काठमाडौं/ देशका विभिन्न जिल्लामा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । यसैगरी आगलागीका घटनाबाट एक करोड २२ लाख रुपियाँभन्दा बढीको धनमाल नष्ट भएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सल्यानको शारदा नगरपालिका–८ मार्के क्षेत्रमा ट्याक्टर दुर्घटना हुँदा बनगाड कुपिण्डे नगरपालिका–९ निवासी १४ वर्षीय निर्मल भनिने उत्तम यरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुर मेडिकल कलेज, बाँकेमा निधन भएको हो । उक्त दुर्घटनामा घाइते भएका अर्का एक जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
मोरङको केराबारी गाउँपालिका–७ दाहालचोकमा बसको ठक्करबाट ८० वर्षीय लोकबहादुर राईको मृत्यु भएको छ । गम्भीर घाइते भएका राईको उपचारका क्रममा धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जनाइएको छ । दुर्घटनामा संलग्न बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक २१ वर्षीय निरज भट्टको ज्यान गएको छ । उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नवलपरासी -पश्चिम) को सुनवल नगरपालिका–१२ भतौडीमा मोटरसाइकल दुर्घटनामा ४५ वर्षीय रमानन्द गुप्ताको मृत्यु भएको छ । अनियन्त्रित मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल परासीमा निधन भएको हो । त्यसैगरी म्याग्दीको बेनी नगरपालिका–८ संगमचोकमा ट्याक्टरबाट खसेर सहचालक ३४ वर्षीय बलवीर परियारको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा प्रदेश अस्पताल बेनीमा ज्यान गएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
यसैबीच, देशका विभिन्न जिल्लामा भएका आगलागीका घटनाले ठूलो आर्थिक क्षति पु¥याएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ शान्तिबजारस्थित एक फेन्सी, कस्मेटिक तथा खुद्रा पसलमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब एक करोड रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उता, पर्साको वीरगञ्ज महानगरपालिका–१ मा सञ्चालित जीएस आर्ट एण्ड ट्रेडर्समा विद्युत् सर्ट भएर आगलागी हुँदा करिब ६ लाख रुपियाँ बराबरको क्षति भएको छ । त्यस्तै रामेछापको मन्थली नगरपालिका–१ खादँबारी चोकस्थित एक खाजा पसलमा आगलागी हुँदा करिब १५ लाख रुपियाँ बराबरको धनमाल नष्ट भएको छ ।
रौतहटको गुजरा नगरपालिका–८ जयराजपुर टोलमा रहेको एक गोठघरमा आगलागी हुँदा करिब एक लाख २४ हजार रुपियाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरी, स्थानीयवासी तथा दमकलको संयुक्त प्रयासमा सबै स्थानमा आगो नियन्त्रणमा लिइएको थियो । दुर्घटना तथा आगलागीका सबै घटनाबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरी समाचारमा अपराधका कुरा
Facebook Comments Box
