ जिल्ला पथरी शनिश्चरे नगरपालिका हसन्दह–५ निवासी राजन कुमार चौधरीको परिवार त्रासमा परेका छन् । चौधरीले लेखेको एक लेखलाई लिएर सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता भन्दै धम्की आएपछि चौधरीको परिवार त्रासमा परेको बताइएको छ ।
हाल बेलायतमा रहँदै आएका राजन कुमार चौधरीले ‘नयाँ विमर्श’ साप्ताहिकमा लेखेको एक लेखलाई आधार मानेर उनीहरुले चौधरी परिवारलाई आइतबार (२०८३ जेठ ३ गते ) धम्की दिएको समाचार स्रोतले बताएको छ । राजन कुमार चौधरीको ‘राज्यसत्ताको अहंकार ः पतनतर्फ बालेन सरकार’ शीर्षकको लेखको हवाला दिँदै धम्की आएको पीडित परिवारका एक सदस्यले नाम नखोल्न आग्रह गर्दै ‘नयाँ विमर्श’ साप्ताहिकसँग दाबी गरेका छन् । उनले डराउँदै भने, ‘राजनलाई नेपाल फर्किएपछि जे पनि गर्न सक्ने भन्दै धम्क्याएका उनीहरुले हामी यहाँ नेपालमा बस्नेलाई जे पनि गर्न सक्लान् भन्ने लागिरहेको छ ।’ उक्त लेख गतांक (वर्ष–१९, अंक ४०) मा २०८३ जेठ १ गते प्रकाशित भएको थियो ।
पीडित परिवारका सदस्यले भने, ‘उनीहरु साँझ पख आएर पत्रिकामा छापिएको लेख देखाए । मलाई त उसको लेखबारे पनि जानकारी थिएन । लेखसँगै राजनको तस्विर पनि देखेपछि विश्वास भयो । त्यसैले उसैको रहेछ भन्ने त लाग्यो ।’ घटना विवरणबारे थप जानकारी दिँदै उनले भने, ‘त्यसपछि उनीहरुले भर्खर आफ्नो दलको नेतृत्वमा सरकार बनेको छ । केही नयाँ काम गर्ने गरी सरकार लागेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) तथा सरकारको विरोधमा विचार राखी हाल्ने ? यो राम्रो काम भएन ।’
त्यसरी आएका मानिसहरुले आफूहरु राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकर्ता भएको बताए पनि आफ्नो आधिकारिक प्रमाण भने नदिएको बताइएको छ । उनीहरुले ‘बाहिर (बेलायत) मा बसेर यहाँ उपदेश दिने ? देश बर्बाद भइरहेको समयमा सरकारले चालेका कदमहरुमा समर्थन गर्नुको साटो विरोधमा लेख लेख्ने कार्य गर्ने राजनलाई नेपाल फर्किनासाथ कारबाही गर्छौ । सरकारसँग त्यसले टक्कर लिने ?’ भनेको पनि पीडित परिवारले जानकारी दिएका छन् । उनीहरुले लेखक राजन कुमार चौधरीलाई भनेर उक्त विचार (लेख) लाई खण्डन गर्न दबाब दिएको पनि समाचार स्रोतले जानकारी दिएको छ ।
‘नेपाल आएका खण्डमा तिमीलाई सरकार पक्षका मानिसहरुले समस्यामा पार्न सक्छन् । उस्तै परे कुटपिट, धरपकड तथा कुनै न कुनै बहानामा थुनामा पनि पठाई दिन सक्छन् ’ भन्दै परिवारजनले आफूलाई भनेपछि आफू पनि तनावमा परेको लेखक चौधरीले बताएका छन् । उनले आफूले लेखेको लेखमा व्यक्त धारणाहरु सही रहेको, आफ्नो धारणाबाट आफू विचलित नभएको उल्लेख गर्दै सरकार यसैगरी जनअपेक्षा विपरित संचालित भएमा आफूले झनै खरो रुपमा सरकारलाई सच्याउनका लागि धारणाहरु राख्दै जाने दृढता पनि व्यक्त गरेका छन् । उनले बेलायतमा रहेका हाम्रा संवाददातासँग कुरा गर्दै त्यस्तो धारणा राखेका हुन् ।
लेखक चौधरीले आफूले लेखेको लेखलाई खण्डन गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थामा सरकारले आफ्ना आलोचनाहरुलाई पचाउनुपर्ने धारणा राखेका छन् । उनले विचार अभिव्यक्तिको स्वतन्त्रता संविधानप्रदत्त मौलिक हक रहेको उल्लेख गर्दै बेलायत जस्तो प्रजातन्त्रको जननी मानिने देशमा आफू हाल रहेकाले पनि व्यक्तिगत स्वतन्त्रता, प्रजातान्त्रिक हक, अधिकारका बारेमा आफू सचेत रहेको उल्लेख गरेका छन् ।
उनले नेपालमा परिवर्तन गर्ने नाममा वर्तमान सरकारले चालेका कतिपय गतिविधिहरु आलोचनायोग्य रहेको उल्लेख गर्दै भनेका छन्, ‘बालेन सरकारले हाम्रो मुख थुन्ने भन्दा पनि राम्रो काम गरेर जनहितमा आफूलाई उभ्याओस् । जनताभन्दा माथि कोही हुँदैन भन्ने कुराको हेक्का राखोस् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताले पनि धम्क्याउने भन्दा पनि आलोचनालाई पचाएर सही काम गरोस् । उनीहरुबाट धम्की आए पनि म आफ्नो विचारबाट विचलित छुइन । केही गरिहालेमा प्रहरी प्रशासन तथा अदालतको सहारा लिने नै छु ।’
चौधरीमाथि धम्की, परिवार त्रासमा
Facebook Comments Box
