मनोकामना बोकेर पुगिने मनकामना

Nayabimarsha (Weekly Newspaper from Nepal)
रोशन ज्ञवाली

नेपालको धार्मिक तथा सांस्कृतिक भूगोलमा केही यस्ता तीर्थस्थल छन्, जहाँ पुग्दा मानिसले केवल मन्दिरको दर्शन गर्दैन, आफ्नै विश्वास, परम्परा र प्रकृतिसँग पनि साक्षात्कार गर्छ । गोरखा जिल्लाको प्रसिद्ध मनकामना मन्दिर यस्तै विशिष्ट तीर्थस्थल हो । मनले चाहेको कुरा पूरा होस् भन्ने विश्वासका साथ देशका विभिन्न भागबाट भक्तजन यहाँ पुग्छन् । धार्मिक आस्थाका कारण प्रसिद्ध मनकामना पछिल्लो समय यातायातको सहजता, प्राकृतिक सौन्दर्य र आसपासको पर्यटन विकासका कारण धार्मिक पर्यटकका साथै सामान्य पर्यटकको पनि आकर्षणको केन्द्र बनेको छ ।
मनकामना अर्थात् मनले राखेको कामना पूरा हुने विश्वास । यही अर्थसँग जोडिएको छ यहाँको धार्मिक महत्व । कसैले पारिवारिक सुख–शान्तिका लागि देवीसँग प्रार्थना गर्छन्, कसैले सन्तान, स्वास्थ्य, व्यवसाय, रोजगारी वा सफलताको कामना गर्छन् । कतिपय भक्तजनले आफूले गरेको भाकल पूरा भएपछि देवीको दर्शन गर्न आउने परम्परा पनि कायम राखेका छन् । मनकामना पुग्ने सबैका उद्देश्य एउटै हुँदैनन्, तर उनीहरूलाई जोड्ने साझा कुरा भनेको देवीप्रतिको गहिरो आस्था हो । धार्मिक विश्वासलाई प्रमाण वा तर्कको सीमाभित्र मात्र बुझ्न सकिँदैन । त्यसैले मनकामनाको महत्त्व पनि भक्तजनको विश्वास र पुस्तौंदेखि चलिआएको धार्मिक परम्पराको सन्दर्भमा बुझ्नुपर्ने हुन्छ ।
मनकामना मन्दिर गोरखाको ऐतिहासिक भूमिसँग जोडिएको छ । गोरखा आफैंमा नेपालको राजनीतिक तथा ऐतिहासिक विकासको महत्वपूर्ण केन्द्र हो । पृथ्वीनारायण शाहको नेतृत्वमा भएको नेपाल एकीकरण अभियानसँग गोरखाको नाम अभिन्न रूपमा जोडिएको छ । गोरखा दरबार, गोरखनाथ, गोरखकाली तथा मनकामनाजस्ता धार्मिक र ऐतिहासिक स्थलले यस जिल्लाको पहिचानलाई अझ समृद्ध बनाएका छन् । मनकामनाको धार्मिक महत्व पनि गोरखाको यही ऐतिहासिक परिवेशसँग गाँसिएर विस्तार भएको देखिन्छ ।
मनकामना मन्दिरको उत्पत्तिबारे प्रचलित कथा भने निकै रोचक छ । जनश्रुतिअनुसार गोरखाका राजा राम शाहकी रानीमा देवीको शक्ति रहेको विश्वास गरिन्थ्यो । राजाको निधनपछि रानी सती गएको र त्यसअघि उनले आफ्ना विश्वासपात्र लखन थापालाई आफू पुनः देवीका रूपमा प्रकट हुने संकेत दिएको कथन छ । पछि लखन थापाले त्यही संकेतअनुसार एउटा शिलामा देवीको स्वरूप भेटेको र त्यही स्थानमा मनकामना मन्दिर स्थापना भएको विश्वास गरिन्छ । मन्दिरका पुजारी मगर समुदायका हुने परम्परालाई पनि यसै किंवदन्तीसँग जोडेर हेर्ने गरिन्छ । यी विवरणहरू इतिहासका प्रमाणित दस्तावेजभन्दा धार्मिक जनश्रुति र परम्परामा आधारित भए पनि मनकामनाको सांस्कृतिक स्मृतिमा तिनको महत्वपूर्ण स्थान छ ।
