सडक विभागमा इतिहास रच्दै डा. जैशी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/सडक विभागको इतिहासमा शिवप्रसाद नेपाल समेतलाई गणना गर्ने हो भने हालका महानिर्देशक डा. विजय जैशी ३७ औं नम्बरका एक्सन अभियानमा जोड दिँदै महानिर्देशक भएको जानकारहरुले बताएका छन् । डा. जैशीले विभागको नेतृत्व सम्हाल्नुअघि सडक विभाग गतिशील बन्नुको साटो गतिहीन र कमीशनतन्त्रमा रुमल्लिरहेको समाचार श्रोतले जानकारी दिएको छ ।
डा. जैशीभन्दा अगाडिका महानिर्देशकहरु रामहरि पोख्रेल, सुशीलबाबु ढकाल (हाल मन्त्रालयमा कार्यरत) अर्नुनजंग थापा–शिवहरि सापकोटा, केशवकुमार शर्मा, रविन्द्रनाथ श्रेष्ठ र गोपालप्रसाद सिग्देलको कार्यकाल ‘राजाको काम कैले जाला घाम’ भने झै एक्सन मोडमा नगई बितेको चर्चा निर्माण क्षेत्रका मुक्तभोगीहरुले बताएका छन् ।
सिग्देल अहिले पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवमा कार्यरत नै छन् । अबको ४ महिनापछि अगामी असोज १८ गते सिग्देल अवकाश हुने बताइएको छ । सचिव सिग्देल भौतिकमा आउनु अगाडि शहरी विकास र ऊर्जा तथा सिँचाई मन्त्रालयमा बसेर प्रशस्त शुभलाभ गरेको सचिवका रुपमा चिनिन्छन् । कार्यकालको अन्तिममा असारे विकासको खेती भित्र्याउन नपाउँदा उनको निदहराम भएको सरोकारवालाहरुले बताएका छन् । कुनै समय भौतिक सचिव बन्न सिग्देल र शर्माबीच हानाथाप चल्ने गरेको चर्चा चल्ने गरेको थियो ।
अहिले समय परिवर्तन भएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा सुनील लम्साल (पूर्वाधार विज्ञ) पूर्वाधार विकास मन्त्रालयको मन्त्री बनेपछि विगतमा कमिशनमा रुचि राख्ने सिडिई र सु.ई.हरुको ओठतालु सुक्न पुगेको श्रोतले बताएको छ । मन्त्रालयको संख्या घटाएर २२ बाट १८ मा झारेपछि खानेपानी शहरी विकास र भौतिक पूर्वाधारलाई गाभेर पूर्वाधार विकास मन्त्रालय बनाइएको छ । अहिले मन्त्री लम्साल पूर्वाधार विकासमा परिणाम देखिने गरी एक्सन अभियानमा जुटेको श्रोतले जानकारी दिएको छ । मन्त्री लम्सालको अभियानलाई सफल पार्न सडक विभागका महानिर्देशक डा. जैशी पनि एक्सन मोडमा उत्रेका छन् ।
जैशीले नेतृत्व सम्हालेको १ वर्षको अवधिमा मुग्लिन–पोखरा, बुटवल नारायणगढ खण्डको दाउन्ने खण्ड सम्पन्न भैसकेको छ भने उपत्यका भित्रको खाल्डा खुल्डी, रोड एम्बुलेन्स, मोबाइल मर्मत इकाइ प्रशासनिक सुधार, प्राविधिक आधुनिकीकरण, आयोजना व्यवस्थापन डिजिटल प्रविधिको प्रयोग र विपद व्यवस्थापन तथा सडक सुरक्षाका क्षेत्रमा उल्लेखनीय सुधारहरुका प्रयास भएपछि नागरिकले राहतको महशुस गरेको समाचारमा उल्लेख गरिएको छ ।
यसबाहेक सुशासनलाई बलियो बनाउन कर्मचारी व्यवस्थापन प्रणालीमा सुधार र पारदर्शी बनाउन स्पष्ट मापदण्ड लागू गरिएपछि सडक विभागले मुहार फेरेको कर्मचारी वृत्तमा चर्चा चलेको छ । यसबाहेक विभागको पूँजीगत खर्च उल्लेखनीय रुपमा वृद्धि र निर्माणाधीन सडक र पुलहरु यथाशक्य चाँडो सम्पन्न गर्न अनुगमनमा तीब्रता र वर्षैदेखि अलपत्र परेका सडक तथा पुललाई सम्पन्न गर्नका लागि एक्सन मोडमा उत्रिएपछि सडक विभागले इतिहास रचेको बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *