अमेरिकी मन्त्रीको आँखामा नेपाल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीन दिने नेपाल भ्रमण पूरा गरी फर्किएकी छिन् । नेपाल बसाईका क्रममा सोमबार उनले पत्रकार सम्मेलन गरी आफ्नो भ्रमणको बारेमा जानकारी गराइन् । उनले नेपाललाई अमेरिका एक महत्वपूर्ण, विश्वासिलो र दीर्घकालीन साझेदारका रूपमा हेर्ने गरेको बताइन् ।
यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल–अमेरिका सम्बन्ध, प्रविधि, वाक् स्वतन्त्रता, एमसीसी, भूराजनीति तथा डिजिटल शासनसँग सम्बन्धित विषयमा अमेरिकी दृष्टिकोण प्रस्तुत गरेकी थिइन् ।
रोजर्सले नेपालसँगको सम्बन्धलाई आर्थिक, प्राविधिक, सांस्कृतिक तथा जनस्तरको साझेदारीका रूपमा विस्तार गर्न अमेरिका इच्छुक रहेको बताइन् । परराष्ट्रमन्त्री शिशिर खनाल तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँगको भेट फलदायी भएको उल्लेख गर्दै उनले डिजिटल पहुँच विस्तार, लगानी प्रवद्र्धन र व्यावसायिक वातावरण सुधारका विषयमा सकारात्मक छलफल भएको जानकारी दिइन् ।
उनले सामाजिक सञ्जाल र डिजिटल नियमनबारे प्रश्न उठेपछि रोजर्सले इन्टरनेट स्वतन्त्रतालाई आधुनिक लोकतन्त्रको महत्वपूर्ण आधारका रूपमा व्याख्या गरिन् । उनका अनुसार नागरिकले स्वतन्त्र रूपमा विचार आदानप्रदान गर्न पाउनुपर्छ र सरकारहरूले मानिसले के हेर्ने वा के सोच्ने भन्ने विषय नियन्त्रण गर्ने प्रयास गर्नु हुँदैन ।
हालै नेपालमा भएको ‘जेनजी आन्दोलन’ लाई समेत इन्टरनेट स्वतन्त्रतासँग जोड्दै नागरिकले स्वतन्त्र अभिव्यक्तिको अधिकार कुण्ठित भएको महसुस गरेमा त्यसको विरोध स्वाभाविक रूपमा हुने टिप्पणी गरिन् । उनले पूर्ण स्वतन्त्रताको अर्थ कुनै पनि प्रकारको नियमन आवश्यक छैन भन्ने नभएको स्पष्ट पनि पारिन् । ठगी, बाल यौन दुव्र्यवहारजस्ता अपराध नियन्त्रण गर्न कानूनी संयन्त्र आवश्यक भए पनि ‘खराव भाष्य’ वा ‘प्रोपागान्डा’ को नाममा सेन्सरसीप गर्नु लोकतान्त्रिक मूल्यमान्यतासँग मेल नखाने उनको भनाइ थियो ।
उनले कृत्रिम बुद्धिमत्ता (एआई) लाई गलत सूचना, डिपफेक तथा डिजिटल दुष्प्रचार नियन्त्रणका लागि प्रभावकारी उपकरणका रूपमा प्रयोग गर्न सकिने धारणा पनि राखिन् । नेपाललाई लिएर अमेरिका, चीन र भारतबीच बढ्दो भूराजनीतिक प्रतिस्पर्धाको चर्चा भइरहेका बेला रोजर्सले अमेरिकाको प्राथमिकता नेपालसँगको प्रत्यक्ष र द्विपक्षीय सम्बन्ध नै रहेको बताइन् ।
नेपालको ऐतिहासिक स्वतन्त्रताको प्रशंसा गर्दै उनले नेपाल कहिल्यै पनि विदेशी शक्तिको उपनिवेश बन्नु नपरेको तथ्यलाई विशेष रूपमा उल्लेख गरिन् । पाटन दरबार क्षेत्रको भ्रमणपछि आफ्नो अनुभव सुनाउँदै उनले नेपाल दुई ठूला सभ्यताबीच अवस्थित भए पनि स्वतन्त्र पहिचान कायम राख्न सफल भएको टिप्पणी गरिन् ।
हास्यपूर्ण शैलीमा उनले नेपाललाई प्रायः प्रयोग गरिने ‘दुई ढुङ्गाबीचको तरुल’ को उपमाभन्दा विश्वभर चिनिएको ‘गोलभेँडा’ सँग तुलना गर्दै नेपाली पहिचानको विशिष्टता उल्लेख गरिन् ।
नेपालको प्रविधि क्षेत्रप्रति अमेरिकी चासो रहेको उल्लेख गर्दै रोजर्सले नेपालमा नवप्रवर्तन, डिजिटल उद्यमशीलता र सूचना प्रविधिमा उल्लेखनीय सम्भावना रहेको बताइन् । उनका अनुसार अमेरिका नेपालमा कृत्रिम बुद्धिमत्ता, डाटा सेन्टर तथा उन्नत डिजिटल पूर्वाधारमा लगानीको वातावरण विकसित भएको हेर्न चाहन्छ । नेपालले उपयुक्त नीति र लगानीमैत्री वातावरण निर्माण गर्न सके प्रविधि क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न सक्ने उनको विश्वास थियो ।
बहुचर्चित स्याटेलाइट इन्टरनेट सेवा ‘स्टारलिंक’ नेपालमा सञ्चालन हुने सम्भावनाबारे पत्रकारहरुले प्रश्न राखेका थिए । उनले निर्णय पूर्ण रूपमा नेपालको आन्तरिक प्रक्रिया र सम्बन्धित कम्पनीहरूमा निर्भर रहने बताइन् । उनले कुनै पनि अमेरिकी कम्पनीले नेपालमा कहिले र कसरी व्यवसाय गर्ने भन्ने विषय नेपाल सरकार र सम्बन्धित कम्पनीबीचको विषय भएको स्पष्ट पारिन् । उनले अमेरिका नेपालमा इन्टरनेट पहुँच र डिजिटल कनेक्टिभिटी अझ विस्तार भएको हेर्न इच्छुक रहेको बताइन् ।
नेपालमा विवादको रुपमा उठाइने गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारेमा पनि उनले प्रष्ट पार्ने प्रयास गरिन् । उनले ५५ करोड अमेरिकी डलर बराबरको उक्त परियोजना नेपालको ऊर्जा र आर्थिक विकासका लागि महत्वपूर्ण परियोजना भएको दाबी गरिन् ।
उनले एमसीसी कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको उल्लेख गरिन् । उनले नेपाल सरकारले यसलाई प्राथमिकताका साथ अगाडि बढाउनेमा आफू विश्वस्त रहेको पनि बताइन् ।
नेपालले पनि उक्त परियोजनामा करिब १९ करोड ७० लाख डलर बराबरको योगदान गरिरहेको छ, जसले यसलाई परम्परागत सहायता कार्यक्रमभन्दा फरक बनाएको धारणा उनको रहेको छ ।
अमेरिकी वैदेशिक सहायताको ढाँचामा आएको परिवर्तनबारे बोल्दै रोजर्सले अब अमेरिका परम्परागत सहायता वितरणभन्दा आर्थिक साझेदारी र व्यापारिक सहकार्यमा बढी केन्द्रित भएको बताइन् ।
त्यसैगरी, सन् २०२५ मा एक लाख १२ हजारभन्दा बढी अमेरिकी पर्यटक नेपाल आएको तथ्य प्रस्तुत गर्दै उनले पर्यटन क्षेत्रले दुई देशबीचको सम्बन्धलाई थप जीवन्त बनाएको धारणा व्यक्त गरिन् । उनले नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७९ वर्ष पूरा भइसकेको र आगामी वर्ष ८०औँ वार्षिकोत्सव मनाउने तयारी भइरहेको उल्लेख गरिन् ।
यसैबीच, उनको नेपाल भ्रमणमा मन्त्रीहरुसँग भेट भए पनि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भने औपचारिक रुपमा भेटवार्ता नभएको जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *