इनरुवा/ सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा ‘इनरुवा दिवस’ (इनरुवा डे) मनाइएको छ । जेठ १५ गते मनाइएको उक्त दिवसमा मुख्य रुपमा इनरुवाको स्थापनाकालिन अवस्थासँग जोडिएको थियो ।
इनरुवाको स्थापनामा स्व. धनबहादुर श्रेष्ठको योगदान बढी रहेको भन्ने कुरा सो अवसरमा जानकारी गराइयो । स्व. श्रेष्ठले यहाँको जंगल फडानी गरी बस्ती बसाएको बताइयो । यसैगरी स्व. श्रेष्ठका छोराहरु होमबहादुर श्रेष्ठ र दिलबहादुर श्रेष्ठले पनि इनरुवाको विकास र विस्तारमा योगदान गरेको बताइयो । होमबहादुर र दिलबहादुर दुवैजना पञ्चायत कालमा शक्तिशाली मन्त्रीका रुपमा रहने गर्नु भएको थियो । उहाँहरु गृहमन्त्री समेत बनेको तथा महेन्द्र राजमार्गलाई इनरुवाहुँदै लाने कार्यमा योगदान पु¥याएको जानकारी पनि सो अवसरमा दिइयो ।
यसैगरी इनरुवालाई सुनसरी जिल्लाको सदरमुकाम घोषणा गराउन तथा त्यो बेलामा नगरपञ्चायत बनाउन पनि स्व. दिलबहादुर श्रेष्ठको ठूलो योगदान रहेको बताइन्छ । सोही कारण श्रेष्ठ परिवारको सम्मानका लागि उहाँहरुका सन्ततिलाई सोही अवसर पारेर सम्मान हस्तान्तरण पनि गरिएको थियो ।
इनरुवा नगरपालिकाको आयोजनामा पहिलो पटक भएको उक्त कार्यक्रमका लागि नगरपालिकाका प्रमुख केदार भण्डारीको सक्रिय योगदान रहेको बताइएको छ । सोही समारोहमा इनरुवाको स्थापनाकालदेखि विभिन्न महत्वपूर्ण ओहदामा पुगेकाहरुलाई पनि सम्मान गर्ने कार्य गरिएको थियो । यसैगरी इनरुवा निवासी भई विभिन्न पदमा पुगेका, कुनै पनि काम वा व्यवसायमा पहिलो योगदान दिएका व्यक्ति तथा उनीहरुको परिवारलाई पनि सो अवसरमा सम्मान प्रदान गरिएको थियो ।