मनकामनाको गर्भगृहमा देवीको पूजा सामान्य मानव आकृतिको मूर्तिका रूपमा होइन, पवित्र शिलाको स्वरूपमा गरिन्छ । यही शिलालाई मनकामना भगवतीको प्रतीक मानेर भक्तजनले पूजा–आराधना गर्छन् । मुख्य शिलासँगै अन्य देवीदेवताका प्रतीकका रूपमा विभिन्न शिलाहरू राखिएको परम्परा पनि छ । हिन्दू धार्मिक संस्कृतिमा प्रकृतिका विभिन्न स्वरूपलाई दैवी शक्तिको प्रतीक मानेर पूजा गर्ने चलन पुरानै हो । त्यस दृष्टिले मनकामनाको शिला पूजा नेपाली धार्मिक परम्परामा प्रकृति र आस्थाबीचको सम्बन्धको एउटा सुन्दर उदाहरण पनि हो ।
मन्दिरको वास्तुशैलीले पनि यसको आकर्षण बढाएको छ । परम्परागत नेपाली प्यागोडा शैलीमा निर्मित मन्दिर पहाडी डाँडाको माथिल्लो भागमा अवस्थित छ । वरिपरि देखिने हरिया पहाड, टाढा देखिने हिमशृंखला र शान्त प्राकृतिक वातावरणले मन्दिर परिसरलाई थप मनमोहक बनाउँछ । मौसम खुलेका बेला हिमाली दृश्य निकै आकर्षक देखिन्छन् । यही कारण मनकामना धार्मिक यात्राका लागि मात्र होइन, प्रकृतिको आनन्द लिन चाहनेहरूका लागि पनि लोकप्रिय गन्तव्य बनेको हो ।
मनकामनाको इतिहासमा २०७२ सालको भूकम्प एउटा पीडादायी अध्याय हो । विनाशकारी भूकम्पका कारण मन्दिरको मूल संरचनामा क्षति पुगेको थियो । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको संरचनालाई जोगाउँदै पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने प्रयास गरियो । लामो समयको पुनर्निर्माणपछि मन्दिर पुनः भक्तजनका लागि खोलियो । पुनर्निर्माणमा मौलिक वास्तुशैली, परम्परागत स्वरूप र धार्मिक पहिचान जोगाउने प्रयास गरिएको थियो । भूकम्पपछि पुनः उठेको मनकामना मन्दिर केवल पुनर्निर्मित भवन मात्र होइन, विपत्तिपछि पनि निरन्तर रहेको नेपाली धार्मिक आस्थाको प्रतीक बनेको छ ।
कुनै समय मनकामना पुग्न लामो र कठिन पहाडी बाटो हिँड्नुपथ्र्यो । अहिले भने कुरिनटारबाट सञ्चालन हुने मनकामना केबलकारले यात्रा निकै सहज बनाएको छ । छोटो समयमा पहाडको उकालो पार गरेर मन्दिर नजिक पुग्न सकिने भएपछि वृद्धवृद्धा, बालबालिका र लामो दूरी हिँड्न कठिन हुने व्यक्तिका लागि समेत तीर्थयात्रा सहज भएको छ । केबलकारको आगमनले मनकामना क्षेत्रको पर्यटनमा पनि ठूलो परिवर्तन ल्याएको छ । यात्रुको संख्या बढेसँगै होटल, रेस्टुरेन्ट, पूजा सामग्री, यातायात, स्थानीय उत्पादन तथा अन्य व्यवसाय विस्तार भएका छन् । यसले स्थानीय बासिन्दाका लागि रोजगारी र आम्दानीका अवसरसमेत बढाएको छ ।
मनकामना पुग्ने आधुनिक सुविधा बढ्दै जाँदा धार्मिक यात्राको मौलिक अनुभूति भने हराउनु हुँदैन । तीर्थयात्रा केवल एउटा स्थानमा पुगेर पूजा गर्नु मात्र होइन, बाटोमा देखिने प्रकृति, स्थानीय संस्कृति, मानिसहरूको जीवनशैली र आफ्नो मनभित्रको विश्वाससँग जोडिने प्रक्रिया पनि हो । त्यसैले आधुनिक पूर्वाधार र सुविधा थपिँदा पनि मनकामनाको प्राकृतिक तथा सांस्कृतिक वातावरणलाई जोगाउनु आवश्यक छ ।
मनकामनामा वर्षभरि भक्तजनको आवागमन हुने गरे पनि विशेष धार्मिक अवसरमा भीड अत्यधिक बढ्ने गर्छ । दशैं, नवरात्र तथा अन्य महत्वपूर्ण पर्वमा देशका विभिन्न स्थानबाट ठूलो संख्यामा श्रद्धालु आउने गर्छन् । मंगलबार र शनिबार पनि भक्तजनको चाप बढी हुने गरेको पाइन्छ । पूजा, आराधना र विभिन्न धार्मिक विधिसँगै कतिपय भक्तजनले परम्पराअनुसार भेटी तथा बलि दिने गर्छन् । यस्ता धार्मिक परम्पराको आफ्नै सांस्कृतिक सन्दर्भ भए पनि समयसँगै स्वच्छता, पशु कल्याण, भीड व्यवस्थापन र वातावरण संरक्षणजस्ता विषयमा पनि संवेदनशील भएर अघि बढ्न आवश्यक देखिन्छ ।
मनकामना क्षेत्रको अर्को महत्वपूर्ण पक्ष यसको स्थानीय अर्थतन्त्रसँगको सम्बन्ध हो । तीर्थयात्रीको बढ्दो आगमनले स्थानीय उत्पादनको बजार विस्तार गरेको छ । पूजा सामग्री बेच्ने पसलदेखि होटल, रेस्टुरेन्ट, यातायात र अन्य सेवा व्यवसायसम्म धेरै मानिसको आम्दानी यस क्षेत्रको पर्यटनसँग जोडिएको छ । धार्मिक पर्यटनलाई व्यवस्थित ढंगले विकास गर्न सके यसको लाभ स्थानीय समुदायसम्म अझ व्यापक रूपमा पु¥याउन सकिन्छ । स्थानीय उत्पादन, हस्तकला, कृषि उपज तथा परम्परागत खानालाई पर्यटनसँग जोड्न सके मनकामना केवल दर्शन गरेर फर्किने ठाउँ नभई केही समय बसेर अनुभव गर्ने गन्तव्यका रूपमा पनि विकास हुन सक्छ ।
मनकामनाको यात्रा आसपासका अन्य ऐतिहासिक तथा धार्मिक स्थलसँग जोड्न सकिने सम्भावना पनि उत्तिकै छ । गोरखा दरबार, गोरखनाथ क्षेत्र, गोरखकालीलगायतका ऐतिहासिक तथा धार्मिक स्थललाई एउटै पर्यटन मार्गमा जोड्न सके गोरखाको समग्र पर्यटन विकासमा ठूलो योगदान पुग्न सक्छ । मनकामनाबाट शुरु भएको धार्मिक यात्रा गोरखाको इतिहास, संस्कृति र प्राकृतिक सम्पदाको अध्ययनसँग जोडिन सके आन्तरिक तथा बाह्य पर्यटकका लागि अझ आकर्षक अनुभव बन्न सक्छ ।
यति महत्वपूर्ण सम्पदाको संरक्षण भने सबैको साझा दायित्व हो । मन्दिर व्यवस्थापन, स्थानीय तह, सरकारी निकाय, स्थानीय बासिन्दा, व्यवसायी र भक्तजन सबैले आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्छ । मन्दिरको मौलिक स्वरूपमा असर पर्ने गरी अनियन्त्रित निर्माण गर्नु हुँदैन। पुराना धार्मिक सामग्री तथा ऐतिहासिक बस्तुको अभिलेख राखिनुपर्छ । मन्दिर वरपर फोहोर व्यवस्थापन, खानेपानी, सार्वजनिक शौचालय, स्वास्थ्य सेवा, आकस्मिक उद्धार र भीड नियन्त्रणको भरपर्दो व्यवस्था हुनुपर्छ । धार्मिक पर्यटन बढाउने नाममा प्राकृतिक वातावरणलाई क्षति पु¥याउने काम भने कुनै हालतमा स्वीकार्य हुनु हुँदैन ।
भक्तजनको व्यवहार पनि उत्तिकै महत्वपूर्ण हुन्छ । धार्मिक स्थलमा पुगेर फोहोर फाल्ने, भित्तामा लेख्ने, ऐतिहासिक संरचना बिगार्ने वा स्थानीय संस्कृतिप्रति असम्मानजनक व्यवहार गर्ने प्रवृत्ति त्याग्नुपर्छ । तीर्थस्थलको पवित्रता केवल मन्दिरभित्रको पूजाबाट जोगिँदैन वरपरको वातावरण, स्थानीय संस्कृति र सम्पदाप्रतिको सम्मानबाट पनि जोगिन्छ ।
मनकामनाको विशेषता यही हो कि यहाँ धर्म र पर्यटन एकअर्काका प्रतिस्पर्धी होइनन्, परिपूरक बनेका छन् । कसैलाई यहाँ देवीको शक्ति आकर्षित गर्छ, कसैलाई पहाडको सौन्दर्यले तान्छ, कसैलाई इतिहासले बोलाउँछ र कसैलाई केवल शान्त वातावरणले। एउटै ठाउँले यति धेरै अनुभूति दिन सक्नु नै यसको वास्तविक शक्ति हो ।
समयसँगै मानिसका आवश्यकता र यात्रा गर्ने शैली परिवर्तन भइरहेका छन् । केबलकारले कठिन यात्रा सहज बनाएको छ, आधुनिक होटल र सेवाले बसाइलाई सुविधाजनक बनाएका छन् र सडक तथा सञ्चारको विकासले पहुँच बढाएको छ । यी परिवर्तनसँगै मनकामनाको मूल पहिचान भनेको आस्था, परम्परा, प्रकृति र सांस्कृतिक विरासत जोगाउन सकिएन भने विकासको अर्थ अधुरो हुनेछ ।
मनकामना केवल गोरखाको एउटा मन्दिर होइन । यो नेपाली समाजको धार्मिक विश्वास, ऐतिहासिक स्मृति र सांस्कृतिक निरन्तरताको जीवन्त प्रतीक हो । यहाँ पुग्ने मानिस आफ्नो मनमा कुनै न कुनै कामना बोकेर पुग्छ र देवीको चरणमा त्यो कामना अर्पण गर्छ । कसैको कामना पूरा हुन्छ, कसैको हुँदैन तर विश्वासको यात्रा भने निरन्तर चलिरहन्छ ।
त्यसैले मनकामनाको महत्व केवल मनले चिताएको कुरा पूरा हुने देवी भन्ने जनविश्वासमा सीमित छैन । यो नेपाली समाजले पुस्तौंदेखि जोगाउँदै आएको एउटा सांस्कृतिक धरोहर हो । यसको आस्था जोगाउनु, मौलिकता जोगाउनु, प्राकृतिक सौन्दर्य जोगाउनु र स्थानीय समुदायको जीवनसँग जोडिएको पर्यटनलाई दिगो बनाउनु आजको आवश्यकता हो । मनकामनामा मानिसहरू मनोकामना बोकेर पुग्छन्, तर फर्किँदा उनीहरूसँग एउटा धार्मिक अनुभूति, एउटा सांस्कृतिक स्मृति र गोरखाको सुन्दर पहाडी संसारको सम्झना पनि साथमा हुन्छ । यही कारण मनकामना नेपालको धार्मिक पर्यटनको नक्सामा सधैं विशेष र उज्यालो नामका रूपमा रहनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *